मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज १० आइतबार १७:५१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्री पोखरेल र संयुक्त राष्ट्रसंघ नेपाल प्रमुख सारा बेसोलोबीच भेट

Read Time : > 1 मिनेट
२०७८ असोज १० आइतबार १७:५१:००

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आइतबार पोखरामा औपचारिक भेटघाट भएको छ।  विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारले नेपालस्थित राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखका लागि गरेको विशेष कार्यक्रममा भाग लिन आएकी सारा बेसोलोले मुख्यमन्त्री कार्यालयमै भेटघाट गरेकी हुन्।  

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्र संघको स्थापना भएदेखि नै नेपाल निरन्तर संलग्न हुँदै आएको स्मरण गराए।  सुरक्षा परिषददेखि विभिन्न समितिहरूमा जिम्मेवारी लिएर नेपालले सफलताका साथ काम गर्दै आएको मुख्यमन्त्री पोखरेलले बताए। संयुक्त राष्ट्र संघको नेतृत्वमा विश्वमा शान्ति स्थापनाको सवालमा नेपालले महत्वपूर्ण योगदान गर्दै आएको भन्दै उनले राष्ट्र संघकै नेतृत्वमा शान्ति, स्थिरता र समृद्धि हासिल हुनेमा नेपाल सदैव प्रतिबद्ध रहेको बताए।  

राष्ट्र संघले नेपालमा मानवीय क्रियाकलापका क्षेत्रमा लैंगिक विकास, मानव अधिकार, दिगो विकास लक्ष्य हासिल गर्नका लागि गरेको सहयोग महत्वपूर्ण रहेको मुख्यमन्त्री पोखरेलले बताए।  उनले भने, ‘सुशासनको प्रत्याभूति, संघीयताको कार्यान्वयन र विकासका कार्यमा हाम्रो ध्यान केन्द्रित भएको छ।’ कोभिडले थला परेको सामाजिक आर्थिक अवस्थालाई पुनरुत्थान गर्न आफूहरू अग्रसर रहेको भन्दै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढंगबाट सम्बाेधन गर्नुपर्ने भनाइ राखे।  

भेटका क्रममा संयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीले दिगो आर्थिक विकास, प्रदूषणमुक्त रोजगारी (ग्रिनजब) आफूहरूको पहिलो प्राथमिकता रहेको बताइन्।  उनले भनिन्, ‘संयुक्त राष्ट्र संघले पाँच वर्षका लागि विकास फ्रेमवर्क बनाउँदै छ, प्रदेशले निर्धारण गरेका प्राथमिकतालाई त्यसमा समावेश गरेर हामीले अगाडि बढाउनेछौँ। ’ उनले दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने, न्यायमा आधारित सामाजिक तथा आर्थिक विकास गर्न राष्ट्र संघले अझै सघाउने प्रतिबद्धता जनाइन्। 

भेटका अवसरमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले र प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रदेशका प्राथमिकता र राष्ट्र संघको भूमिकाबारे चर्चा गरे।