मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असोज ३ आइतबार १८:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिसिक्यामेराको निगरानीमा राजमार्ग

Read Time : < 1 मिनेट
२०७८ असोज ३ आइतबार १८:१२:००

पूर्व–पश्चिम राजमार्गको कैलाली–कञ्चनपुर खण्ड अब सिसिटिभी क्यामेराबाट निगरानी गरिने भएको छ । राजमार्गअन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी तथा अत्तरियादेखि त्रिनगर नाकासम्म जडान गरिएका १३८ वटा सिसिक्यामेरा आइतबारबाट सञ्चालनमा आएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले एक करोड ७१ लाखको लागतमा सिसिक्यामेरा जडान गरेको हो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले अत्तरियामा आयोजित एक कार्यक्रममा ती क्यामेराबाट निगरानीको जिम्मा प्रहरीलाई हस्तान्तरण गरिन् ।

राजमार्गका संवेदनशील क्षेत्रमा सिसिक्यामेरा जडान भएसँगै आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीप्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेलले सिसिक्यामेराबाट निगरानी थालिएसँगै दुर्घटना र अपराध गरेर भाग्नेलाई पक्राउ गर्न सहज हुने बताए । 

राजमार्गको संवेदनशील क्षेत्र पहिचान गरेर ती क्षेत्रमा सिसिक्यामेरा जडान गरिएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता मोहन जोशीले राजमार्गमा बढी भिडभाड हुने क्षेत्र, दोबाटो, चौराहा, सार्वजनिक सम्पत्ति रहेको क्षेत्रलगायतका ठाउँमा क्यामेरा राखिएको जानकारी दिए । 

सातवटा ठाउँमा घुम्ने क्यामेरा जडान गरिएको उनले बताए । सिसिटिभी क्यामेरा जडान गरिएका क्षेत्रमा निगरानीका लागि १२ वटा स्टेसन राखिएका छन् । जोशीका अनुसार सिसिक्यामेरा जडान गर्न राजमार्गमा १०८.५६ किलोमिटर क्षेत्रमा केबल बिछ्याइएको छ ।