मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ४ सोमबार ०९:०३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सशस्त्र प्रहरीमा अब विपद् प्रतिकार्य तालिम अनिवार्य लिनुपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ४ सोमबार ०९:०३:००

सशस्त्र प्रहरी बलले अब भर्ती हुने अधिकृत, जुनियर अधिकृत तथा फलोअर्स क्याडेटका सबै सुरक्षाकर्मीलाई विपद् व्यवस्थापनसम्बन्धी तालिम अनिवार्य रूपमा दिने तयारी गरेको छ । सशस्त्र प्रहरीको मूल उद्देश्य नै विपद्मा परेका जनताको उद्धार गर्ने भएकाले अब भर्ती हुने सबै सुरक्षाकर्मीलाई विपद्सम्बन्धी तालिम अनिवार्य गर्न लागिएको हो । 

सशस्त्रका सबै तहको पाठ्यक्रम अब विपद्सम्बन्धी कोर्स अनिवार्य रूपमा समावेश गरिने सशस्त्रका केन्द्रीय प्रवक्ता डिआइजी राजु अर्यालले बताए । उनका अनुसार तालिम नगर्ने सुरक्षाकर्मी बढुवा, पुरस्कार तथा शान्ति मिसनमा सहभागी हुनेजस्ता अवसरबाट वञ्चित हुनेछन् । ‘अब सशस्त्रको सबै तहका तालिममा विपद् प्रतिकार्यसम्बन्धी कोर्स अनिवार्य रूपमा समावेश हुनेछ । नयाँ भर्ती हुने सबै तहका सुरक्षाकर्मीले विपद्सम्बन्धी तालिम अनिवार्य रूपमा लिनुपर्नेछ । जसले तालिम लिँदैन, त्यो बढुवा, पुरस्कार, तथा शान्ति मिसनमा सहभागी हुनेलगायतका अवसरबाट वञ्चित हुनेछ,’ उनले भने ।

डिआइजी अर्यालका अनुसार तालिमको कोर्स चितवनको कुरिनटारस्थित सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालयले निर्माण गर्नेछ । तालिमको नेतृत्व पनि शिक्षालयले नै गर्नेछ । तालिमलाई शैक्षिक मान्यता दिन मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धन लिइनेछ । ‘हामीले विपद्सम्बन्धी तालिमलाई सशस्त्रको शैक्षिक पाठ्यक्रममै समावेश गर्न लागेका छौँ । यसका लागि मान्यताप्राप्त विश्वविद्यालयसँग समन्वय लिइनेछ । कोर्सको डिजाइन पनि सोहीअनुसार गरिनेछ ।  विश्वविद्यालयको सम्बन्धन प्राप्त भएपछि तालिमले शैक्षिक मान्यता पाउनेछ । यसका तयारी हामीले गरेका छौँ,’ अर्यालले भने ।