१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अजित अधिकारी काठमाडौं
२०७८ भदौ २४ बिहीबार १०:३३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

आयल निगमका देशभरका डिपो प्रमुख हेरफेर, थानकोट डिपोमा भुसाल

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ भदौ २४ बिहीबार १०:३३:००

नेपाल आयल निगम लिमिटेडले देशभरका अधिकांश डिपो प्रमुख हेरफेर गरेको छ। डिपो प्रमुखहरूकै काँधमा मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्ने जिम्मेवारी हुने भएकाले प्रत्येक वर्ष हुने डिपो प्रमुख हेरफेरलाई महत्वपूर्ण रूपमा लिने गरिन्छ।

सबैभन्दा बढी चुनौतीपूर्ण मानिएको काठमाडौंको थानकोट डिपोमा प्रबन्धक शैलेन्द्र भुसाललाई ल्याइएको छ। अहिले यहाँ प्रबन्धक अभिषेक ठाकुर कार्यरत छन्। गत फागुन अन्तिम साता थानकोट पुगेका ठाकुरको कार्यशैलीलाई लिएर कर्मचारी, पेट्रोलियम व्यवसायी र पेट्रोलियम मजदुरको बारम्बार गुनासो आएपछि उनलाई छोटो समयमा व्यवस्थापनले सरुवा गरेको हो। ठाकुर केन्द्रीय कार्यालय तानिएका छन्।

काठमाडौं उपत्यकासहित बागमतीका अधिकांश जिल्लामा इन्धन वितरण गर्ने थानकोटमा सरुवा भएका भुसाल निगम प्रवेश गरेको  आठ वर्षयता पहिलोपटक डिपो प्रमुख भएका हुन्। सबैभन्दा आकर्षक मानिएको डिपोबाट करिअरकै पहिलो ‘कार्यालय प्रमुख’ हुने उनी भाग्यमानी कर्मचारी हुन्। उनी अहिले लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा सहायक कार्यालय प्रमुखका रूपमा कार्यरत छन्। त्यहाँ उनले करिब अढाई वर्ष बिताएका छन्। भुसालसँग केन्द्रीय कार्यालयस्थित इन्जिनियरिङ विभागमा करिब चार वर्ष काम गरेको अनुभवसमेत छ ।

त्यस्तै, निगमको १ नम्बर प्रादेशिक कार्यालय विराटनगरमा निमित्त निर्देशक अशोक शाहलाई सरुवा गरिएको छ। एक वर्षअघि सोही ठाउँमा उत्कृष्ट कार्य सम्पादन गरेर उनी फर्किएका थिए। हाल उनी इन्जिनियरिङ तथा परियोजना विभाग प्रमुखका रूपमा कार्यरत छन्। यहाँ रहँदा उनले देशभरका डिपो रि–इन्जिनियरिङ गर्ने, नयाँ केन्द्रीय कार्यालय ठेक्का लगाउने, पोखरा डिपोमा १० हजार किलोलिटर क्षमताको दुईवटा डिजेल भर्टिकल ट्यांक बनाउने, पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई डिपो स्थापना गर्नेलगायतका काम गरेका छन्।

इन्जिनियरिङ विभाग प्रमुख रहेर उत्कृष्ट कार्य सम्पादन गरेकै कारण शाहले रोजेको ठाउँमा पुनः डिपो प्रमुख बनाएर पठाएको निगम स्रोतले भनाइ छ। निगमको १ नम्बर प्रादेशिक कार्यालय विराटनगरमातहतकै झापा (चारआली) स्थित शाखा कार्यालयमा भीम विश्वकर्मालाई पठाइएको छ। त्यहाँ कार्यरत मनीष न्यौपानेलाई विराटनगर डिपो सरुवा गरिएको छ।

गण्डकी प्रादेशिक कार्यालय पोखरा (गगनगौँडा)मा इन्दु शर्मालाई पठाइएको छ। यसपटकको हेरफेरमा महिला डिपो प्रमुखको जिम्मेवारी पाउने उनी एक्लो व्यक्ति हुन्। सबै डिपो प्रमुखलाई कार्यक्षमता र आवश्यकताका आधारमा व्यवस्थापनले पठाए पनि शर्माले उच्च राजनीतिक तथा प्रशासनिक पहुँच प्रयोग गरी डिपो प्रमुख भएकी बताइएको छ। निगम व्यवस्थापनले भने पोखरा डिपो प्रमुखमा प्रबन्धक मनोहर डिसीलाई पठाउन चाहेको थियो।

पोखरा डिपो प्रमुखमा कार्यरत पुस्कर कार्कीलाई केन्द्रीय कार्यालय तानिएको छ। पछिल्लो तीन वर्षमा देशभरका कार्यालयमध्ये सबैभन्दा लामो समय (१८ महिना)  डिपो प्रमुख भएर कार्कीले नै काम गरेका थिए।

अर्को ठूलो डिपो लुम्बिनी प्रादेशिक कार्यालय भैरहवामा प्रबन्धक नवविनोद पोख्रेललाई पठाइएको छ। उनी हाल केन्द्रीय कार्यालयस्थित प्रशासन विभागमा कार्यरत छन्। भैरहवाको सहायक कार्यालय प्रमुखमा मनोहर डिसीलाई पठाइएको छ। पोखरा डिपो प्रमुखमा उनको नाम प्रस्ताव गरिए पनि अन्तिम समयमा काटिएको थियो। त्यसपछि व्यवस्थापनले सिनामंगलस्थित हवाई इन्धन डिपो प्रमुख हुन डिसीलाई प्रस्ताव गरे पनि उनले इन्कार गर्दै भैरहवा छनाेट गरेको स्रोतले बतायो।

दुई वर्षअघि पनि डिसीले नेपालगन्जमा पोख्रेलसँगै काम गरेका कारण भैरहवा पनि सँगै जान चाहेको स्रोतको भनाइ छ। ‘दुई वर्षअघि नेपालगन्जमा डिपो प्रमुख पोख्रेल र हवाई इन्धन डिपो प्रमुख डिसी थिए। त्यहाँ दुवैले मिलेर काम गरेका थिए,’ स्रोतले भन्यो, ‘त्यसैले यसपटक पनि भैरहवामा मिलेर काम गर्न खोजेका होलान्।’

भैरहवामा कार्यरत कार्यालयप्रमुख प्रबन्धक प्रलयंकर आचार्यको एकवर्षे कार्यकाल पूरा भएकाले सरुवा गरी केन्द्रीय कार्यालय तानिएको छ। उनलाई महत्वपूर्ण मानिएको इन्जिनियरिङ विभाग प्रमुखको जिम्मेवारी दिने तयारी छ।

इन्धन डिपो, नेपालगन्जमा दीपक घिमिरेलाई पठाइएको छ। हल केन्द्रीय कार्यालयमा रहेका उनी त्यसअघि कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा प्रमुख भएर काम गरेका थिए। त्यहाँ रहँदादेखि उनले कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको मन जितेका थिए। एक वर्षअघि केन्द्रीय कार्यालय आएका उनी कार्यकारी निर्देशक पौडेल निकटमै रहेर काम गरिरहेका छन्। उनले मागेअनुसार नै नेपालगन्ज सरुवा भएका हुन्। त्यहाँ कार्यरत कमला न्यौपानेलाई एकवर्षे कार्यकाल सकिएपछि केन्द्रीय कार्यालय तानिएको छ।

कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतमा शिवराज भण्डारीको ठाउँमा केन्द्रीय कार्यालयस्थित वितरण विभागमा कार्यरत राजकुमार केसीलाई पठाइएको छ। केन्द्रीय कार्यालयमा रहनुअघि केसी विराटनगरस्थित हवाई इन्धन डिपो प्रमुख थिए। सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीमा भने दुई महिनाअघि नै रामकुमार न्यौपानेको सरुवा भइसकेको छ। त्यहाँ कार्यरत चित्तरञ्जन दासको गुनासो बढेपछि न्यौपानेलाई चाँडै पठाइएको हो। एक वर्ष केन्द्रीय कार्यालयमा बिताएका न्यौपाने त्यसअघि वीरगन्ज कार्यालय प्रमुख थिए।

निगमको सबैभन्दा बढी विवादमा आउने जनकपुर शाखा कार्यालयमा टीकाजंग थापाको सरुवा भएको छ। हाल हवाई इन्धन डिपो सिनामंगलमा कार्यरत थापाले सो ठाउँ रोजेर गएका हुन्। तीन वर्षअघि करिब आठ महिना सोही ठाउँमा प्रमुख भएर बिताएका थापाले पेट्रोल पम्प तथा ट्यांकर ढुवानी व्यवसायी, चालक र मजदुरहरूको मन जितेर काम गरेको रेकर्डका आधारमा यसपटक त्यहीँ सरुवा गरिएको हो। त्यहाँ कार्यरत मनोज शाह भने बारम्बार विवादमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले उनीमाथि छानबिन गर्न निगमलाई निर्देशन दिएको थियो।

यसका अलवा, निगमका निमिक्त निर्देशक मनोज ठाकुरलाई पोखरास्थित डिजेलको भर्टिकल ट्यांक र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन हवाई इन्धन डिपो परियोजना हेर्ने गरी सरुवा गरिएको छ।