१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७८ असोज १६ शनिबार ०८:५५:००
Read Time : > 5 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल आउँदै लक्जरी होटेल ‘सेन्ट रिजिस’

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७८ असोज १६ शनिबार ०८:५५:००

- नेपाली परम्परागत शैलीको समिट होटेल भएको स्थानमा बन्ने ‘आइकोनिक’ टावरमा सात अर्बको परियोजनामा लक्जरी होटेल र अपार्टमेन्ट निर्माण हुने

- लक्जरी ब्रान्ड ल्याउँदा होटेलका कोठाहरूको साइज ठूलो बनाउनुपर्ने, इन्टेरियर पनि उच्चस्तरको हुनुपर्ने, सेवा–सुविधाहरू पनि लक्जरी हुनुपर्ने भएपछि लगानी पनि बढी लाग्ने

ललितपुरको कुपन्डोल हाइटमा रहेको समिट होटेलले परम्परागत नेपाली होटेलका रूपमा पर्यटकमाझ छुट्टै पहिचान बनाएको छ । नेपाललाई माया गर्ने संसारभरका पर्यटकमध्ये पनि चार दशकको इतिहास बोकेको यो होटेलका प्रशंसक धेरै छन् । तर, अब समिट होटेल त्यही पुरानै स्वरूपमा रहनेछैन । त्यहाँ अत्यन्तै आकर्षक गगनचुम्बी आइकोनिक भवन निर्माण हुँदै छ, जहाँ संसारकै सबैभन्दा उत्कृष्टमध्येको एक लक्जरी होटेल ‘सेन्ट रिजिस’ सञ्चालनमा आउने भएको छ ।

विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय चेन होटेल म्यारियट ग्रुपको लक्जरी ब्रान्ड हो, सेन्ट रिजिस । नेपालमा रहेका र निकट भविष्यमा आउन लागेकामध्ये यो नै सबैभन्दा उत्कृष्ट लक्जरी होटेल हो । नेपालको हस्पिटालिटी क्षेत्रमा सेन्ट रिजिसले नयाँ बेन्चमार्क खडा गरिदिने लगानीकर्तामध्येको एक सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीको विश्वास छ । यो होटेलमा तीन व्यावसायिक घराना सिजी ग्रुप, एनई ग्रुप र पुरानो समिट ग्रुपको संयुक्त लगानी हुनेछ । ‘सेन्ट रिजिस होटेल देशकै आइकोनिक प्रोपर्टी हुनेछ, जसले नेपाली पर्यटन उद्योगलाई नै अर्को तहमा पुर्‍याउनेछ,’ राहुल भन्छन्, ‘हामी राष्ट्रकै गौरव गर्न लायक लक्जरी होटेल सञ्चालन गर्न गइरहेका छौँ ।’ विश्वका सौखिन खर्चालु पर्यटकलाई लक्षित गरेर यो ब्रान्ड ल्याउन लागेको उनको भनाइ छ । सन् २०२५ को पर्यटकीय सिजनसम्म होटेल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको छ ।

नयाँ बन्ने होटेल ग्राउन्ड र सर्भिस तलासहित १७ तलाको हुनेछ, जसमा करिब एक सय २० कोठाहरू हुनेछन्

राहुलका अनुसार सेन्ट रिजिसले विश्वका प्रमुख सहरहरूमा आइकोनिक होटेल एन्ड रिसोर्ट सञ्चालन गर्दै आएको छ । अहिलेसम्म विश्वका करिब ६० सहरमा सेन्ट रिजिस होटेल एन्ड रिसोर्ट सञ्चालन भइरहेका छन्, होटेलमा १० हजारभन्दा बढी कोठाहरू रहेका छन् । छिमेकी मुलुक भारतमा यो होटेल एउटा मात्रै मुम्बईमा सञ्चालित छ । चीनका एक दर्जन सहरमा सेन्ट रिजिस होटेल सञ्चालनमा छन् । उनी भन्छन्, ‘हामी नेपालमा पहिलोपटक यो स्तरको ब्रान्ड ल्याउँदै छौँ, जसले नेपाली पर्यटनलाई हेर्ने विश्वको पर्सेप्सन नै परिवर्तन गरिदिनेछ ।’ 

होटेलको व्यवस्थापनमा लक्जरी ब्रान्डलाई भित्र्याउन खोज्दा प्रोजेक्ट कष्ट नै बढेको अर्का लगानीकर्ता एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठले बताए । ‘सेन्ट रिजिसका सर्तहरू पालना गर्दा लागत बढ्नु स्वाभाविक हो, सहरको प्राइम लोकेसनमा सस्तो मूल्यमा कोठाहरू बिक्री गरेर काम छैन,’ उनी भन्छन्, ‘प्रिमियम लोकेसनमा प्रिमियम लक्जरी होटेल चलाउने र कोठाहरू पनि प्रिमियम मूल्यमा नै बिक्री गर्ने हो ।’  

नेपालमा लक्जरी होटेल सञ्चालन गर्न सेन्ट रिजिससँग एमओयू भइसकेको छ, तर अझै अन्तिम सम्झौता भने भइसकेको छैन । होटेलका सञ्चालकहरूको गर्विलो इतिहास, सहरको हटस्पट लोकेसन, लक्जरी पर्यटनको सम्भावनालगायत हेरेर सेन्ट रिजिस नेपाल आउन तयार भएको हो । चौधरी ग्रुपले ठुल्ठूला चेनसँग सहकार्य गरेर विश्वभरि होटेल सञ्चालन गरिरहेको छ । पाँचतारे सोल्टी होटेलको साझेदार एनई समूहले पनि सिजीसँग मिलेर आक्रामक होटेल विस्तारमा लागेको छ ।

हाल समिट होटेल रहेको स्थानमा करिब १८ रोपनी क्षेत्रफल छ । होटेलको पुरानो क्लासिक भवन भत्काएर आधुनिक स्ट्रक्चर निर्माण गरिनेछ । अहिले धमाधम पुरानो भवन भत्काएर साइट क्लियर गर्ने काम भइरहेको छ । त्यहाँ रहेका ठूला रूखहरू छेउछाउमा सारेर जोगाउनका लागि प्रयास गरिरहेको श्रेष्ठले बताए । ती रूखहरूले समिटमा छिर्दा होटेलमा नभएर जंगलमा छिरेको महसुस गराउँथ्यो । 

नयाँ बन्ने भवनमा होटेल मात्र होइन, लक्जरी अपार्टमेन्ट पनि निर्माण गरिँदै छ । ‘द समिट होटेल एन्ड रेसिडेन्सेस्’ नाम दिइएको परियोजनाभित्र तीनवटा हाइराइज भवन ठडिनेछन् । एउटा भवन सेमिट रेसिडेन्सेस्, अर्को समिट सिग्नेचर रेसिडेन्सेस् र तेस्रो भवनमा होटेल सञ्चालन हुनेछ । श्रेष्ठ भन्छन्, ‘हामी एलिट क्लासलाई मध्यनजर गरेर अपार्टमेन्ट निर्माण गर्न लागेका हौँ, यो अपार्टमेन्ट अहिलेसम्मकै आलिसान हुनेछ ।’ 

अपार्टमेन्टसहितको होटेल परियोजना निर्माण गर्न कुल साढे सात अर्ब रुपैयाँ लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ । लक्जरी ब्रान्ड ल्याउँदा होटेलका कोठाहरूको साइज ठूलो बनाउनुपर्ने, इन्टेरियर पनि उच्चस्तरको हुनुपर्ने, सेवा–सुविधाहरू पनि लक्जरी हुनुपर्ने भएपछि लगानी पनि अलि बढी लाग्ने भएको हो । सिंगापुरको आर्किटेक्ट कम्पनी मेनहार्ट इन्फ्रास्ट्रक्चर पिटिई लिमिटेडले ‘द समिट होटेल एन्ड रेसिडेन्सेस्’को डिजाइन तयार पारिसकेको छ । दसैँ–तिहारलगत्तै भवन निर्माण थालनी गर्ने तयारी भइरहेको राहुलले बताए । होटेल र अपार्टमेन्टका तीनवटा भवनको कुल क्षेत्रफल साढे चार लाख स्क्वायर फिटको हुनेछ । सहरको मध्यभागमा ठडिने होटेल र अपार्टमेन्ट उपत्यकाकै सबैभन्दा आकर्षक ल्यान्डमार्क र लक्जरी प्रोपर्टी बन्नेमा श्रेष्ठ पूर्ण विश्वस्त छन् । 

यस्तो हुनेछ अपार्टमेन्ट
राहुल चौधरीका अनुसार यस परियोजनाभित्र दुई प्रकारका अपार्टमेन्ट निर्माण हुनेछन्, एउटा समिट रेसिडेन्सेस् र अर्को समिट सिग्नेचर रेसिडेन्सेस् । अपार्टमेन्टका भवन ग्राउन्डबाहेक १७ तलाका हुनेछन् । यस्तै, दुई तला बेसमेन्ट हुनेछन्, जहाँ अपार्टमेन्टधनीका गाडी पार्किङमा प्रयोग हुनेछ । सिग्नेचर अपार्टमेन्टको रुफटप स्विमिङ पुल हुनेछ भने अर्को अपार्टमेन्टका लागि ग्राउन्डमा स्विमिङ पुल हुनेछ । सिग्नेचर अपार्टमेन्टको हरेक तलालाई सिंगल युनिट आवासका रूपमा बिक्री गर्न लागिएको छ । 

विश्वका सौखिन खर्चालु पर्यटकलाई लक्षित गरेर यो ब्रान्ड ल्याउन लागिएको हो । सन् २०२५ को पर्यटकीय सिजनसम्म होटेल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको छ ।

समिट रेसिडेन्सेस्को १५ तलामाथि (१६ र १७ तला) दुई–दुई तलाका तीनवटा आलिसान पेन्टहाउस हुनेछन् । भित्रैबाट भ¥याङ हुनेछ । पेन्टहाउसमा प्राइभेट गार्डेनसहित प्रशस्त खुला ठाउँ हुनेछ । तीनवटा पेन्टहाउस तीनजना सञ्चालकहरूले नै राख्ने भएका छन् । अपार्टमेन्ट २ बिएचके, ३ बिएचके र ४ बिएचके गरी तीन प्रकारका हुने बताइएको छ, जसको न्यूनतम मूल्य तीन करोडदेखि सात करोड रुपैयाँसम्म तोकिएको छ । तर, ठूलो स्पेससहितको अपार्टमेन्ट किन्नेहरूले मूल्य पनि बढी तिर्नुपर्ने हुन्छ, तिर्न तम्सिएका पनि छन् । ‘ग्राहकहरूले कति ठाउँमा कस्तो सेवा–सुविधा चाहन्छन्, हामी त्यस्तै अपार्टमेन्ट तयार पारिदिन्छौँ,’ श्रेष्ठले भने । अहिले ११ तलासम्म मात्र बुकिङ खुला गरेकोमा करिब सबै अपार्टमेन्ट बुकिङ भइसकेका छन् । १२ तलाभन्दा माथि केही समयपछि मात्र बुकिङ खुला गर्ने तयारी छ । अपार्टमेन्टवरिपरिको खुला ठाउँ, स्विमिङ पुल, ग्रिनरीलगायत ठाउँहरू सेन्ट रिजिसले नै व्यवस्थापन गर्नेछ, जसले गर्दा अपार्टमेन्टमा बस्नेहरूले पनि खुला ठाउँहरू जहिल्यै सफा–सुग्घर र हरियाली पाउनेछन् ।   

कसरी बन्यो योजना ?
सन् १९७८ मा डच समूहले सञ्चालनमा ल्याएको समिट होटेल हाइप्रोफाइल पाहुनाको रोजाइमा पर्दै आएको थियो । नेपाली परम्परागत डिजाइनमा रहेको समिट होटेल सन् २०१२ मा नेपाली व्यवसायीहरूको पूर्ण स्वामित्वमा आएको थियो । सिजी र एनई ग्रुपले आरएनआर हेरिटेज कम्पनीमार्फत ६० प्रतिशत सेयर खरिद गरेर समिटको साझेदार बन्न आइपुगेका हुन् । सिजी र एनई समूहको झम्सिखेलको भिभान्ता होटेलमा पनि संयुक्त लगानी छ ।  

तीनैजना सञ्चालकहरूले ०७१ चैतमा पत्रकार सम्मेलन गरेर समिट होटेललाई मुलुककै उत्कृष्ट लक्जरी बुटिक होटेल बनाउने घोषणा गरेका थिए । डेढ अर्ब लगानी थपेर ६० देखि ८० कोठा बढाउने घोषणा गरिएको थियो । तर, कोभिड महामारीकै बीचमा विश्वभरि बिजनेसको मोडालिटी परिवर्तन हुँदै जान थालेपछि सञ्चालकहरू गगनचुम्बी भवनमा पाँचतारे होटेल र अपार्टमेन्ट सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् । छेवैमा अपार्टमेन्ट बनाएर बिक्री गरी त्यो पैसा होटेलमा लगानी गर्ने र सुरुदेखि नै होटेललाई ऋणमुक्त बनाउने योजना सञ्चालकहरूको छ । समिट ब्रान्डमा पोखरामा होटेल खोल्ने तयारी भइरहेको राहुलले जानकारी दिए । उनले भने, ‘हामी समिट ब्रान्डमा होटेल सञ्चालन गर्न पोखरामा ठाउँ खोजिरहेका छौँ, हामी समिट ब्रान्डलाई मर्न दिँदैनौँ, यो ब्रान्डसँग हाम्रो गहिरो लगाब छ ।’

चेन आउँदा के फाइदा ?

नेपालमा विश्वका चर्चित चेन होटेलहरू आउँदा यहाँको लक्जरी पर्यटनमा नयाँ तरंग आउने पर्यटन व्यवसायीहरूको विश्वास छ । देशभित्र लक्जरी पर्यटनको विकासमा सेन्ट रिजिसले महत्वपूर्ण भूमिका खेल्न सक्छ । नक्सालमा खुलेको पाँचतारे म्यारियट होटेलले नेपालको हस्पिटालिटीलाई नयाँ उचाइ दिइसकेको छ । नेपालमा सेन्ट रिजिससँगै सेराटन, हिल्टन, ले मेरिडियन, होलिडे इन, मोक्सीलगायत चर्चित चेन होटेलहरू आउँदै छन् । ताज सफारी, भिभान्ता, हायात रिजेन्सी, र्‍याडिसन, अलफ्ट, हायात प्लेसलगायत नेपाल आइसकेका छन् । ‘विश्वका लक्जरी ब्रान्डहरू आउनु भनेको नेपालमा हाई एन्ड पर्यटनको सम्भावना देखाउनु हो,’ राहुल भन्छन्, ‘हामीले यिनै ब्रान्ड देखाएर अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गर्न सकिन्छ ।’ श्रीलंकाको पर्यटनलाई कायापलट गराउन अन्तर्राष्ट्रिय ब्रान्डहरूको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उनले भने, ‘यी ब्रान्डहरू नेपालको मार्केटिङ गर्ने आधारस्तम्भ हुन् ।’

यस्तो बन्नेछ होटेल
विश्वभरि नै सेन्ट रिजिसले सञ्चालन गर्ने होटेलहरू लक्जरी हुन्छन् । यो ब्रान्डलाई ल्याउन उसका निश्चित सर्तहरू पालना गरेर होटेल निर्माण गर्नुपर्ने हुन्छ । कोठाको साइज पनि ठूलो हुनुपर्छ । ‘सेन्ट रिजिसले सबै कुराहरू लक्जरी खोज्न सक्छ, तर हामी कतिसम्म लक्जरीमा जाने भन्ने हो, फेरि यो ब्रान्डले कतिसम्म रेभेन्यु ड्राइभ गर्न सक्छ भन्ने कुराले पनि लक्जरीको मापदण्ड तय गर्ला,’ राहुलले भने, ‘हामी ब्रान्डको न्यूनतम स्ट्यान्डर्ड त मेन्टेन गर्छौँ नै ।’ उनी उत्साहित हुँदै भन्छन्, ‘हामी अरू ब्रान्ड पनि ल्याउन सक्थ्यौँ, अतिरिक्त कष्ट बढाएर किन लक्जरी ब्रान्ड नै ल्याउनुपथ्र्यो र ! तर हामी हस्पिटालिटी इन्डस्ट्रीमा एउटा स्तर सिर्जना गर्न सेन्ट रिजिसलाई नेपालमा ल्याउन लागेका हौँ ।’ 

नयाँ बन्ने होटेल ग्राउन्ड र सर्भिस तलासहित १७ तलाको हुनेछ, जसमा करिब एक सय २० कोठाहरू हुनेछन् । होटेलमा तीन तला बेसेमन्ट पार्किङ हुने बताइएको छ, जहाँ डेढ सय गाडी पार्किङ गर्न मिल्नेछ । होटेलको ग्राउन्ड फ्लोरमा कफी सप, लबी, रेस्टुरेन्ट, मिटिङ हल, हेल्थ क्लबलगायत सुविधाहरू हुनेछन् । होटेलको पाँचौँ तलामा आकर्षक स्काई स्विमिङ पुल, १२ सयभन्दा धेरैजना अटाउने विशाल ब्यांक्वेट हल, ब्यांक्वेट हलको माथिपट्टि हरियालीसहितको खुला रेस्टुरेन्ट हुनेछन् । यस्तै, ग्राउन्डमा पनि स्विमिङ पुल हुनेछ । होटेलको १७औँ तलामा रुफटप रेस्टुरेन्ट बनाउने तयारी छ । होटेलमा स्काई गार्डेन, रुफटप गार्डेन, ग्राउन्डमा सुन्दर बगैँचा र स्विमिङ पुल हुनेछन् । होटेलमा छिर्नेबित्तिकै विश्वकै आलिसान होटेलभित्र छिरेको महसुस हुने चौधरीको दाबी छ ।