मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अली पुन्जानी
नवराज मैनाली काठमाडाैं
२०७८ असोज २ शनिबार ०९:३०:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

केन्याका लागुऔषध माफिया पुन्जानी डेढ महिनादेखि नेपालमा, नेपाल प्रहरी बेखबर

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७८ असोज २ शनिबार ०९:३०:००

लागुऔषध तस्करीको दुनियाँमा अली पुन्जानी कुख्यात नाम हो । केन्याबाट विश्वभरि लागुऔषध तस्करीको गिरोह चलाएकोमा उनीविरुद्ध विभिन्न देशका प्रहरीले ‘वारेन्ट’ जारी गरेको छ । तिनै पुन्जानी अहिले नेपालमा छन्, तर नेपाल प्रहरी भने बेखबर छ । 

भारतीय मूलका केन्याली नागरिक पुन्जानी २१ साउनमा नेपाल आएका थिए । कतार हुँदै उनी नेपाल आएका हुन् । विमानस्थलस्थित अध्यागमन कार्यालयको विवरणअनुसार २१ साउनको साँझ ५ बजे काठमाडौं उत्रिएका उनी शुक्रबारसम्म फर्किएका छैनन् । सिके २१७६६ पासपोर्ट भएका उनको स्थायी ठेगाना केन्याको मोम्बासा हो । पासपोर्टमा उनको नाम अली बद्रुदिन भाई पुन्जानी उल्लेख छ । स्रोतका अनुसार केही दिनअघिसम्म उनी लाजिम्पाटको होटेल एम्बेस्डरमा बसेका थिए । 

पुन्जानी अमेरिकामा समेत ‘वान्टेड’ व्यक्ति हुन् । अमेरिकामा बरामद भएको हेरोइन उनले पठाएको खुलेपछि ६ वर्षअघि उनीविरुद्ध वारेन्ट जारी भएको थियो । केन्यामा संगठित गिरोह चलाएका पुन्जानीको प्रमुख धन्दा लागुऔषध तस्करी भएको त्यहाँका सञ्चारमाध्यमले पटक–पटक लेख्दै आएका छन् । उनले नेपाली युवती सुस्मिता कार्कीसँग विवाह गरेका छन् । सुस्मितासहित उनी नेपाल आएका हुन् । 

केन्याको प्रहरीले १३ अगस्ट २०१९ मा सुस्मितासहित तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको थियो । पछि उनीहरू धरौटीमा छुटे । पुन्जानीको मोम्बासास्थित घरमा छापा हानी कार्कीलाई पक्राउ गरिएको थियो । कार्कीसँगै नेपाली युवक शिव बस्याल र भारतीय नागरिक राम मनोज पनि पक्राउ परेका थिए । उनीहरू दुवै घरेलु कामदार हुन् । त्यतिवेला पहिले नै सूचना पाएर पुन्जानी भाग्न सफल भएका थिए ।

उनीमाथि वारेन्ट भने जारी भएको थियो । केन्याले उनलाई पक्राउ गर्न भारतीय अधिकारीसँग सुरुमा सहयोग मागे पनि पछि उनी सहजै केन्या पुगेर आफ्नो मुद्दा मिलाउन सफल भएका थिए । अमेरिकाको अदालतमा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ । ठूलो मात्रामा अमेरिकामा लागुऔषध तस्करीमा उनको संलग्नता पुष्टि भएपछि ड्रग इन्फोर्समेन्ट एडमिनिटे«सनद्वारा उनीविरुद्ध २५ जुलाई २०१९ मा न्युयोर्कको साउर्दन डिस्ट्रिक अदालतमा मुद्दा दायर भएको थियो । उनलाई अमेरिकामा सुपुर्दगी गर्न अमेरिकाले केन्या प्रहरीलाई दबाब दिँदै आएपछि केन्या प्रहरीले सहयोग गरेको छैन । 

भारतीय सञ्चारमाध्यमले लेखेअनुसार माफिया नाइके दाउद इब्राहिमको समूहसँग समेत पुन्जानीको सम्पर्क छ । दाउदका पूर्वसहयोगी भिकी गोस्वामीसँग मिलेर पुन्जानीले लागुऔषध तस्करीको गिरोह चलाएको आरोप लाग्दै आएको छ । 

केन्यामा राजनीतिक संरक्षणमा पुन्जानीले आफ्नो आपराधिक धन्दा फैलाउँदै आएको सञ्चारमाध्यमले लेख्दै आएका छन् । उनका सहयोगी तथा समूहका सदस्यहरू पटक–पटक ठूलो मात्रामा कोकिन र हेरोइनसहित पक्राउ पर्दै आएका छन् । दुई वर्षअघि लागुऔषध कारोबारविरुद्ध केन्या सरकारले थालेको अभियानअन्तर्गत उनको घरमा छापा हानेको थियो ।

तर, पुन्जानीले प्रहरीबाट त्यसबारे पहिले नै सूचना पाएको र भारत भाग्न सफल भएका थिए । सोही अभियोगमा मोम्बासाका केही उच्च प्रहरी अधिकारीको सरुवासमेत गरिएको थियो । केन्याको दोस्रो ठूलो सहर मोम्बासाकै सबैभन्दा धनाढ्यका रूपमा चिनिएका पुन्जानीमाथि नक्कली नोट कारोबारको आरोपसमेत लाग्दै आएको छ । उनको अवैध धन्दामा सरकारकै संरक्षण रहेको भन्दै केन्याको संसद्मा समेत आवाज उठेको थियो । 

तर, प्रहरीले भने पुन्जानी नेपाल आएको सामान्य सूचना पाएको दाबी गरेको छ । ‘पुन्जानीबारे हामीले थोरै सूचना पाएका थियौँ, तर नेपालमा अपराध नगरेको र प्रमाण पनि नभेटिएकाले अगाडि बढेनौँ,’ लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का प्रमुख एसएसपी हृदय थापाले भने ।

पुन्जानीकी तेस्री पत्नी काठमाडौंकी कार्की
पुन्जानीसँग विवाह गर्ने नेपाली युवती सुस्मिता कार्की काठमाडौंकी हुन् । केन्यामा रहेका एक गैरआवासीय नेपालीका अनुसार पुन्जानी नेपाल आएका वेला मन पराएर कार्कीलाई सुरुमा प्रेमिकाका रूपमा केन्या लगेका थिए । पछि विवाह गरे । तीन वर्षदेखि केन्यामा बस्दै आएकी २६ वर्षीया कार्की पुन्जानीकी तेस्री श्रीमती हुन् । यसअघि पुन्जानीले बलिउड अभिनेत्री किम शर्मासँग बिहे गरेका थिए । 

प्रहरीदेखि राष्ट्रपतिसम्मको संरक्षण
पुन्जानी केन्याका निकै प्रभावशाली व्यक्ति हुन् । त्यहाँको राष्ट्रपति चुनावमा आफूनिकट व्यक्तिलाई जिताउन उनी करोडौँ लगानी गर्छन् । राजनीतिक तथा प्रहरी नेतृत्वसँग निकटतम् सम्बन्ध भएकाले उनले संरक्षण पाउँदै आएका छन् । सन् २०१३ मा प्रहरीलाई उनले १० वटा भ्यान उपहार दिएका थिए । ती भ्यानमै लागुऔषध तस्करी हुने गरेको आरोप पनि लागेको थियो । प्रहरीलाई प्रभावमा पारेकैले उनको बंगलाको सुरक्षामा एक दर्जनभन्दा बढी प्रहरी खटाइएका थिए । तर, विवाद भएपछि हटाइएको थियो । 

तीन वर्षअघि नेपाली युवतीहरू काम गर्ने केन्याका डान्सबारमा उनकै निर्देशनमा छापा हानिएको केन्याको डेली नेसन पत्रिकाले लेखेको छ । उसका अनुसार नेपाली युवतीहरू कार्यरत डान्सबारमा धेरै व्यापार भएपछि पुन्जानीनिकट व्यवसायीहरूको डान्सबारको व्यापार खस्किएको थियो । त्यही कारण उनले स्थानीय प्रहरीलाई प्रभावमा पारी छापा हान्न लगाएका थिए । त्यसवेला सातजना नेपाली युवती पक्राउ परेका थिए । पुन्जानीलगायत विभिन्न माफिया समूहले चलाएका डान्सबारमा नेपाली युवतीको तस्करी हुने गरेको छ ।

काठमाडौंकी सुस्मिता पुन्जानीकी तेस्री पत्नी
काठमाडौंकी २६ वर्षीया सुस्मिता कार्की पुन्जानीकी तेस्री श्रीमती हुन् । उनी पनि दुई वर्षअघि लागूऔषध कारोबारमा केन्यामा पक्राउ परेकी थिइन्, पछि छुटिन् ।

केन्याका राष्ट्रपतिसम्मको संरक्षण
केन्याको राष्ट्रपति चुनावमा आफूनिकटलाई जिताउन उनी करोडौँ लगानी गर्छन् । सन् २०१३ मा प्रहरीलाई उनले १० वटा भ्यान उपहार दिएका थिए । ती भ्यानमै लागुऔषध तस्करी हुने गरेको आरोप थियो ।

किन आए नेपाल ? 
पुन्जानी पहिलोपटक नेपाल आएका होइनन् । नेपालमा गुन्डागर्दी तथा अवैध धन्दामा संलग्न केही व्यक्तिसँग उनको सम्पर्क छ । त्यही समूहसँग मिलेर डिस्को खोल्ने विषयमा छलफल गर्न उनी नेपाल आएको स्रोत बताउँछ । अन्य अवैध धन्दाको योजनासमेत हुन सक्ने भए पनि प्रहरीले यसबारे सूचना पाएको छैन । 

हाल विदेशी नागरिकलाई अनअराइभल भिसा नरहेकोमा नैरोबीस्थित नेपाली कन्सुलेटबाट भिसा लिएर पुन्जानी नेपाल आएका हुन् । पटक–पटक नेपाल आउने भएकाले उनको नेपालमा आपराधिक सञ्जाल भएको हुन सक्ने आशंका गरिएको छ । आपराधिक कर्मबाट कमाएको कालोधन नेपालमा लगानी गर्ने उनको योजना रहेको स्रोत बताउँछ ।