मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ५ मंगलबार १८:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारका प्रवक्ताको दाबी– कोभिड महामारीलाई सामान्य अवस्थामा पुर्‍याउन सफल भयौँ, चैतभित्र सबै नागरिकलाई खोप दिन्छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ५ मंगलबार १८:३८:००

सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्यअनुसार नै आगामी चैत मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका छन् । कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पुर्याउने अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको दाबी गरे । 

मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स, एडभोकेसी फोरम, एम्नेस्टी इन्टरनेसनल नेपाल, जुरी नेपाल र नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)का पदाधिकारीहरूसँगको सामूहिक भेटमा उनले आफूहरू सरकारमा आउँदा मुलुकमा कोभिडको ठूलो आतंक रहेको र हाल आएर त्यसलाई सामान्य अवस्थामा पुर्याउन सफल भएको जिकिर गरे । 

मन्त्री कार्कीले सरकार जनतालाई कोभिडबाट मुक्त गर्ने र मुलुकमा सुशासन कायम गर्दै दिगो शान्ति र दिगो आर्थिक विकासको कामलाई अगाडि बढाउने काममा अग्रसर भइरहेको बताए । उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी मुलुकलाई दिगो आर्थिक विकासको बाटोमा अगाडि बढाउन सरकारलाई साथ, सहयोग र समर्थन गर्न पनि सबैलाई आग्रह गरे । 

उनले भने, ‘सबै नेपालीलाई भ्याक्सिन लगाउने काममा सरकार अगाडि बढिरहेको छ । र, त्यो लक्ष्य पूरा हुन्छ । जनताको जीवन रक्षा नै प्रथम कर्तव्य हो– सरकारको । त्यो दायित्व पूरा गरिराखिएको छ । र, त्यसपछि मुलुकलाई स्थिरता दिएर सुशासन कायम गर्दै दिगो शान्ति, दिगो आर्थिक विकासतर्फ हामी अगाडि बढ्नुपर्दछ । यही अभियानमा हामी सबै छौँ । यही अभियानमा सरकारलाई सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछु ।’

कार्कीले वर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पनि गम्भीरतापूर्वक काम गरिरहेको पनि बताए । उनले ‘नो भ्याक्सिन’को अवस्थाबाट मुलुक सामान्य अवस्थामा आउनु ठूलो उपलब्धि भएको दाबी गरे ।