१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शान्ति तामाङ काठमाडौं
२०७८ भदौ ३१ बिहीबार ०७:३७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँच वर्ष आठ महिनापछि प्राधिकरणले गर्‍यो पुनर्निर्माणका बाँकी काम हस्तान्तरण

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७८ भदौ ३१ बिहीबार ०७:३७:००

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गर्न बाँकी रहेका कामहरू हस्तान्तरण सुरु गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गरी प्राधिकरणले निजी आवासलगायतका संरचनाहरूको पुनर्निर्माणसम्बन्धी बाँकी कार्य सम्बन्धित निकायमा हस्तान्तरण सुरु गरेको हो । 

पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बा, सडक एवं पुलहरूको कार्य हस्तान्तरण गरिएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष आठ महिना २० दिनमा पुननर्निर्माण गर्नुपर्ने कुल संरचनामध्ये सम्पूर्ण कार्य सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेको बताए । 

‘केही गुम्बा, पुरातात्विक सम्पदा पुनर्निर्माणका कामबाहेक अरू काम लगभग सम्पन्न गरेका छौँ,’ ज्ञवालीले भने, ‘पुनर्निर्माणले देशलाई छिट्टै भूकम्पबाट सुरक्षित मुलुकका रूपमा रूपान्तरण गर्न आधारस्तम्भ तयार गरेको छ । त्यसमा टेकेर हामी अगाडि बढ्न सक्छौँ ।’ उनले प्राधिकरणको समयावधिसम्म पुनर्निर्माणसम्बन्धी काम सम्पन्न गराउन समन्वय र सहजीकरण गर्ने, धरहरा, रानीपोखरी, सिंहदरबारको बाँकी काम सम्पन्न गराउनेसमेत बताएका छन् । 

यी निकायलाई हस्तान्तरण गरियो बाँकी काम
निजी आवास तथा बस्ती विकासतर्फका बाँकी कार्य सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ । सरकारी एवं सार्वजनिक भवन एवं स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)मार्फत सञ्चालित सम्पदा एवं गुम्बाहरूको पुनर्निर्माणसम्बन्धी कार्य पनि उक्त विभागमातहत हुने गरी हस्तान्तरण गरिएको हो । प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का आयोजना निर्देशक श्यामकिशोर सिंहले बाँकी कार्य सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरे ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)ले गर्दै आएको निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनसहितका पुनर्निर्माणसम्बन्धी बाँकी काम पनि सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले बाँकी काम सहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरे ।

पुनर्निर्माण गर्न बाँकी रहेका शैक्षिक संस्थाको पुनर्निर्माणसम्बन्धी काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सोअन्तर्गतका तोकिएका जिल्लास्थित कार्यालयमा हस्तान्तरण गरिएको छ । बाँकी रहेका काम प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले शिक्षा सचिव रामप्रसाद थपलियालाई हस्तान्तरण गरे ।

सडक तथा पुलहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई हस्तान्तरण गरिएको छ । विभागले गुम्बा व्यवस्थापन समितिको समन्वयमा एक सय वर्ष नपुगेका पुनर्निर्माण गर्न बाँकी गुम्बाहरूको पुनर्निर्माणसम्बन्धी काम पनि गर्नेछ । बाँकी काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्टालाई हस्तान्तरण गरे ।

हस्तान्तरणपछि जिम्मेवारी लिएका निकायहरूले तत्कालै पुनर्निर्माणका काम गर्ने 
पुनर्निर्माण गर्न बाँकी रहेका कामसहित सम्बन्धित केन्द्रीय एवं जिल्ला आयोजना कार्यान्वयन एकाइहरूअन्तर्गत रहेका सम्पत्ति, दायित्व, श्रेस्ता कागजात, बेरुजु विवरण एवं कार्यालयसमेत सम्बन्धित निकायमा हस्तान्तरण भएका छन् । हस्तान्तरणपछि जिम्मेवारी लिएका निकायले तत्कालै पुनर्निर्माणका कार्य सञ्चालन गर्नेछन् । 

शिक्षा सचिव रामप्रसाद थपलिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले हस्तान्तरण भएर आएका कामले थप जिम्मेवारी थपिएको भन्दै गुणस्तरीय काम गर्न चुनौती रहेको बताए । ती कामलाई अपनत्वका साथ तोकिएको समयभित्रै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे ।

गत ९ भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको २०औँ बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका काम सम्बन्धित निकायमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । पुनर्निर्माण गर्न बाँकी रहेका काम हस्तान्तरण भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आगामी १० पुससम्म क्रियाशील रहनेछ । यसबीचमा प्राधिकरणले धरहरा, रानीपोखरी, सिंहदरबार एवं नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको रणोद्दीप दरबारको पुनर्निर्माणको कार्य हेर्नेछ । 

प्राधिकरणको गत ३१ असारसम्मको तथ्यांकअनुसार करिब आठ लाख २९ हजार निजी घरमा क्षति पुगेकोमा सात लाखभन्दा धेरै घर निर्माण सम्पन्न भइसकेको छ । सात हजार पाँच सय विद्यालय भवनमा क्षति पुगेकोमा ८७ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको छ । सिइओ ज्ञवालीले नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायलाई बाँड्न आगामी २१ देखि २३ मंसिरसम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको र त्यस अवसरमा ‘विपद्–जोखिमबाट सुरक्षित नेपाल निर्माणसम्बन्धी मार्गचित्रसहितको खाका’ प्रस्तुत गरिनेसमेत जानकारी दिए ।