१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ४ सोमबार ०६:२१:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपाल सात विकेटले विजयी

जितसँगै नेपाल आइसिसी मेन्स क्रिकेट वल्र्डकप लिग –२ अंकतालिकाको चौथो स्थानमा उक्लेको छ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ४ सोमबार ०६:२१:००

नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आइतबार ओमानलाई सात विकेटले सानदारसँग हराएको छ । ओमानलाई नेपालले पहिलोपटक एकदिवसीय इतिहासमा हराएको हो ।

अल इमेरात क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको ओमानले नेपाली बलरका घातक बलिङ सामना गर्न नसक्दा ३७.१ ओभरमा एक सय २१ रनमै सबै विकेट गुमाएको थियो । सहज लक्ष्य पूरा गर्ने क्रममा नेपालले १८.२ ओभरमा तीन विकेटको नोक्सानीमै एक सय २२ रन जोड्दै उत्कृष्ट जित निकाल्यो । 

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी ब्याटिङ गरे । बलिङमा लेग स्पिनर सन्दीप लामिछाने र फास्ट बलर करण केसीले चार–चार विकेट लिए । जितसँगै नेपाल आइसिसी मेन्स क्रिकेट वल्र्डकप लिग–२ अंकतालिकाको चौथो स्थानमा उक्लेको छ । ओमानमा नेपालले सिरिज सुखद अन्त्य गरेको छ । ओमानमा नेपालले दुई जित र दुई हार व्यहोरेको छ ।

नेपालले अमेरिका र ओमानलाई एक–एकपटक हरायो । नेपालले आठ खेलमा चार जितका साथ आठ अंक जोडेको छ ।पहिलोपटक नेपालसँग पराजित भए पनि ओमान शीर्ष स्थानमै छ । ओमानले १३ खेलमा १० जित निकाली २० अंक जोडेको छ । दोस्रो स्थानमा अमेरिकाले १५ खेलबाट १४ अंक बटुलेको छ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भयो । तेस्रो खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले हरायो । 

 ओमान एक सय २१ रनमै आउट
पहिलो ब्याटिङ गरेको ओमानले नेपालका लेग स्पिनर सन्दीप र फास्ट बलर करणका घातक बलिङ सामना गर्न नसक्दा सस्तै योगफलमा समेटियो । इनिङ्सको २.४ ओभरबाट ओमानको विकेट खस्न सुरु भयो । पहिलो खेलमा शतकीय इनिङ्स खेलेका तथा नेपालका लागि डरलाग्दो ब्याट्सम्यानका रूपमा रहेका जतिन्दर सिंहलाई करणले आसिफ सेखबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । 

पहिलो पावर प्लेमा करणले उत्कृष्ट बलिङ गर्दै ओमानका प्रारम्भिक तीनजना ब्याट्सम्यानका विकेट लिए । करणले जितन्दर (१३) सुफयान मेहमुद (४) र आयान खान (७)को विकेट लिँदा ओमान ६.५ ओभरमा ३०–३ को स्थितिमा रह्यो । ओमानका मुख्य ब्याट्सम्यान जितन्दरले १३ बलमा एक छक्का र एक चौका प्रहार गरेका थिए । त्यसपछि सन्दीपले आफ्नो स्पेलमा जादुमयी बलिङ प्रदर्शन गरी चार विकेट लिँदै ओमानको मध्यक्रम ब्याटिङ लाइन–अप कमजोर पारे ।

सन्दीपले मोहमद नदिम (४), सुरज कुमार (०), नेस्टर धाम्बा (०) र विलाल खान (९)को विकेट लिन सफल रहे । लगातार तीन खेलमा बाहिर रहेका अनुभवी खेलाडी शरद भेषवाकरले ओमानसँगको प्रतिस्पर्धामा मौका पाए । शरदले ओमानका दुई ब्याट्सम्यानलाई आउट पारे । उनले सन्दीप गौड (८) र नसिम खुसी (१२)को विकेट लिएका हुन् । करणले आफ्नो चौथो विकेटका रूपमा ओमानका कप्तान जेसान मक्सुद (४१) को विकेट लिए । 

कप्तान जेसान आउट हुँदा ओमान १०६–६ को दयनीय अवस्थामा रह्यो । ओमानका फितलो ब्याटिङमा कप्तान जेसानले मात्र राम्रो खेले । उनले सर्वाधिक ४१ रनको योगदान दिँदा ६६ बलमा दुई चौका प्रहार गरेका थिए । सो इनिङ्मा ओमानले एकै स्कोरमा दुई–दुईपटक विकेट गुमाएको थियो । ओमानले ३० रन तथा ४३ रनमा दुई–दुई विकेट गुमायो । ओमानले पहिलो सात विकेट ७४ रनमा गुमायो । बलिङमा करणले आठ ओभरमा एक मेडन राखी २५ रन खर्चँदै चार विकेट लिए । 

उनको इकोनोमी रेट ३.१२ थियो । यसैगरी सन्दीपले ८.१ ओभरमा दुई मेडन राखी १८ रन खर्चेर चारै विकेट लिए । सन्दीपले आफ्नो बलिङ स्पेलमा २.२० को इकोनोमी रेट राखेका थिए । शरदले ६ ओभरमा एक मेडन राखी २१ रन खर्चेर दुई विकेट हात पारे । ओमानका ब्याट्सम्यानले पूरै इनिङ्समा तीन छक्का र ६ चौका प्रहार गरे । नेपाली बलरले १२ अतिरिक्त रन दिए । 

 जितका साथ बिदा भए प्रशिक्षक ह्वाटमोर 
आइसिसी विश्वकप क्रिकेट लिग २ मा ओमानमाथि सात विकेटको जितसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक प्रशिक्षक डेब ह्वाटमोरको सुखद बिदाइ भएको छ । ११ भदौमा ह्वाटमोरले घरायसी कारण देखाउँदै प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका थिए । उनले नेपाल क्रिकेट संघ (क्यान)लाई इमेलमार्फत राजीनामा पेस गरेका हुन् । 

ओमानविरुद्धको आइतबारको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल नै ह्वाटमोरको मुख्य प्रशिक्षकका रूपमा नेपालका लागि अन्तिम खेल रह्यो । ६७ वर्षीय ह्वाटमोरलाई क्यानले खुला प्रतिस्पर्धाबाट २ पुसमा मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । क्यानले ह्वाटमोरसँग एक वर्षको सम्झौता गरेको थियो ।

उनले काठमाडौंमा भएको नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि नेपाललाई दिलाएका थिए । यसैगरी, ओमानमा त्रिकोणात्मक सिरिज सुरु हुनुअघि पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिज पनि ह्वाटमोरकै प्रशिक्षणमा नेपालले जित्यो । विश्व क्रिकेटमा ह्वाटमोरलाई चर्चित प्रशिक्षकका रूपमा चिन्ने गरिन्छ । 

 मल्ल र आसिफबीच ९५ रनको साझेदारी
लक्ष्य पछ्याउँदा नेपालले ३.१ ओभरमा ओपनर कुशल भुर्तेल (६) को विकेट गुमायो । त्यसपछि कप्तान मल्ल र आसिफ सेखबीच दोस्रो विकेटका लागि ९५ रनको साझेदारी भयो । यो साझेदारी नै नेपालको जित आधार बन्यो ।मल्ल र आसिफबीचको साझेदारी नेपालबाट कुनै पनि विकेटका लागि अहिलेसम्म भएको उच्च साझेदारी हो ।

दुवैले ब्याट्सम्यानले पावर प्लेमा आक्रामक रूपमा ब्याटिङ गरेका थिए । इनिङ्सको १५.५ ओभरमा आसिफले विकेट गुमाए । उनले ४४ बलमा सात चौकाको सहयोगमा ४० रनको योगदान दिए । नेपालका लागि शरद भेषवाकरले विजयी अंक बटुले । ओमानका नेस्टर धाम्बाले दुई र कालिम उल्लाहले एक विकेट लिए ।

मल्लको नाममा चार अर्धशतक
चालू सिरिजमा नेपालका कप्तान मल्लले लगातार दुई अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले लगातार दुई खेल अमेरिका र ओमानविरुद्ध अर्धशतकीय योगदान दिएका हुन् ।नेपालका लागि एकदिवसीय खेलमा सर्वाधिक अर्धशतक बनाउने मल्ल एक्लो खेलाडी बनेका छन् । यसअघि मल्ल र रोहितकुमार पौडेलले समान तीन अर्धशतक बनाएका थिए । नेपालको जितमा मल्लले अविजित ५२ रन जोडेका थिए ।

उनले ४६ बलमा चार चौका र दुई छक्का प्रहार गरे । मल्लले धाम्बाको ओभरमा छक्का प्रहार गर्दैै अर्धशतक बनाए । उनले ओमानविरुद्ध ४३ बलमै अर्धशतक पूरा गरेका थिए । नेपालका लागि एकदिवसीय खेलमा मल्ल सर्वाधिक व्यक्तिगत रन बनाउने ब्याट्सम्यान पनि हुन् । अमेरिकाविरुद्धको अघिल्लो खेलमा उनले पूर्वकप्तान पारस खड्काको रेकर्ड तोडेका थिए । मल्लले १५ खेलमा १५ इनिङ्स ब्याटिङ गर्दै चार सय १८ रन जोडेका छन् ।