१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दोषीमाथि कारबाहीको माग गर्दै बुटवलमा जारी प्रदर्शन
२०७८ असोज १६ शनिबार ०८:०४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रहरीले भन्यो- श्रीमानकाे दुरुत्साहनले सीताले आत्महत्या गरिन्

Read Time : > 1 मिनेट
२०७८ असोज १६ शनिबार ०८:०४:००

सीता भण्डारी मृत्यु घटना : २७औँ दिन प्रहरीको अनुसन्धान प्रतिवेदन सार्वजनिक

२७ दिनअघि मृत फेला परेकी रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारीले आत्महत्या गरेको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार २७ दिन लामो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो । 

रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको संयुक्त अनुसन्धानबाट भण्डारीले आत्महत्या गरेको पाइएको बताए । ‘सिआइबी र हाम्रो अनुसन्धान, विशेषज्ञ टोलीको पोस्टमार्टम रिपोर्ट, मृतकको मोबाइलमा भेटिएको सुसाइट नोट, घटनासँग जोडिएका ३३ जनासँग गरिएको सोधपुछ तथा सिसिटिभी फुटेज सबैको अनुसन्धानबाट भण्डारीको मृत्यु आत्महत्याबाट भएको पाइएको छ,’ पत्रकार सम्मेलनमा एसपी केसीले भने । 

उनले घटना आत्महत्या भए पनि आत्महत्या गर्न बाध्य पारिएको अवस्था रहेकाले घटनामा संलग्न तीनजनालाई आत्महत्या दुरुत्साहन मुद्दामा कारबाहीका लागि आइतबार अदालत पठाउने तयारी गरिएको जानकारी दिए । ‘२७ दिन लामो र विभिन्न कोणबाट गरिएको अनुसन्धानले भण्डारीको मृत्यु आत्महत्याबाट भएको खुले पनि आत्महत्या गर्न बाध्य पारिएको अवस्था देखिएको छ,’ उनले भने, ‘त्यसैले हामीले आत्महत्या दुरुत्साहन मुद्दा अगाडि बढाउँदै छौँ । घटनामा संलग्नलाई सरकारी वकिलमार्फत आइतबार अदालतमा उपस्थित गराउँछौँ ।’

एसपी केसीले पीडित परिवारको मागअनुसार सबै तरिकाबाट अनुसन्धान गरेको र सबैलाई प्रहरी कार्यालयमै बोलाएर अनुसन्धानका रिपोर्टहरू देखाएको जानकारी दिए । तर, पीडित परिवार र स्थानीयले भने आत्महत्या नभई हत्या भएको भन्दै शुक्रबार पनि आन्दोलन गरेका छन् । उनीहरूले केही दिनदेखि सिद्धार्थ राजमार्गमा लगातार प्रदर्शन गर्दै आएका छन् । 

सीताकी आमा पुनम भण्डारीले भने छोरीको लास सिरानीमाथि हुनु, अनुहारमा रगत हुनु, घटनाबारे आफूहरूलाई ढिला खबर गर्नुले हत्या नै गरेको हो भन्ने पुष्टि हुने भन्दै हत्या अभियोगमा मुद्दा अघि बढाउन माग गर्दै आएकी छिन् । 

प्रहरीले भने घटनास्थलमा भेटिएको सीताको आइफोन मोबाइलको नोटमा ‘मृत्युअघि सुसाइड नोट लेखेको पाइएको बताएको छ । घटनास्थलमा सीताको मोबाइल फोन भेटिएको थियो । ‘मृतक सीता र उनका पतिबीच आदानप्रदान हुने म्यासेज विश्लेषणका लागि सो मोबाइल सेट ‘डिजिटल फोरेन्सिक ल्याब’ पठाइएको थियो,’ प्रहरी प्रतिवेदनमा उल्लेख छ, ‘ल्याबले सो मोबाइल सेटमा भेटिएको रोमन अक्षरमा लेखिएको ‘सुसाइड नोट’ र उनका श्रीमान् टीका पौडेलबीच हुने गरेको एसएमएसको ‘प्याटर्न’ मिलेको भन्ने प्रतिवेदन दिएको छ ।’ 

एसपी केसीका अनुसार आत्महत्याअघि राति १२ बजेर १७ मिनेटमा सुसाइट नोट लेखिएको थियो । ‘सुसाइट नोटमा .....मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म सकिनँ बाँच्न’ भनेर लेखिएको पाइएको छ,’ एसपी केसीले भने ।

घटनापछि आफन्तले सुरुमा आत्महत्या दुरुत्साहनको किटानीसहित जाहेरी दिएका थिए । सोही आधारमा प्रहरीले सीताका श्रीमान् टीका पौडेल, जेठाजु हरि पौडेल र आमाजू विष्णु पौडेललाई पक्राउ गरेको थियो । केही दिनपछि आफन्तले हत्याको किटानी जाहेरी दिएका थिए । त्यससँगै सीताको शव नउठाई उनीहरूले अनुसन्धानमा थप दबाब दिएका थिए । सीताको शव अहिले पनि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा छ । सीताको दुई वर्षअघि टीकासँग विवाह भएको थियो ।