१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ५ मंगलबार १७:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीको प्रश्न– न्यायाधीश, वकिल, पत्रकार सबैलाई पदक दिएपछि सरकारको विरोधमा कसले बोल्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ५ मंगलबार १७:३४:००

एमाले अध्यक्ष केपी ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजीवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि जनाएका छन् । मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक ‘श्वेत शार्दुल’ मंगलबार सार्वजनिक गर्दै सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताए । 

उनले न्यायाधीश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताए । आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजीवी र नागरिक समाजले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दा पनि विरोध नगरेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘अस्तिको दिन वितरण गरिएको जस्तो पदक हामीले वितरण गरिएको भए, बाबा ! अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि वितरण गरिदिएको छ, कसले बहस गर्ने ? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदि इत्यादिलाई पनि वितरण गरिदिएको छ, ती पनि चुपचाप कसले बोल्ने ? कस्तो सबैतिर ढ्याकढ्याक ढोका थुन्ने ? कतैबाट आवाज नआओस् । कतैबाट विरोधको स्वर नआओस् । कतैबाट उज्यालो नछिरोस् । सबैतिर अन्धकारमा चलाउने । विरोधी नै रहेनन् । हामीलाई कुनै टाउको दुखेको होइन । यति धेरै पदकहरू त कहिले पनि बाँडिएको थिएन होला । रत्नपार्कमा बसेर वितरण गरिएको जस्तै छ क्या, ह्वारह्वार । म प्रधानमन्त्री भएको वेला यसरी वितरण गरेको भए, ओहो । के हुन्थ्यो ? बुद्धिजीवीहरूले के भन्थे ? नागरिक समाज के भन्थ्यो ? चुपचाप । आज रमाइलो छ, सबै चुपचाप छन् । सन्चो छ । शान्त छ ।’

ओलीले वर्तमान सत्तारुढले मन्त्रीका आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणी पनि गरे । सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उनको आरोप छ । उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोधसमेत गरे । 

सरकारतर्फ हेरे अशुभ हुने उनको तर्क छ । उनले भने, ‘जनतामा राजनीतिप्रति निराशा, वैराग्यभाव, विरक्ति, वितृष्णा पैदा गर्ने कोसिस भएको छ । जानी जानीकन ताकी ताकी पत्रकारलाई पनि पदक, उसलाई पनि पदक, वकिललाई पनि पदक बोल्ने कोेही नराखे जस्तै । यहाँ सबलाई निराशा बनाइदिने, युवाहरूलाई निराशा बनाइदिने, केही पनि हुँदैन भन्ने पारिदिने । दिउँसै पनि ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ । यो ग्रहणतिर हेर्ने काम छैन । यो ग्रहण लागेको छ । अशुभ छ । २५ मा सहज हुन उहाँहरूलाई सहज भइराखेको छैन । गाह्रो त्यही हो । ७०, ७२ दिन किन पूर्णता पाउँदैन सरकारले ? कार्यकाल छ सबा वर्ष । सबा वर्षको २० प्रतिशत भाग गयो । खालि चिन्ता हो, देशको बहुमूल्य समय बर्बाद भो भन्ने चिन्ता हो । जान्ने हो भने मान्छेले होइन पदकले पनि विद्रोह गथ्र्यो ।’