मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ५ मंगलबार १७:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथिको छानबिन सकियो, समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ५ मंगलबार १७:५९:००

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलबार सरकारलाई प्रतिवेदन बुझाएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएका हुन् । 

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्‍याई बोर्डको हित र पुँजी बजारको विकासविपरीत हुने गरी पदीय आचरणविपरीत काम कारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो । 

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेस गरेको हो ।
जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझाबले धितोपत्रसम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरूको हित रक्षामा सहयोगी हुने धारणा राखे । सेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकोले मन्त्रीको कारणले सेयर बजार घटबढ नहुने उनले बताए ।