मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
खानेपानीको अभावमा हात्तीखरे खोलामा धारा बनाएर पानी थाप्दै चुलाचुली–५ इमानेटारका स्थानीय ।
चिरञ्जीवी घिमिरे चुलाचुली (इलाम)
२०७८ भदौ २७ आइतबार ०७:४३:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

इलाम चुलाचुलीमा पौने तीन करोडको लिफ्टिङ खानेपानी योजना असफल : खोला र खोल्सीकै पानीको भरमा स्थानीय

Read Time : > 2 मिनेट
चिरञ्जीवी घिमिरे, चुलाचुली (इलाम)
२०७८ भदौ २७ आइतबार ०७:४३:००

इलाम चुलाचुली–५ इमानेटारका अमित प्रधानको घरै मास्तिर खानेपानीको ठूलो ट्यांकी छ । तर, त्यो ट्यांकीको पानी खानु अमिताका लागि ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भएको छ । उनीसहित इमानेटारका स्थानीय खानेपानीका लागि खोल्सीकै भर पर्नुपर्छ । स्थानीय हात्तीखरे खोलामा बग्ने पानीलाई त्यहाँका स्थानीयले धारा बनाएर प्रयोग गर्दै आएका छन् । करिब १५ घरले त्यहाँको खानेपानी प्रयोग गर्दै आएको अमित बताउँछन् । 

मावा खोलाबाट लिफ्ट गरेर ल्याइएको सिखरकटेरी खानेपानी आयोजना असफल भएपछि यहाँका स्थानीय खोला र खोल्सीको पानी बोकेर खान बाध्य छन् । करोडौँको आयोजना असफल भएपछि चुलाचुली–५ को सिखरकटेरी, इमानेटार, फुइँके, खरायोटार क्षेत्रका बासिन्दा खोला र खोला, खोल्सीको दूषित पानी प्रयोग गर्न बाध्य छन् । ‘खानेपानीको दुःखको त कुरै नगरौँ । बर्खामा खोलामा आएको पानीलाई धारा बनाएर खाइन्छ । हिउँदमा त यही पनि समस्या हुन्छ,’ अमित भन्छन्, ‘बर्खामा खानेपानी खोलाबाट करिब १५ मिनेट बोकेर खान्छौँ । गाईबस्तुलाई आकाशबाट परेको पानीलाई जम्मा गरेर राखेर दिन्छौँ ।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको निर्वाचन क्षेत्रका जनताले यस्तो नियति भोगिरहेका छन् । पूर्वप्रधनमन्त्री केपी ओलीको गृहनगर दमकको सिमानामा रहेका चुलाचुली क्षेत्रका बासिन्दा सधैँ सास्तीमा छन् । लिफ्टबाट पानी ल्याउने प्रयासले स्थानीयमा केही आस पलाएको थियो । तर, केही महिना धारामा पानी आएर बन्द भएपछि स्थानीय निराश भएका छन् । ‘हाम्रो क्षेत्रबाट यति ठूला नेताले जितेका छन् । तर, हाम्रा लागि के गरे ?’ अमित भन्छन्, ‘गर्न त गरे । के गरे गरे हामीलाई थाहै छैन ।’ 

गाउँमा पानीको असध्यै समस्या हुने गरेको इमानेटारकी स्थानीय विमला राई बताउँछिन् । ‘ढाड दुखिन्जेल बोकेर खानुपर्छ । बर्खामा त ठूलै आउँछ । हिउँदमा सानो हुन्छ । पानीको समस्या धरै छ,’ उनी भन्छिन्, ‘बर्खामा गाईबस्तुलाई आकाशबाट परेको पानी जम्मा गरेर दिन्छौँ । हिउँदमा त आफैँ बोकेर खुवाउनुपर्ने बाध्यता छ ।’

चुलाचुली–५ फुइँकेका स्थानीय मावा खोलामा बाढीसँगै आएको धमिलो पानीलाई बगरमा कुवा खनेर प्रयोग गर्दै आएका छन् । फुइँकेबाट दमकको दुम्से खानेपानीका लागि पानी लगिएको छ । स्थानीयको घरैअगाडि ट्यांकी छ । उनीहरूलाई सानो धारा छाडिदिएको छ । बर्खा लाग्नेबित्तिकै खोलाले धारो बगाउँछ । लिफ्टिङले आस मात्र देखाउँदा उनीहरू मावा खोलाको धमिलो पानी खान बाध्य छन् । ‘घरछेउमा ट्ंयाकी छ । दुम्से खानेपानीले सानो दिएको छ । त्यो पनि बर्खामा थुनिन्छ,’ फुइँकेकी कल्पना राई भन्छिन्, ‘बर्खामा त हामी खोला खनेर नै पानी खान्छौँ । पानीको दुःख भनिसध्य छैन ।’

लिफ्टिङ असफल भएपछि सास्ती 
चुलाचुली–५ को सिखरकटेरी, फुइँके, इमानेटार र खरायोटारका एक हजार ६ सय दुई परिवारका लागि मावा खोलाबाट लिफ्टिङ गरेर ल्याइएको सिखरकटेरी खानेपानी आयोजना एक मात्र खानेपानी आयोजना हो । आर्थिक वर्ष ०७५÷७६ मा डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय पाँचथरले निर्माण सुरु गरेको थियो । दुई करोड ७९ लाखमा निर्माण सम्पन भएपछि हाल इलाम खानेपानी तथा सरसफाइ कार्यालय पनि डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाले नै हेर्दै आएका कारण यो आयोजना झापाअन्तर्गत छ । 

मावा खोलाबाट लिफ्टिङ गरी खानेपानी डाँडामा पुर्‍याउने योजनासहित निर्माण सुरु गरिएको थियो । तर, निर्माण सम्पन्न भएसँगै मावा खोला गहिरिएर पानी तान्न समस्या भएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाका प्रमुख सयनकुमार श्रेष्ठ बताउँछन् । केही समय पानी चलाउनासाथ सबवेलमा बाढीले क्षति पुर्‍याएपछि खानेपानी वितरणमा समस्या भएको उनले बताए ।

मावा खोलामा बाढी नआउँदा अस्थायी रूपमा खानेपानी चलाउन सकिने उनी बताउँछन् । स्थायीका लागि भने तटबन्ध गर्न जरुरी रहेको उनको भनाइ छ । ‘त्यो ठाउँमा पानीको एकदम ठूलो समस्या छ । खोलामा बाढी नआउँदा अस्थायी रूपले चलाउन सकिन्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘तर, स्थायी रूपमा चलाउन एक किलोमिटर माथिबाट खोला तटबन्ध गर्नुपर्छ । त्यसका लागि ३५–४० लाख रुपैयाँ चाहिन्छ । यसपटक प्रदेशले कम बजेट दियो । पाँच लाख मात्र यो आयोजनाका लागि छुट्याएका छौँ ।’