१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज १२ मंगलबार ११:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस पालिका अधिवेशन : जुम्लामा पौडेल पक्षको वर्चश्व

Read Time : > 1 मिनेट
२०७८ असोज १२ मंगलबार ११:४६:००

जुम्लामा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ। यहाँका स्थानीय तहमा रामचन्द्र पौडेल पक्षधरको वर्चश्व देखिएको छ। जिल्लाको एक नगरपालिका र सात गाउँपालिकामध्ये दुई स्थानीय तहमा मात्र देउवा पक्षबाट सभापति हुँदा बाँकी पालिकामा पौडेल पक्षबाट सभापतिमा विजयी भएका छन्।

कनकासुन्दरीमा लालु बुढा, सिँजामा गोविन्द शर्मा, हिमामा नरबहादुर शाही, तातोपानीमा धनकृष्ण चौलागाईं, तिलामा भक्तबहादुर रोकाया, पातारासीमा गोरखबहादुर बोहरा र गुठीचौरमा टेकबहादुर भण्डारी चयन भएका छन्। यीमध्ये सिँजाका शर्मा र गुठीचौरका भण्डारी मात्र देउवा पक्षका हुन्।

जिल्लाका सात स्थानीय तहमा सर्वसहमतिले सभापति चयन हुँदा चन्दननाथ नगरपालिकामा मात्रै निर्वाचन भएको हो। यहाँ पनि पौडेल पक्षबाटै सभापति निर्वाचित भएका छन्। नगर सभापतिमा पौडेल पक्षका रवी थापाले देउवा पक्षका अंगराज चौलागाईंलाई पराजित गरेका हुन्।

चुनावी प्रणालीमार्फत पौडेल पक्षधर थापाको प्यानल नै विजयी भएको वर्तमान जिल्ला पार्टी सभापति दीपबहादुर शाहीले बताए। पातारासी गाउँपालिकामा पनि चुनावी प्रणालीबाट नै नेतृत्व चयन भएको हो।

जिल्ला सभापतिमा आकांक्षी धेरै 
नेपाली कांग्रेसको वडा र पालिकास्तरका अधिवेशन सम्पन्न भएलगत्तै प्रदेश र जिल्ला अधिवेशनलाई महत्वका साथ हेरिएको छ। जिल्ला सभापतिमा वर्तमान सभापति दीपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही, नेता खड्क सेजुवाल, पूर्ववनमन्त्री भक्तबहादुर रोकाया, लंकबहादुर शाही र चन्दननाथ नगरप्रमुख कान्तिका सेजुवालको नाम चर्चामा छ।

जिल्ला अधिवेशन नजिकिँदै गएपछि जिल्ला सभापतिका लागि आधा दर्जन आकांक्षीहरूको नाम चर्चामा आएको हो। सभापतिको तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङ चलिरहेको छ। १४औँ महाधिवेशनमा वर्तमान सभापति शाहीले दोहोरिने इच्छा देखाएका छन्। पौडेल पक्षले शाहीलाई एकल उम्मेदवारको रूपमा उभ्याएको छ।

पार्टी सभापति देउवा प्यानलबाट पाँचजना आकांक्षी देखिएका छन्। सचिव कर्णबहादुर शाही, खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया, लंकबहादुर शाही र कान्तिका सेजुवाल आकांक्षी देखिएको कांग्रेस जुम्लाले जनाएको छ। आकांक्षी धेरै देखिए पनि अन्तिममा सभापति शाही र सचिव शाही नै भिड्ने सम्भावना बढी छ। अहिले दुवै पक्षले कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन्। 

पौडेल पक्षनिकटले पार्टी सचिव कर्णबहादुर शाही ‘पर्यटक नेता’ भएको भन्दै स्विकार्न नसक्ने बताउँदै आएको छ। उनी सचिव भइसकेपछि जिल्ला बसेनन्। काठमाडौं बस्ने पर्यटक नेता अधिवेशनमा नेतृत्व दाबी गर्न आएपछि जिल्लामै रहकने नेता–कार्यकर्ताले निरन्तर जिल्लामै सक्रिय नेता कार्यकर्तालाई निरुत्साहित बनाउने काम भएको बताउँदै आएका छन्।

जिल्ला सभापतिका आकांक्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसम्मत नेतृत्व चयनका लागि दबाब दिन थालेका छन्। कार्यकर्ताले दीपबहादुर शाही र कर्णबहादुर शाही दुवैले आफ्नो कार्यकालमा सन्तोषजनक कार्य नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।