मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २३ बुधबार १७:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय जनगणना २५ कात्तिकदेखि ९ मंसिरसम्म

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २३ बुधबार १७:०७:००

राष्ट्रिय जनगणना आगामी २५ कात्तिकदेखि ९ मंसिरसम्म हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार काठमाडौंमा पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दै कोरोना महामारीका कारण स्थगन गरिएको राष्ट्रिय जनगणनाबारे जानकारी दिएको हो ।
 
कोरोनाको दर घटिरहेको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य रूपले चलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय जनगणना पुनः सञ्चालन गर्ने निर्णय गरेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । उनका अनुसार आगामी जनगणना १२औँ शृंखलाको हुनेछ भने जनगणनामा ३९ हजार गणक, आठ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा तीन करोड जनसंख्याको गणना १५ दिनमा गर्नेछन् । जनगणना गर्ने कार्य जटिल भएको र यस जनगणनामा हरेकको घरदैलोमा पुगेर सम्पूर्ण घर, सम्पूर्ण परिवार र सम्पूर्ण व्यक्तिको गणना गरिने उनले बताए । 

उनले भने, ‘विगत तीन महिनायता अवस्था सहज छ, लकडाउनको अवस्था पनि छैन, कोरोना संक्रमणको दर पनि न्यून भइरहेको छ, अब जनगणना गर्न सक्ने अवस्था भएकोले जनगणना गर्न लागेका हौँ, यो अत्यन्त जटिल काम पनि हो, एउटा निश्चित विधि, अवधारणा, परिभाषालाई अंगीकार गरिकन निश्चित समयमा मुलुकका सम्पूर्ण घर, परिवार र व्यक्तिहरूको गणना गर्नुपर्छ र हरेक व्यक्तिको घरदैलोमा पुग्नुपर्छ, त्यसकारण यो च्यालेन्जिङ छ, हालसम्म सातवटै प्रदेशमा सातवटा प्रदेश जनगणना कार्यालय, ७७ जिल्लामा ८० वटा जिल्ला जनगणना कार्यालय रहेको र सात सय ५३ स्थानीय तहका लागि तीन सय ४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गर्न लागेका छौँ, आगामी जनगणना १२ औँ शृंखलाको हुनेछ भने जनगणनामा ३९ हजार गणक, आठ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा तीन करोड जनसंख्याको गणना १५ दिनमा गर्नेछन् ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जतिसक्दो छिटो गणकको छनोट गर्नुपर्ने बताए ।