१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
यम बम काठमाडौं
२०७८ असोज १७ आइतबार ०६:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाघ गणना पुसमा, दाताको भर

Read Time : > 1 मिनेट
यम बम, काठमाडौं
२०७८ असोज १७ आइतबार ०६:३७:००

सन् २०२२ मा संख्या दोब्बर पुर्‍याउने घोषणा गरेको सरकारले पाटे बाघको संख्या गणना गर्दै छ । राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आगामी पुस–माघमा बाघ गणना गर्न सरकारले बजेट पनि विनियोजन गरेको छ ।

पर्सा र चितवन राष्ट्रिय निकुञ्ज, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज–लालझाडी–जोगबुडा करिडोर क्षेत्रलाई क्लस्टरमा छुट्याएर बाघ गणना गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलोजिस्ट हरिभद्र आचार्यले बताए । ‘गणना गर्न कम्तीमा दुई महिना लाग्छ, केही दिनमै मितिको टुंगो लगाउँछौँ,’ उनले भने, ‘यद्यपि, डिसेम्बर–जनवरीमै गणना हुन्छ ।’ बाघ गणना गर्न झन्डै दुई महिना लाग्नेछ । यसअघि सन् २०१८ मा गणना गर्दा नेपालमा बाघको संख्या दुई सय ३५ थियो । नेपालमा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्ज तथा त्यसआसपासका क्षेत्रमा बाघ पाइन्छन् । 

पछिल्लो समय डडेल्धुरामा २५ सय मिटर र इलाममा ३२ सय मिटर उचाइमा पनि बाघ भेटिएपछि संख्या बढेको हुन सक्ने आकलन गरिएको छ । रूसको सेन्ट पिटर्सवर्गमा सन् २०१० मा बाघ पाइने देशका राष्ट्र प्रमुखको भेलाले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार नेपालले सन् २०२२ सम्म बाघको संख्या दुई सय ५० पुर्‍याउनुपर्ने हुन्छ । नेपालमा सन् २०१० मा एक सय २१ बाघ रहेकामा २०१३ मा एक सय ९८ र २०१८ मा दुई सय ३५ पुगेका थिए । 

नेपालमा समग्रमा बाघको संख्या बढे पनि चितवन राष्ट्रिय निकुञ्जमा भने घटिरहेको छ । चितवनमा २०१३ मा एक सय २० बाघ रहेकामा २७ बाघ घटेर ९३ मा सीमित भएका थिए । चितवनमा चोरीसिकार, प्राकृतिक कारणले मर्नु र आहार प्रजातिको कमीलगायतले चितवनमा बाघको संख्यामा प्रभाव पारेको हुन सक्ने विभागको आकलन छ । सन् २०१८ को तथ्यांकअनुसार बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ बाघ छन् ।

बाघ गणनामा ‘क्यामेरा ट्रयापिङ’ विधि प्रयोग
सन् २०१८ मा बाघ गणना गर्दा चार करोड रुपैयाँ खर्च भएको थियो । त्यतिखेरका क्यामेरा यो गणनामा पनि प्रयोग गर्न मिल्ने भएकाले खर्च झन्डै एक करोड घट्ने आचार्यको आकलन छ । तर, सरकारले ८९ लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ । बाँकी खर्च ‘सहयोगी संस्था’ले बेहोर्ने उनले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल र जेडएसएल नेपाललगायत संघसंस्थाले सहयोग गर्नेछन् । सन् २०१८ मा बाघ गणनाको पूरै खर्च संघसंस्थाले बेहोरेका थिए । बाघ गणनामा ‘क्यामेरा ट्रयापिङ’विधि प्रयोग हुनेछ ।