मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
यम बम काठमाडाैं
२०७८ भदौ ३० बुधबार ०९:१५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री देउवा र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य

सदाचारको नीति अवलम्बन गरेको दाबी गर्ने देउवाले प्रधानमन्त्री बनेको ६५ दिनसम्म सार्वजनिक गरेनन् सम्पत्ति विवरण

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
२०७८ भदौ ३० बुधबार ०९:१५:००

सदाचारको नीति अवलम्बन गरेको दाबी गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले पदधारण गरेको ६५ दिनसम्म पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । एकै दिन पद तथा गोपनीयताको शपथ लिएका चार मन्त्रीको सम्पत्ति विवरण पनि गोप्य राखिएको छ । 

देउवाले २९ असारमा प्रधानमन्त्रीको शपथ लिएका थिए । गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि त्यही दिन नियुक्त भएका थिए । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ भने १० साउनमा मात्र नियुक्त भएका हुन् । यद्यपि सम्पत्ति सार्वजनिक गर्न दुई महिना नै कुर्नुपर्छ भन्ने जरुरी छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा भने प्रधानमन्त्री र चारै मन्त्रीको सम्पत्ति विवरण ‘प्राप्त भएको’ उल्लेख छ । कार्यालयका प्रवक्ता कृष्णबहादुर राउत प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको, तर मन्त्रिपरिषद्बाट निर्णय नभएकाले सार्वजनिक नभएको बताउँछन् । ‘मन्त्रिपरिषद्बाट निर्णय गराएर सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन रहेछ, तर अहिले मन्त्रिपरिषद्ले पूर्णता पाइनसकेकाले सरकार विस्तारपछि एकैपटक सार्वजनिक गर्ने तयारी छ,’ राउतले नयाँ पत्रिकासँग भने । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पदमा बसेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण सरकारलाई बुझाउनुपर्ने’ उल्लेख छ । कानुनी रूपमा सम्पत्ति विवरणमा व्यक्तिगत गोपनीयतासम्बन्धी कानुन लागू हुन्छ । तर, मन्त्रिपरिषद्ले कार्यव्यवस्था नियमावलीमा व्यवस्था गरेरै संघ सरकारका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था सुरु गरिएको थियो । 

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष खेमराज रेग्मी सम्पत्ति विवरण लुकाउनु अपारदर्शिता भएको बताउँछन् । ‘सार्वजनिक पद धारण गरेका व्यक्ति पारदर्शी हुनुपर्छ,’ उनले भने, ‘नियुक्ति हुँदा मात्र होइन, पदबाट हटेपछि पनि सम्पत्ति सार्वजनिक गर्नुपर्छ ।’ नेपालमा आर्थिक पारदर्शिताका लागि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास ०४८ पछि सुरु भएको हो । ‘आर्थिक अनुशासनमा राख्न र मुलुकमा सुशासन कायम गर्न यो व्यवस्था कायम भएको हो,’ उनले भने । 

यसअघि ०७४ फागुनमा गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सरकार बनेको दुई महिनापछि सार्वजनिक गरिएको थियो । तर, त्यसपछि हेरफेर भएका र थपिएका मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको थियो । 

पछिल्लोपटक गत जेठमा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले एक सातामै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यस्तै, २१ जेठमा मन्त्रिपरिषद्बाट हटेका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पदमुक्त भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्रीकालमा ‘पुस्तक र घरायसी सामग्री’मात्रै थपिएको उल्लेख गरेका थिए ।
त्यस्तै, सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन नरहेको नेपाली सेनामा समेत निवर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले नियुक्त हुँदा र अवकाश पाउँदा दुवैपटक सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । 

०७४ मा सम्पत्ति सार्वजनिक गर्दा देउवाले बुढानीलकण्ठस्थित घर देखाएका थिएनन्
०७४ मा प्रधानमन्त्री छँदा देउवाले सम्पत्ति सार्वजनिक गरे, तर बस्दै आएको बूढानीलकण्ठको घरको विवरण भने देखाएनन् । पत्नी आरुजुका नाममा रहेका चल/अचल सम्पत्ति उनले खुलाएका थिएनन् । असोज पहिलो साता सार्वजनिक गरिएको विवरणअनुसार उनीसँग १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हिरा, पन्ना–रुबी र मुगाजडित औँठी रहेको उल्लेख थियो । त्यतिखेर उनको नाममा एभरेस्ट बैंकमा जम्मा १६ लाख ५० हजार नगद रहेको खुलाइएको थियो । सेयर र सवारीसाधन भने देखाइएको थिएन ।

यसैगरी, बुबा प्रसादसिंह देउवाको नाममा डडेल्धुराको असीग्रामलगायतमा ५६ रोपनी १७ आना जग्गा, कञ्चनपुरको कृष्णपुरमा १० बिघा सगोलको जग्गा रहेको उल्लेख थियो । देउवापत्नी आरजुले ०७४ को आमचुनावको मुखमा धनगढी उपमहानगरपालिका– ४ उत्तरबेहडीमा तीन कट्ठा तीन धुरमा बनेको दुईतले घर तीन करोडमा किनेकी थिइन् । सो निर्वाचनमा उनी धनगढीबाटै उम्मदेवार पनि थिइन् । कांग्रेसभित्रै उनलाई ‘टुरिस्ट उम्मेदवार’को आरोप लागेपछि उनले निर्वाचन क्षेत्रभित्रै घर किनेकी थिइन् । विवेकशील साझाका नेतासमेत रहेका उद्योगी गोपाल हमालकी पत्नी शारदा हमालको नाममा रहेको घर आरजुले किनेकी थिइन् ।