मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कोरोना परीक्षणका लागि जमुनाह नाकास्थित हेल्थ डेस्कनजिक पालो पर्खेर बसेका नेपाली । 
२०७८ असोज १७ आइतबार ०७:५८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नाकाका हेल्थ डेस्कमा एन्टिजेन किट अभाव 

Read Time : > 2 मिनेट
२०७८ असोज १७ आइतबार ०७:५८:००

जमुनाह नाकाबाट दैनिक १५ सय नेपाली भित्रिँदै, तर पाँचमध्ये एकको मात्र कोरोना परीक्षण

दैलेखको आठबिसकोट नगरपालिका–१ का नवीन बुढा शनिबार बिहान ६ बजे नेपाल–भारत सीमानाका जमुनाह आइपुगे । झन्डै १२ सय किलोमिटर दूरी पार गरेर मातृभूमिमा पाइला टेकेका उनलाई नाकामा खटिएका सुरक्षाकर्मीले कोरोना परीक्षण गरेको रिपोर्ट भए मात्र नेपाल जान दिने सुनाए । उनी एन्टिजेन विधिमार्फत कोरोना जाँचका लागि हेल्थ डेस्कमा गए, तर दुई घन्टापछि मात्र उनको पालो आयो । पालो आउने आशामा दुई घन्टा लाइनमा बसेको बताए । 

दुई घन्टा लाइनमा बसेर उनले स्वाब दिए, तर स्वाबको रिपोर्ट लिन उनले फेरि आधा घन्टा कुर्न पर्‍यो । सरासर जान पाएको भए साढे दुई घन्टामा हामी सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर पुग्थ्यौँ । ‘कोरोना जाँच गर्नु राम्रो हो, तर सरल, सहज र छिटोछरितो भएको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘अत्यास लागेर समय बिताउन गाह्रो भयो ।’ 

घर पुग्ने हतारमा रहेका सल्यानको त्रिवेणी गाउँपालिका ५ का मानबहादुर केसी पनि झन्डै तीन घन्टा जमुनाह नाकामा रोकिए । कोरोना रिपोर्ट नल्याउँदासम्म नाकाबाट छिर्न नपाएपछि तीन घन्टा जमुनाह नाकामा रोकिन परेको उनले बताए । उनको साथमा ११ जनाको समूह थियो । तर, हेल्थ डेस्कले दुईजनाको मात्र कोरोना जाँच ग¥यो । कोरोना जाँचका लागि स्वाब नदिएका उनका साथीहरू पनि त्यहीँ रोकिए । ‘साथमा रहेका एक–दुईजनाको मात्र कोरोना जाँच गर्नुभन्दा नगरेको भए हुन्थ्यो । मेरोमा नदेखिए पनि मसँगै आएका अरू साथीमा कोरोना हुन सक्छ,’ उनले भने, ‘गर्ने भए सबैको जाँच गरौँ, नगर्ने भए कसैको नगरौँ । यो त झारा टार्ने काम मात्र भयो ।’

भारतबाट आएका नेपाली सबैको हुँदैन कोरोना परीक्षण
चाडपर्व नजिकिँदै गर्दा भारतबाट आउनेको संख्या पनि बढेको छ । बिहान ६ बजे नाका खुल्नेबित्तिकै भारतबाट आउने नेपालीको नाकामा ठूलो भिड लाग्छ । कोरोना जाँच गराउनेको भिड थाम्न सुरक्षाकर्मी र हेल्थ डेस्कका स्वास्थ्यकर्मीलाई हम्मेहम्मे पर्छ । ‘घर पुग्न सबैलाई हतार हुन्छ । भिड थामिनसक्नु हुन्छ । कोही कोही त यो टेबलसम्म आएर विवाद गर्छन्,’ हेल्थ डेस्क इन्चार्ज गीता शाहीले भनिन् । 

हेल्थ डेस्कमा काम गर्ने कर्मचारी थोरै भएकाले पालो कुर्न समय लाग्ने गरेको शाहीको भनाइ छ । उनले पाँचमध्ये एकजनाको मात्र कोरोना परीक्षण गर्दा पनि समय नपुगेको बताइन् । भारतबाट आउने संख्याको तुलनामा जनशक्ति थोरै भएकाले सबैको जाँच गर्न नसकिएको उनले स्वीकार गरिन् । उनले तीनजनाले तीन सिफ्टमा काम गर्दै आएको बताइन् । ‘हामीसँग ल्याबमा काम गर्ने तीनजना मात्र हुनुहुन्छ । तीनजनाले तीन सिफ्टमा काम गर्ने भएकाले धेरै समय पर्खिनुपर्ने हुन्छ,’ उनले भनिन्, ‘एकजनाको पालो आउन दुई–तीन घन्टा लाग्छ । सबैको गर्ने हो भने दिनभरमा पनि सकिँदैन । हालको मौजुदा जनशक्तिले सबैको कोरोना जाँच गर्न सम्भव छैन ।’ 

शाहीले परीक्षण एकजनाको मात्र गरे पनि रिपोर्ट नआउँदासम्म समूहमा रहेका कसैलाई जान नदिएको बताइन् । ‘रिपोर्ट नेगेटिभ आयो भने समूहका सबैलाई जान दिन्छौँ । एउटाको रिपोर्ट पजिटिभ आयो भने समूहका सबैको कोरोना जाँच गरेर मात्र पठाउँछौँ,’ उनले भनिन् । हेल्थ डेस्कमा एन्टिजेन किट अभाव भएको बताउँदै उनले सबैको परीक्षण नगर्न निर्देशन आएको उनको भनाइ छ । 

कोरोना परीक्षणका लागि लामो लाइन बस्नुपर्ने भएपछि भारतबाट आउनेको जमुनाह नाकामा ठूलो भीड लाग्ने गरेको छ । यसले कोरोनाको थप जोखिम बढाएको स्वयं स्वास्थ्यकर्मी बताउँछन् । घर पुग्ने हतार भएकाहरू कोरोनाको परवाह नगरी लाइनमा बस्ने र भिडभाडमा बस्ने गरेको हेल्थ डेस्क इन्चार्ज शाहीले बताइन् । उनले भारतबाट आएकाले उतैबाट आएका अन्य व्यक्तिलाई कोरोना सार्न सक्ने खतरा औँल्याइन् । ‘सुरक्षाकर्मीले भिडभाड नगर्न र मास्क लगाउन अनुरोध गर्नुहुन्छ, तर धेरैजसोले मान्दैनन्,’ उनले भनिन्, ‘सुरक्षितसाथ उभिने ठाउँसमेत छैन ।’