१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ४ सोमबार २१:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई वर्षपछि नेपाल–भारत संयुक्त सैन्य अभ्यास सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ४ सोमबार २१:१७:००

नेपाली सेना र भारतीय सेनाबीच बटालियनस्तरको संयुक्त अभ्यास पिथौरागढमा सोमबार सुरु भएको छ । कोभिड–१९ का कारण गत वर्ष रोकिएको संयुक्त अभ्यास स्वास्थ्य प्रोटोकलसहित सुरु भएको हो । नेपाली र भारतीय सेनाबीच भएको संयुक्त अभ्यासको यो १५औँ चरण हो ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौड्यालका अनुसार नेपाली सेनाको टोली पिथौरागढमा शनिबार पुगेको थियो । टोलीको नेतृत्व प्रमुख सेनानीले गरेका छन् । अघिल्लोपटक ०७६ मंसिर १७ देखि ३० सम्म सालझन्डीस्थित नेपाली सेनाको तालिम केन्द्रमा १४औँ सूर्यकिरण अभ्यास भएको थियो । 

‘अभ्यासका दौरान नेपाली र भारतीय सेनाको बटालियनले संयुक्त रूपमा अपरेसन, प्रतिआतंकवाद र प्रकोप उद्धारसँग सम्बन्धित अपरेसनका अनुभव आदानप्रदान गर्नेछन्,’ भारतीय सेनद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । पिथौरागढमा परम्परागत उद्घाटन समारोह सोमबार आयोजना भएको र यसमा दुवैतर्फका सैनिकले आफ्ना सैनिक धुनसहित मार्चपास गरेको भारतीय सेनाले जनाएको छ । 

उक्त भारत क्षेत्र हेर्ने सेनाका रथी एसएस महलले सम्बोधन गरेका थिए । उनले आपसी विश्वास, उत्कृष्ट अभ्यासहरूको आदानप्रदान र अपरेसनका अनुभव आदानप्रदानमा यो अभ्यास सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली सेनाका करिब ३ सयजना सहभागी छन् भने भारतीय सेनाका ३५० जना सहभागी छन् ।