१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज ४ सोमबार ०८:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हामीले नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न सक्नुपर्छ : नेपाल

Read Time : < 1 मिनेट
२०७८ असोज ४ सोमबार ०८:५५:००

 नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरू अब एमाले अध्यक्ष केपी ओलीको बारेमा टिप्पणी गरेर समय बर्बाद गर्ने पक्षमा नरहेको बताएका छन् । आफूहरूलाई मार्क्स र कम्युनिस्ट गुरुहरूले गफ गर्ने, ढाँट्ने, मानमर्दन गर्ने र छल्ने नभई इमान्दार भएर जनताको सेवा गर्ने संस्कार सिकाएको उनको टिप्पणी छ । 

आइतबार एकीकृत समाजवादी कास्कीले आयोजना गरेको विचार–गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताले विश्वास गरेर झन्डै दुईतिहाइ मत दिँदादिँदै पनि संसद् र पार्टीलाई यो अवस्थामा ल्याउनेलाई जनताले नै सजाय दिने उनको भनाइ थियो । एमाले र देशको अवस्था किन यस्तो भयो भन्ने सोच्ने वेला भएको भन्दै उनले आफूहरूले नयाँ पार्टी निर्माण गर्नुको औचित्य पुष्टि गर्नुपर्ने बताए ।

‘हावादारी गफ गर्ने बद्ख्वाइँ गर्ने हामीलाई फुर्सद छैन । हामीले काम गरेर देखाउनुपर्नेछ । नयाँ पार्टी स्थापनाको औचित्य पुष्टि गर्नुपर्नेछ,’ नेपालले भने, ‘अहिले एमालेको नाम लिनेबित्तिकै जनताले नाकमुख खुम्च्याउँछन् । इज्जत गुमिसक्यो, संविधानको धज्जी उडाइएको छ । यस्ताहरूको कुरा गरेर बस्ने र त्यस्तै हावादारी गफ गर्ने र हाम्रो पनि पुरानै पारा भए मान्छेले भन्नेछन्, जुन जोगी आए पनि कानै चिरेका । केही फरक देखाउने भन्नेमा प्रस्ट सोचका साथ अघि बढ्नेछौँ ।’ 

अध्यक्ष नेपालले तत्काल कुनै पार्टीसँग पार्टी एकता नहुने प्रस्ट पारे । अहिले बाहिर अरूसँग एकता हुन्छ भनेर हल्ला चलाइएको भन्दै त्यस्तो एकता कसैसँग नहुने र आफूहरू आफ्नै शक्तिले अगाडि बढ्ने उनले बताए ।