Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ भदौ २३ बुधबार १३:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समाजवादी र माओवादी गठबन्धनले सुदूरपश्चिम सरकार बहुमतमा

Read Time : > 1 मिनेट
२०७८ भदौ २३ बुधबार १३:३७:००

सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एकीकृत समाजवादी र दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र मिल्दा सरकार बहुमतमा पुगेको छ।  दुई दलको प्रस्ट बहुमत रहेकाले विगतमा एमालेमा रहँदाकै सत्तागठबन्धनलाई निरन्तरता दिइने एकीकृत समाजवादीका सांसदहरूले बताएका छन्।  

एमालेमा हुँदादेखि नै माधव नेपाल समूह माओवादी नेतृत्वको सरकारमा सत्तासाझेदार रहँदै आएको छ। नेपाल समूहमा रहेका बहुमत सांसद उनी नेतृत्वको एकीकृत समाजवादीमा गएसँगै सरकारमा विगतकै गठबन्धनले निरन्तरता पाउने भएको हो।   

समाजवादीका केन्द्रीय सदस्यसमेत रहेकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले दुई दलको स्पष्ट बहुमत रहेकाले तत्काल सरकार फेरबदल नहुने बताएकी छिन्। मन्त्रिपरिषद् भने हेरेफेर हुने उनले बताइन्।  ‘हामी स्पष्ट बहुमतमा छौँ, त्यसैले अब पनि यही गठबन्धन कायम रहन्छ,’ जोशीले भनिन्, ‘मन्त्रिमण्डल हेरफेर हुन सक्छ। त्यो अवस्थामा दुई दलभित्रैबाटै मन्त्री हेरफेर हुन्छन्।’ दुई दलको प्रस्ट बहुमत रहेकाले कांग्रेसलगायत दललाई सरकारमा ल्याउने कुनै तयारी नरहेको उनको भनाइ छ।   

एमाले र माओवादीबीचको तिक्तता र एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि गत १० जेठको एमाले स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, संसदीय दलमा बहुमतमा रहेको नेपाल समूहले सत्तागठबन्धन कायम राखेको थियो। स्थायी कमिटीको निर्णयलाई चुनौती दिँदै २५ जेठमा नेपालनिकट १७ सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए।   

तीमध्ये १३ जना समाजवादीमा लागेका छन्। ओली पक्षबाट एक सांसद थपिएसँगै समाजवादीको पक्षमा १४ सांसद पुगेका छन्। माओवादीका १३ सांसद गरेर सरकार गठनका लागि चाहिने २७ मत पुग्छ। सरकारमा नेपाल समूहका सातजना मन्त्री थिए। तीमध्ये आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराज एमालेमै रहेका छन्।  

ती ठाउँमा नयाँ मन्त्री नियुक्त गर्नेबाहेक मन्त्रिमण्डल तत्काल हेरफेर नहुने माओवादीका एक सांसदले बताए। प्रदेशमा बहुमतमा पुगेका दुई दलले सरकारमा तत्काल अरू दललाई नलगिने बताएका छन्। तर, केन्द्रमा बनेको गठबन्धनअनुसार केन्द्रकै सहमतिमा कांग्रेस पनि सरकारमा जाने सम्भावना छ।  

५३ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रले एकजनालाई हटाएपछि हाल ५२ सदस्यीय छ।  सांसद झपटबहादुर बोहाेरा एमालेमा प्रवेश गरेपछि माओवादीले उनलाई हटाएको थियो। विगतकै गठबन्धनलाई कायम राख्न सरकारमा दुई पार्टीको बहुमत पुग्ने गरी आफ्नो पक्षमा सांसद जुटाउने कसरतमा समाजवादीका नेताहरू लागेका थिए। केन्द्रमा गठबन्धन भए पनि प्रदेशमा स्पष्ट बहुमत रहेकाले सरकारमा तत्काल कांग्रेस वा जसपाको सहभागिता नहुने सत्तारुढ दलका नेताहरूले दाबी गरेका छन्।