मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ६ बुधबार ०८:३९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘ह्यान्डिक्र्याफ्ट’मा लुकाएर खाडी पुग्छ नेपाली चरेस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ६ बुधबार ०८:३९:००

तस्कर समूहले नेपाली चरेस कतार लैजान ह्यान्डिक्र्याफ्टका सामग्री प्रयोग गर्ने गरेको खुलेको छ । चरेस प्याक गरिएको ह्यान्डिक्र्याफ्टका सामग्रीसहित ‘र्‍याकेट’ नाइके नुवाकोट बिदुर नगरपालिका–१३ का ५२ वर्षीय सेसे भनिने उर्पा तामाङ पक्राउ परेपछि यो तथ्य खुलेको हो । 

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई सामाखुसीस्थित कोठाबाट पक्राउ गरेको हो । कोठामा प्रहरीले तीन किलो पाँच सय ७९ ग्राम चरेस प्याक गरिएका १६ वटा नेपाली कागजका डायरी भेटाएको थियो । चरेस ह्यान्डिक्र्याफ्टका अन्य २३ वटा सामग्री पनि प्याक गरिएका थिए । चरेसको पाता बनाउन प्रयोग हुने विशेष प्रकृतिको औजार पनि प्रहरीले कोठाबाट बरामद गरेको छ । प्रहरीका अनुसार बरामद चरेस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतारको दोहा लग्न लागिएको थियो । 

ब्युरो प्रमुख एसएसपी हृदय थापाले घटनाबाट तस्करले नेपाली चरेस ह्यान्डिक्र्याफ्टका सामग्रीमा लुकाएर खाडी मुलुक लैजाने गरेको तथ्य खुलेको बताए । ‘ह्यान्डिक्र्याफ्टका सामग्रीमा लुकाइएका चरेस भेटिए । यी चरेश अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा लग्न लगिएको रहेछ । यसबाट के पुष्टि हुन्छ भने नेपाली चरेस खाडी मुलुक तस्कर हुने गर्छ । यसका लागि तस्करले ह्यान्डिक्र्याफ्टका सामग्री प्रयोग गर्ने गर्छन्,’ उनले भने ।

प्रहरीले गत २१ भदौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै श्यामप्रसाद रोका र वीरबहादुर रोकाबाट चार किलो ३५ ग्राम चरेस बरामद गरेको थियो । सुटकेसमा फल्सबटम बनाई उनीहरूले उक्त लागुऔषध कतार एयरवेजबाट दोहा लैजान खोजेका थिए । बरामद उक्त चरेस उर्पाकै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

 प्रहरीले त्यसवेला ‘र्‍याकेट’का सदस्य ४४ वर्षीय दिलबहादुर रोका, ३३ वर्षीय अनिलबहादुर घले, २८ वर्षीय सुनबहादुर गुरुङ, २८ वर्षीय यांकी भनिने जितबहादुर तामाङ, ३६ वर्षीय माइला भनिने कृष्णबहादुर तामाङ र ३४ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरेको थियो । उनीहरूले एक वर्षअघिसम्म नेपाली चरेस भारतको कोलकाताबाट हङकङ हुँदै टर्की लैजाने गर्थे ।