१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कमल खत्री म्याग्दी
२०७८ असोज १४ बिहीबार १३:००:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

घारखोला जलविद्युत् आयोजनाको टनेल ब्रेकथ्रु

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७८ असोज १४ बिहीबार १३:००:००

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको टनेल ब्रेकथ्रु गरिएको छ। आयोजनाको बाँधस्थलदेखि आउटलेटसम्म पानी लैजानका लागि तीन हजार पाँच मिटर लामो टनेलको बुधबार ब्रेकथ्रु गरिएको हो। आयोजनाका प्रवर्द्धक, लगानीकर्ता, प्राविधिकलगायतको उपस्थितिमा बुधबार टनेल खन्ने कामलाई पूर्णता दिइएको थियो। 

बाँध रहेको अन्नपूर्ण गाउँपालिका– ५ नम्बर वडा शिख र ६ नम्बर वडा घारको सीमा क्षेत्रमा पर्ने कुरीला बगरबाट एक हजार ६ सय पाँच मिटर र आउटलेट रहेको घारको अमिला काफलबाट एक हजार चार सय मिटर सुरुङ खनेपछि दुवैतर्फ जोडिएको आयोजनाका आवासीय इन्जिनियर जोसेफलाल बज्राचार्यले जानकारी दिए । उनका अनुसार टनेलको ब्रेकथ्रु भएसँगै आयोजनाको करिब ६२ प्रतिशत काम सम्पन्न भएको छ। ०७४ चैतबाट निर्माण सुरु भएको यस आयोजनाबाट आगामी असार मसान्तभित्रै विद्युत् उत्पादन गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ।

‘निकै लामो सुरुङलाई बीचमा अडिटविना नै दुईतर्फबाट मात्रै जोडिएको यो नेपालकै पहिलो टनेल हुन सक्छ। भौगोलिक चुनौतीबीच नेपालकै प्राविधिकहरूद्वारा भएको यो महत्वपूर्ण उपलब्धि हो। अब आयोजनाको अन्य पूर्वाधार निर्माणले थप गति पाउँछ,’  बज्राचार्यले भने। आयोजनाको सिभिलतर्फ ६८, हाइड्रोमेकानिकलतर्फ ५६, इलेक्ट्रोमेकानिकलतर्फ ५० र प्रसारणलाइनतर्फ २० प्रतिशत काम सकिएको छ।

बाँधतर्फ ९८ प्रतिशत काम सकिएको आयोजनाको विद्युतगृहतर्फ पेनस्टक पाइप जडान सुरु भएको छ भने विद्युतगृहको पूर्वाधार निर्माण अघि बढेको सिभिल ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिका आयोजना म्यानेजर ध्रुव मिश्रले जानकारी दिए। 

सुरुङमार्ग हुँदै ल्याइएको पानीलाई चार सय ८५ मिटर अग्लो हेडबाट एक हजार दुई सय  मिटर पेनस्टक पाइपमार्फत पोखरे बगरमा रहने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। म्याग्दी हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको यस आयोजनामा नागरिक ऊर्जा बुटवल लिमिटेडले समेत लगानी गरेको छ भने एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कमर्सियल बैंकले समेत लगानी गरेका छन्। कुल दुई अर्ब ४२ करोड रुपैयाँ लागत अनुमान गरिए पनि कोरोनाका कारण काम पछि थकेलिएसँगै लागत बढ्ने आयोजनाको अनुमान छ।

यद्यपि, आगामी असारसम्ममा आयोजनाको काम सम्पन्न गर्ने गरी निर्माण कार्यलाई अघि दिइएको आयोजनाको परामर्शदाता कम्पनी हाइड्रोकन्सल्ट इन्जिनियरिङ लिमिटेडका कार्यकारी अधिकृत मनोहर श्रेष्ठले बताए। उनका अनुसार विद्युतगृह रहने पोखरेबगरदेखि दाना सबस्टेसनसम्मको आठ किलोमिटर लामो ३३ केभिएको डबल सर्किट प्रसारण लाइनको कामसमेत अघि बढेको छ । डिजाइनको काम सकिएको र आवश्यक निर्माण सामग्री अधिकांश कार्यक्षेत्रमा ल्याइसकिएकाले आगामी चार महिनाभित्रमा प्रसारण लाइनको काम सम्पन्न हुने उनको भनाइ छ।