मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : नेपाली क्रिकेट फ्यान फेसबुक पेज
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ७ बिहीबार ०६:३८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इपिएलका लागि त्रिवि क्रिकेट मैदानमा दिनरात काम

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ७ बिहीबार ०६:३८:००

त्रिभुवन विश्वविद्यालय परिसरमा रहेकोे क्रिकेट मैदान हरियो बनाउने काम तीव ग्रतिमा भइरहेको छ । निकै नै लोभलाग्दो घाँसे मैदानलाई अन्तर्राष्ट्रिय स्तरको देखाउन कामदारहरू दिनरात खटिरहेका छन् । ‘पिच’देखि मैदानको ‘आउट फिल्ड’सम्म उत्कृष्ट बनाउन उनीहरू त्यत्तिकै मिहिनेत गरिरहेका छन् । अर्कोतिर मैदानको चारैतिर सुरक्षा बारदेखि लाइभ टेलिस्काट गर्न मिल्ने गरी बन्दोबस्त भइरहेको छ । यो सबै तयारी शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा हुने चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल) को हो । 

इपिएलको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियसले काठमाडौं किंग्स इलाभेनको सामना गर्दै छ । घरेलु क्रिकेटमा इपिएल एक ब्रान्ड नै बनिसकेको छ । नेपालमा इपिएलबाहेक धनगढी तथा पोखरा प्रिमियर लिग पनि सञ्चालन हुन्छन् । यसपटकको इपिएलले पोखरा र धनगढी प्रिमियर लिगलाई समेत पछाडि पार्ने गरी तयारी गरिरहेको छ । घरेलु क्रिकेटमा आयोजना हुने टी–२० फ्रेन्चाइज बेसको क्रिकेट प्रतियोगितामा इपिएलले विजेता टोलीमाथि दिइने रकम अहिलेसम्मकै सर्वाधिक हो । 

इपिएलले यसपटकको विजेतालाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । सर्वाधिक धनराशि तथा पुरस्कार भएका कारण नै आयोजक इपिएलले आफ्नो तयारी पनि अन्तर्राष्ट्रिय स्तरकै गरेको छ । यसपटक नेपालको ठूला व्यापारिक घराना बजाज पल्सरले प्रतियोगितालाई मुख्य प्रायोजन गरेको छ । इपिएललाई थप रोमाञ्चक बनाउन आबद्ध टोलीहरूले विश्व क्रिकेटका चर्चित खेलाडीलाई अनुबन्ध गरेका छन् ।

घरेलु केही चर्चित क्रिकेटर भने मैदानमा देखिने छैनन्  
विदेशी खेलाडीहरू इपिएलमा आबद्ध भइरहँदा केही चर्चित घरेलु क्रिकेटर मैदानमा देखिने छैनन् । यसपटक इपिएलमा घरेलु दर्शकले पूर्वकप्तान पारस खड्का तथा दीपेन्द्र सिंह ऐरी मिस गर्नेछन् । दुई महिनाअघि पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । यद्यपि, उनले घरेलु क्रिकेटमा आबद्ध रहने जनाएका थिए । तर, उनले इपिएल नखेल्ने भएका छन् । राष्ट्रिय टोलीका उकप्तान ऐरीले भने ओमानमा सम्पन्न त्रिकोणात्मक एकदिवसीय सिरिजमा घाइते भएका कारण नै इपिएल गुमाएका हुन् । यसैगरी स्पिनर वसन्त रेग्मी र पृथु बास्कोटाले पनि इपिएल नखेल्ने भएका छन् । 

घरेलु केही स्टार खेलाडीको खेल मिस गरे पनि नेपाली दर्शक विदेशी खेलाडीको आकर्षक स्ट्रोक, क्याच, फिल्डिङ र बलिङबाट रोमाञ्चित हुने पक्का छन् । यसपटक इपिएलमा अफ्रिदी, लेभीबाहेक श्रीलंकाका पूर्वकप्तान उपुल थरंगा, श्रीलंकाकै असेला गुनरत्ने, वेस्ट इन्डिजका केसरिक विलियम्स, हेमराज चन्द्रपाउल, जिम्बावेका सिकन्दर राजा, बंगलादेशका तमिन इक्वाल, अफगानिस्तानका मोहमद साहजाद तथा सहमानुल्लाह गुर्बाजजस्ता स्तरीय खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । 

 विश्व क्रिकेटका चर्चित खेलाडी सहभागी
कुनै समय विश्व क्रिकेटमा विस्फोटक ब्याटिङ गरी तहल्का मच्चाएका पाकिस्तानी खेलाडी सहिद अफ्रिदीलाई काठमाडौं किंग्स इलाभेनले अनुबन्ध गरेको छ । आयोजकका अनुसार अफ्रिदी बिहीबार काठमाडौं आइपुग्नेछन् । अफ्रिदीले पनि त्रिवि मैदानमा छक्का र चौकाको वर्षा गर्न आफू लालायित भएको ट्वीटरमा बताइसकेका छन् । ‘कीर्तिपुरको मैदानमा नेपाली दर्शकलाई रोमान्चक बनाउन छक्का र चौकाको बर्षा गर्न म प्रतीक्षा गर्न सक्दिनँ’ काठमाडौंसँग अनुबन्ध हुँदा अफ्रिदीले भर्चुअल भिडियोमार्फत भनेका थिए । 

अफ्रिदीबाहेक दक्षिण अफ्रिकाका टी–२० विशेषज्ञ रिचर्ड लेभी पनि खेल्दै छन् । लेभी मंगलबार मात्र काठमाडौं आइपुगेका हुन् । उनी पोखरा राइनोजबाट खेल्नेछन् । लेभी दोस्रोपटक पोखराबाट खेल्न लागेका हुन् । गत वर्ष पनि उनी पोखरामै आबद्ध थिए । लेभीसँग थुप्रै अन्तर्राष्ट्रिय तथा इन्डियन प्रिमियर लिग खेलेको अनुभव छ । एक समय टी–२० मा लेभीको नाममा छिटो शतक प्रहार गर्ने रेकर्ड थियो । उनले ४५ बलमै एक सय १७ रनको इनिङ्स खेलेका थिए । जुनपछि वेस्ट इन्डिजका क्रिस गेलले तोडे ।

 प्रारिश्रमिक बढ्यो

आयोजक इपिएलले खेलाडीको पारिश्रमिक २० प्रतिशत बढाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल तथा नेपाल क्रिकेट संघले समेत मान्यता दिएको इपिएललाई विभिन्न अन्तर्राष्ट्रिय मिडियाले त्यत्तिकै चासोका साथ हेरिरहेका छन् । यद्यपि, चौथो संस्करणको इपिएल सन् २०१९ मै हुनुपर्ने थियो । त्यो वेला नेपाली राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय कार्यतालिका अति नै व्यस्त भएका कारण इपिएल स्थगित भयो । सन् २०२० को चैतमा दोस्रोपटक चौथो संस्करण हुने भनियो । 

तर कोरोना भाइरसको महामारीका कारण अन्तिम समयमा इपिएल स्थगित भयो । यसपटक कोभिड १९ को सबै प्रोटोकल पालना गरी आयोजकले सुरक्षित रूपमा इपिएल गर्ने योजना बनाएको छ । त्यहीअनुरूप तयारी अगाडि बढाइसकेको छ ।  इपिएलमा ललितपुर, काठमाडौं, विराटनगर वारियर्स, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्सं र पोखरा राइनोजले भाग लिँदै छन् ।