मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
बाढीले बगाएको मेलम्ची खानेपानी आयोजनाको बाँध क्षेत्र ।
शान्ति तामाङ काठमाडौं
२०७८ असोज ७ बिहीबार ०८:०५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

असोजको दोस्रो सातादेखि मेलम्ची खानेपानीका अस्थायी संरचना निर्माण थालिँदै

बाढीले क्षति गरेको आयोजना बनाउन पौने दुई अर्ब विनियोजन, चैतसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७८ असोज ७ बिहीबार ०८:०५:००

बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम असोज दोस्रो साताबाट सुरु हुने भएको छ । मेलम्ची नदीको सतहको पानी स्थिर र पानी पनि संग्लिँदै गएमा दोस्रो सातादेखि सडक र सुरुङ मर्मतको काम सुरु गर्ने तयारी गरेको हो ।

वैकल्पिक व्यवस्था गरी पानी ल्याउन तयारी सुरु गरेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । ‘मेलम्ची नदीमा स्थिर रूपमा पानी बग्न थाल्यो, बाढीको प्रकोप देखिन छोड्यो र पानी सङ्लो बग्न थाल्यो भने वैकल्पिक रूपमा काठमाडौंमा पानी ल्याउन सक्छौँ,’ पन्तले भने, ‘त्यसका लागि धेरै काम गर्नुपर्दैन ।

अम्बाथान अडिट सुरुङ टालिएको छ, त्यो सफा गर्नुपर्छ । वैकल्पिक पथान्तरणको पनि एउटा टनेल सफा गर्नुपर्नेछ । र, हेडबक्समा जम्मा भएको नदीजन्य पदार्थ सफा गर्नुपर्नेछ ।’ यी काम गर्न सकेमा चैत वा वैशाखसम्म पानी ल्याउन सकिने उनले बताए ।

 गत १ असारमा मेलम्ची नदीमा बाढी आएका कारण उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाएका छैनन् । १ असार र १५ साउनको बाढीपहिरोका कारण किउल, शेर्माथाङ, तिम्बु, सर्कथली, अम्बाथान, चनौटे, मेलम्ची, पाल्चोक, ग्याल्थुम, तालामाराङ, सिपाघाटलगायत क्षेत्रमा असर गरेको थियो ।

 असोजको दोस्रो सातादेखि  अस्थायी काम थालिने 
मेलम्ची नदीको सतहको पानी स्थिर बन्दै गएमा असोजको दोस्रो सातादेखि अस्थायी काम थाल्ने तयारीमा आयोजना छ । ‘असोजको दोस्रो सातादेखि नदी सतहमा पानी स्थिर बन्न थाल्यो भने अस्थायी बाटो बनाउँछौँ । अस्थायी रूपमै पुल बनाउँछौँ । र, हेडबक्ससम्म पुगेर काम गर्छौं । यो काम सुरु भएपछि चैतसम्म पानी ल्याउन सकिन्छ भन्ने आधार तयार भएको देखिन्छ,’ सूचना अधिकारी पन्तले भने, ‘पानी सङ्लो नभई सुरुङमा पानी हाल्न मिल्दैन । त्यहाँ बालुवा जम्मा हुन सक्छ । त्यही भएर यसलाई वैकल्पिक प्रणाली भनेको हो । वैकल्पिक प्रणाली बर्खायाममा चलाउनु हुँदैन भनेर हामीले १ असारमै बन्द पनि गरेका थियौँ । त्यही दिन मेलम्ची नदीमा बाढी आएर हेडबक्स सबै पुरियो । डाइभर्सन टनेल र अम्बाथान अडिट टनेल पनि पुरियो ।’ 

आयोजनाले हेलम्बु गाउँपालिकासँग समन्वय गरेर वैकल्पिक बाटो खन्ने काम गर्नेछ । हाल समितिका मेलम्ची पुल बजार र अम्बाथानको तल दुई क्याम्प छन् । तर, निर्माणका काम भने सुरु भएको छैन । ‘सुरक्षाको दृष्टिकोणले अत्यावश्यक काम मात्र भएका छन् । निर्माणका काम भएको छैन,’ पन्तले भने, ‘निर्माण कार्य सुरु गर्न त्यहाँ क्याम्प बनाउनुपर्छ । खानेपानी, विद्युत्, शौचालयको व्यवस्था गर्नुपर्‍यो । त्यो कामका लागि योजना बनाउने काम भइरहेको छ । अहिले आयोजनास्थलमा कुनै पनि गतिविधि भएका छैनन् ।’ 

समितिका अनुसार दीर्घकालीन रूपमा मेलम्चीको पानी ल्याउन कति लाग्छ भन्ने यकिन छैन । ‘हेडबक्सलाई मर्मतसम्भार गरेर पुनर्निर्माण गरी आयोजना चलाउने दीर्घकालीन कुरा भयो । त्यसका लागि बाटो निर्माणदेखि त्यसका लागि सरकारका विभिन्न निकायबाट सहयोग लिएर गर्नुपर्छ । त्यसका लागि समय लाग्छ,’ पन्तले भने । 

 एक अर्ब ७६ करोडमा काम हुँदै
मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणका लागि सरकारले एक अर्ब ७६ करोड विनियोजन गरिसकेको छ । जुन अस्थायी रूपमा पानी ल्याउन पर्याप्त भएको समितिले बताएको छ । उपत्यकावासीले २२ वर्षको प्रतीक्षापछि गत १५ चैतदेखि मेलम्चीको पानी प्रयोग गर्न पाएका थिए । मेलम्चीको पानी आएपछि राजधानीवासीले पानीको समस्याबाट केही भए पनि राहतको अनुभूति गर्न पाएका थिए । तर, पानी वितरणको तीन महिना नपुग्दै असार पहिलो साता मेलम्ची खोलामा आएको बाढीले खानेपानी आयोजनाको भौतिक संरचनामा भएको क्षतिले मेलम्ची आयोजना प्रभावित भएको थियो । बाढीका कारण प्रारम्भिक अनुमानअनुसार एक अर्ब ८८ करोड बराबरको क्षति भएको देखिएको छ । आयोजना निर्माण पूरा भएपछि १७ करोड लिटर पानी उपत्यकासम्म आइपुगेको थियो ।

बाढीपछि मेलम्ची खानेपानी समितिले आयोजना क्षेत्रको पटकपटक स्थलगत निरीक्षण गरिसकेको छ । बाढीका कारण आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडबक्स’बाहेक अरू संरचनामा क्षति पुगेको छ भने निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । बाढीका कारण वैकल्पिक पथान्तरण प्रणाली (हेडबक्स डाइभर्सन सुरुङ) थुनिएको छ ।

मेलम्ची बजारदेखि हेडबक्स क्षेत्र अम्बाथानसम्मको २२ किमिमध्ये आठ किलोमिटर सडक पूर्णरूपमा क्षति भएको, यांग्री खोलातर्फ पाँच किलोमिटर सडकमा क्षति भएको छ । त्यहाँसम्म पुग्ने मुख्य दुईवटा र अर्को एक र चार गरी ६ वटा पक्की पुल पनि बगाएको थियो ।

पहिरोले आयोजनाको २१० किलोमिटर डाइभर्सन टनेल र अम्बाथानस्थित टनेल अडिट पोर्टमा लेदो भरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार हाल काठमाडौं उपत्यकामा खानेपानीको दैनिक माग ४३ करोड लिटर छ । तर, केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । अझ, सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ ।