१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा सर्लाही
२०७८ भदौ २८ सोमबार ०७:५५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सर्लाहीका चुरेक्षेत्रका स्थानीयको व्यथा : बाटो नहुँदा बिरामी बोक्न अझै झोलुंगोको भर

गाउँमा कोही बिरामी परे यसरी नै मिलेर झोलुंगोमा पालैपालो बोकेर घारीबथानसम्म पुर्‍याउने गरिएको छ ।

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ भदौ २८ सोमबार ०७:५५:००

दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको सर्लाहीको चुरेक्षेत्रका स्थानीयले बिरामी बोक्न अझै झोलुंगोको भर पर्नुपर्ने बाध्यता छ । भौगोलिक हिसाबले विकट सर्लाहीको चुरेक्षेत्रका बस्तीमा बिरामी बोक्न अझै पनि झोलुंगोको प्रयोग भइरहेको छ । कमजोर भौगोलिक बनाबटका कारण पटक–पटक बनाएको कच्ची सडकसमेत हरेक वर्षामा बग्ने गरेको छ । खोलाको बाटोसमेत बन्द भएपछि उनीहरूले अझै झोलुंगोमा बिरामी बोकेर अस्पताल लैजाने ल्याउने गरेका छन् । ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या छ । 

केही दिनअघि मात्र ईश्वरपुर नगरपालिका–१२, पिपल दमारका बालिमराज वाइबाका एक छिमेकी बिरामी परे । उनलाई तत्काल पूर्व–पश्चिम लोकमार्गस्थित अस्पताल ल्याउनुपर्ने भयो । बिरामीलाई अस्पतालसम्म लैजान वाइबालाई समस्या भयो । बिरामीलाई अस्पतालसम्म लैजान एम्बुलेन्स त परको कुरा, बाटोसमेत छैन । त्यसपछि उनीहरूले बिरामी बोक्न झोलुंगोको बन्दोबस्त गरे । किनकि बिरामीलाई अस्पतालसम्म लैजान उनीहरूले कस्सिएर तीन घन्टा हिँड्नुपथ्र्यो ।

गाउँमा भएका युवा र अधबैँसे गरी १०/१२ जना जम्मा भएर बिरामीलाई अस्पतालसम्म पुर्‍याए । यो सधैँको समस्या भएको वाइबाले गुनासो गरे । गाउँमा कोही बिरामी परे यसरी नै मिलेर झोलुंगोमा पालैपालो बोकेर घारीबथानसम्म पु¥याउने गरिएको छ । ‘हिउँदमा गाडी गुड्दा केही सहज हुन्छ, तर बर्खा लागेपछि जहिल्यै समस्या हो,’ वाइबाले भने, ‘यसरी बिरामीलाई अस्पताल लैजान पहिला तीन घन्टा हिँडेपछि बल्ल गाडी चड्ने ठाउँ घारीबथान पुगिन्छ ।’

ईश्वरपुर नगरपालिकास्थित साबिक कालिन्जोर गाविसमा पर्ने पिपदमार, लामिदमार, फूलजोर शीर, छोड्के, गुइडुङलगायतका आधा दर्जन बढी बस्तीमा यस्तो समस्या रहेको वाइबाले बताए । यस भेगका स्थानीयकोबाटो खोलाको बगर हुने गरेको छ । हिउँदमा जसोतसो बगरको बाटो हिँड्न सकिए पनि वर्षात्मा बाढीमा हेलिनुको विकल्प नरहेको उनीहरूको भनाइ छ । यसरी खोेलामा हेलिनु सानो जोखिम नरहेको उनले सुनाए । ‘कैयौँपटक म आफैँ बाढीमा बगेको छु,’ उनले भने ।

नारायणखोलाका स्थानीयको बर्खायाममा दैनिकी नै कष्टकर बन्ने गरेको लालबन्दी–१४, नारायण खोलाका वडाध्यक्ष सुवाइसिंह ब्लोनको भनाइ छ । उनका अनुसार स्थानीय हिजोआज बाढीमा हेलिएर पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी बजारसम्म ओहोरदोहोर गरिरहेका छन् । केहीले जोखिमपूर्ण हिसाबले खाद्यान्न ढुवानी गर्ने ट्याक्टरमा समेत यात्रा गर्ने गरेको उनले बताए । यसरी यात्रा गर्दा बाढी आइहाले बीचबाटोमा अलपत्र पर्नुबाहेक अरू विकल्प उनीहरूसँग छैन ।

गत असारदेखि नै खोलामा लगातारजसो बाढी आउँदा स्थानीयलाई आउजाउ गर्न मुस्किल परेको वडाध्यक्ष ब्लोनले बताए । ‘सामान्य बिरामीको गाउँमै प्राथमिक उपचार हुने गरेको छ, तर गम्भीर बिरामीलाई भने पत्थरकोटको छेडासम्म बोकेरै लैजाने गरेका छौँ,’ उनले भने, ‘छेडासम्म पुग्न शिर कालिन्जोरका स्थानीयलाई पाँच घन्टा र तल्लो भेगका स्थानीयलाई तीन घन्टासम्म लाग्छ ।’ सडक सञ्जालको राम्रो प्रबन्ध नभएको यस क्षेत्रमा विकास निर्माणले समेत गति लिन नसकेको स्थानीय रामसिंह वाइबाले बताए ।

बिरामी बोकेर अस्पतालसम्म पुर्‍याउनकै लागि वडा कार्यालयले साबिक नारायणखोला गाविसको नौवटा वडामा एक–एक थान र मोटरदोभानमा रहेको स्वास्थ्यचौकीलाई एक थान स्टेचर उपलब्ध गराएको छ । बर्खायाममा लालबन्दी नगरपालिका वडा नम्बर १४ र १५ का स्थानीयलाई आवत–जावतमा समस्या हुने गरेको लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काको भनाइ छ । 

लालबन्दी–१५, को शिर कालिन्जोर, कोरे खोप, भित्रीखोला, बाहुनी डाँडालगायतका बस्तीमा पनि यस्तै समस्या रहेको उक्त वडाका वडाध्यक्ष गोरखबहादुर बलले बताए । हिउँदमा खोलैखोला बगरको बाटो गाडी सञ्चालन भए पनि बर्खामा भने पालिकासँगको सम्पर्क नै टुट्ने गरेको छ । यस्तै, हरिवन नगरपालिका–१ मा पर्ने बेलडाँडा, वनमारा, सखुवनी तथा बागमती नगरपालिका–१ स्थित डुमाजोर शिरका स्थानीय पनि बर्खायाममा यातायात सेवाबाट वञ्चित हुनुपर्ने समस्या रहेको उनले बताए ।