मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सामूहिक हत्याकाण्ड भएको संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँ
नवीन गुरुङ संखुवासभा
२०७८ भदौ २२ मंगलबार ०६:२८:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एकै परिवारका  ६ जनाको सामूहिक हत्या

Read Time : > 6 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ भदौ २२ मंगलबार ०६:२८:००

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा सोमबार बिहान एकै परिवारका ६ जनाको शव भेटिएको छ । शरीरमा गम्भीर चोट भएकाले उनीहरूको सामूहिक हत्या भएको प्रहरी आकलन छ । घरको आँगन र खरबारीमा छरिएको अवस्था शव भेटिएको हो ।

घटनास्थलमा के देखियो ?

घटनास्थल हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरिएकोजस्तो देखिएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । ‘अहिले नै कसले, किन र कसरी हत्या गरे भन्ने यकिन गर्न सकिने अवस्था छैन,’ डिएसपी सुवेदीले भने, ‘अहिलेसम्म शवको जाँच पनि गरिएको छैन । घटनास्थल सिल छ । धरानबाट तालिमप्राप्त कुकुरसहितको विज्ञ टोली आएपछि मात्रै लास हेर्ने काम हुन्छ ।’ 

८४ वर्षीया पार्वती कार्की, निजको छोरा ५२ वर्षीय तेजबहादुर, तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, रञ्जनाका ११ वर्षीय छोरा दीपेन र सात वर्षीया छोरी गोमा कार्कीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए । घरमूली ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल नै रहेका छन् । 

घटनास्थल हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरिएकोजस्तो देखिएको र विशेषज्ञसहितको टोलीद्वारा अनुसन्धान थालिएको डिएसपी सुवेदीले बताए । प्रत्यक्षदर्शीका अनुसार घटनाको प्रकृति हेर्दा भाग्ने क्रममा कसैले लखेटी–लखेटी हत्या गरेकोजस्तो देखिन्छ । घटनाबारे प्रारम्भिक अनुसन्धानबाट एकैजनाले घटना घटाएकोजस्तो नदेखिने प्रहरीको भनाइ छ ।

‘घटनाको जानकारी प्राप्त हुनेबित्तिकै सोमबार दिउँसो घटनास्थल पुगेर घटनाको प्रारम्भिक छानबिन सुरु भइसकेको छ । अहिले नै कसले, किन र कसरी हत्या गरे भन्ने यकिन गर्न सकिने अवस्था छैन,’ डिएसपी सुवेदीले भने, ‘अहिलेसम्म शवको जाँच पनि गरिएको छैन । घटनास्थल सिल गरेर राखिएको छ । धरानबाट तालिमप्राप्त कुकुरसहितको विज्ञ टोली आएपछि मात्रै लास हेर्ने काम हुन्छ ।’ 

घटना कसरी सार्वजनिक भयो 
मादी– १ का वडाध्यक्ष खेमनाथ कटुवाललाई सोमबार बिहान करिब ९ बजेतिर स्थानीय ठाकुरसिंह खतिवडाले फोन गरेर घटनाको बेलिविस्तार लगाए । जानकारी पाएलगत्तै वडाध्यक्ष कटुवाल पनि घटनास्थल पुगेर प्रहरीलाई जानकारी दिएका हुन् । ठाकुरसिंह मृतक कमला कार्कीको बहिनीका छोरा हुन् । ठाकुरसिंह केही अगाडि काठमाडौं गएर फर्किएकाले ठूलीआमा (आमाको दिदी)लाई आफन्तले पठाइदिएका कोसेली पुर्‍याउन त्यहाँ गएका थिए । 

उनले पार्वती कार्कीको शव देखेपछि आत्तिएर वडाध्यक्षलाई खबर गरेका हुन् । तेजबहादुरको लास घरनजिकै सडकको भित्तामा भेटिएको थियो । त्यसैगरी सासु–बुहारी कमला र रञ्जनाको लास घरभन्दा केही पर खोल्सामा लडिरहेको अवस्थामा फेला परेको थियो भने नाति–नातिनी दीपेन र गोमाको लास खरबारीमा मृत भेटिएको प्रहरीले जनाएको छ । घरमूली बौद्धमान भने सकुशल रहेका छन् । आँखा कम देख्ने र कान कम सुन्ने बौद्धमान सकुशल रहेको प्रहरीले जनाएको छ । बौद्धमानले राति केही थाहा नपाएको बताएका छन् । 

वडाध्यक्ष कटुवालले आफ्नो गाउँमा अचम्मैको घटना घटेको भन्दै आश्चर्य व्यक्त गरे । उनले भने, ‘तेजबहादुर गाउँमा शालीन व्यक्ति थिए । अहिलेसम्म कुनै मुद्दामामिला र झैझगडा भयो भनेको सुनेको छैन । गाउँमा कसैलाई बिझाउने मान्छे थिएनन्,’ वडाध्यक्ष कटुवालले थपे, ‘गाउँमा डेढतले ढुंगा–माटाको कच्ची घरमा बस्दै आएका थिए । आफ्नै खेतीपाती गर्ने र गाउँमै रमाउने मान्छे हो । कसैलाई केही भनेको, जालझेल गर्ने मान्छे भनेर चिनेको थिइनँ ।’

जिल्ला नै सिल

संखुवासभाका प्रजिअ टेकनारायण पौडेल भन्छन्, ‘सबैजसो लास घोप्टो परेको अवस्थामा भेटिए । घटनास्थल सुरक्षाकर्मीले घेरेर राखिएको छ । अभियुक्त भाग्न नपाओस् भनेर जिल्लाका सबै नाका र छिमेकी जिल्लाहरूमा समेत चेकजाँच कडाइ गरिएको छ ।’

तेजबहादुरको दुईजना छोरा हुन् । जेठीबुहारी रञ्जनाका श्रीमान् रमेश कार्की वैदेशिक रोजगारमा मलेसियामा रहेका छन् भने कान्छा छोरा पनि वैदेशिक रोजगारमै रहेका छन् । कान्छोको सपरिवार तराईमा बस्दै आएका छन् । जेठा छोरा रमेशले तराईमा नै जग्गा जोड्नका लागि बुबा तेजबहादुरलाई पैसा पठाएको र केही अगाडि बैनाबट्टा गरेका थिए । र, जग्गा रजिष्ट्रेसन पास गर्न जानलाई केही रकम जम्मा गरेको थियो भन्ने सुन्नमा आएको वडाध्यक्ष कटुवालको भनाइ छ । आर्थिक कोणबाट पनि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । 

कसैले थाहा पाएनन् 
उम्लिङमा बौद्धमानको घर केही एकान्तमै पर्छ । बौद्धमानको घरभन्दा केही माथि छिमेकीका घरहरू रहेका छन् । बौद्धमानको घरमुनिबाट मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि उम्लिङ हुँदै गुराँसको राजधानी चौकीमंगलबारे निस्कने कच्ची मोटरबाटोले छोएको छ । घरको वरपर दुवैपट्टि साना–साना खोल्सा र जंगलहरू रहेका छन् ।     घटना रातको समयमा भएको प्रहरी र स्थानीयले अनुमान गरेका छन् । गाउँले छिमेकीहरूले कुनै चीत्कार र हारगुहार नसुनेको बताएको प्रहरीको भनाइ छ । 

संखुवासभाका प्रजिअ टेकनारायण पौडेलले प्रारम्भिक घटना हेर्दा हत्या भएकोजस्तो देखिएको बताएका छन् । ‘सबैजसो लासहरू घोप्टो परेको अवस्थामा भेटिएको छ । घटनास्थल सुरक्षाकर्मीले घेरेर राखिएको छ,’ उनले भने, ‘अभियुक्तहरू भाग्न नपाओस् भनेर जिल्लाका सबै सम्भावित नाका र छिमेकी जिल्लाहरूमा समेत चेकजाँचलाई कडाइ गर्न अनुरोध गरिएको छ ।’

को–को मारिए ?
संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा सोमबार बिहान एकै परिवारका ६ जनाको शव भेटिएको छ । शरीरमा गम्भीर चोट भएकाले उनीहरूको सामूहिक हत्या भएको प्रहरी आकलन छ । घटनामा ८४ वर्षीया पार्वती कार्की, उनको छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी (तेजबहादुरकी श्रीमती) ५२ वर्षीया कमला, नातिनी बुहारी (तेजबहादुरकी बुहारी) ३२ वर्षीया रञ्जना, पनाति र पनातिनी (रञ्जनाका ११ वर्षीय छोरा दीपेन र सात वर्षीया छोरी गोमा कार्की)को शव भेटिएको छ । घरमूली ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल नै छन् ।

आफन्तबाटै धेरै मारिन्छन् 
हत्याका घटना धेरैजसो आफन्त तथा परिवारबाटै हुने गरेको प्रहरी तथ्यांक छ । प्रहरीले गत वर्ष गरेको एक अध्ययनअनुसार चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६ सय ८४ जनाको हत्या भएको देखाएको थियो ।

श्रीमान्ले श्रीमतीको, श्रीमतीले श्रीमान् र बाबुआमाले छोराछोरीदेखि छोराछोरी तथा छोराबुहारीले आमाबाबु तथा सासू–ससुरासम्मको हत्या गरेका धेरै घटना छन् । चार वर्षमा श्रीमान्बाट दुई सय ७५ जना श्रीमतीको तथा श्रीमतीबाट ५८ जना श्रीमान् मारिएका थिए ।

हत्यामध्ये धेरैजसो घटना आफन्तबाट हुने गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कँुवरले बताए । त्यसबारे पछिल्लो तथ्यांकको विश्लेषण भइरहेको उनको भनाइ छ । 

सामूहिक हत्याका शृंखला 

१. ललितपुरको बडिखेल हत्याकाण्ड 
मिति : १६ असोज ०६० 
मृतक : पाँच 
कारण : अनैतिक सम्बन्धको आशंका र मदिरा 

२. रुपन्देहीको तिलोत्तमा हत्याकाण्ड
घटना मिति : २ जेठ ०७७ 
मृतक : चार 
हत्याको कारण : चरित्र हत्या गरेको प्रतिशोध, मानसिक समस्या 

३. पाँचथरको आरुबोटे हत्याकाण्ड 
मिति : ७ जेठ ०७६
मृतक : नौजना 
हत्याको कारण : डिप्रेसन, पारिवारिक तनाव 

४. लमजुङको भोटेओडार हत्याकाण्ड
घटना मिति : १५ असोज ०७१ 
मृतक : चार 
कारण : पारिवारिक विवाद 

५. सल्यान रानागाउँ हत्या 
घटना मिति : १५ वैशाख ०७३ 
मृतक संख्या : चार 
कारण : यौन तृष्णा 

सामूहिक हत्या : डिप्रेसन, यौन, सम्पत्ति र आवेग

मनोचिकित्सक डा. कपिलदेव उपाध्यायका अनुसार कुनै मानिस कस्तो समाजमा हुर्किएको छ भन्नेले उसको रिस, प्रतिशोधजस्ता कुरा निर्भर गर्छ । हाम्रो समाजका मान्छेमा रिस, आवेग र प्रतिशोध धेरै छ ।

सामूहिक हत्या : डिप्रेसन, यौन, सम्पत्ति र आवेग
देशमा सामूहिक हत्याका घटना बढ्दै गएको प्रहरी तथ्यांक छ । यसमा प्रतिशोध, डिप्रेसन, यौन सम्बन्ध, सम्पत्ति तथा आवेगसम्बन्धी कारण प्रमुख रहेको प्रहरीले जनाएको छ । सामूहिक हत्या प्रायः एकै व्यक्तिबाट भएका छन् ।

सामूहिक हत्याको पछिल्लो सबैभन्दा ठूलो घटना डेढ वर्षअघि पाँचथरको मिल्काजुङ गाउँपालिकाको आरुबोटेमा भएको थियो । बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको नौजना परिवारको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । बमबहादुरकै कान्छा ज्वाइँ मानबहादुर माखिमले हत्या गरेर आत्महत्या गरेका थिए । डिप्रेसनको रोग, पारिवारिक तथा आर्थिक समस्या घटनाको प्रमुख कारण देखिएको थियो । उनकी श्रीमती माइत बस्दै आएकी थिइन् । श्रीमती लिन जाँदा नआएको र ससुराली र साढुदाइको परिवारका कारण आपूmलाई श्रीमतीले छाडेको रिसमा उनले यसरी सामूहिक हत्या गरेको आकलन गरिएको थियो । हत्यापछि उनले रूखमा झुन्डिएर आत्महत्या गरेका थिए । 

२ जेठ ०७७ मा रुपन्देहीको तिलोत्तमामा पाँचजनाको सामूहिक हत्या भएको थियो । गादेवी पशु फार्ममा काम गर्ने रुपन्देहीको सैनामैना नगरपालिका– ५ दरखासी घर भएका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३७ वर्षीया जानकी, १६ वर्षका पोषराज मुसहर, १५ वर्षका करण चौधरी र १६ वर्षका आशिष चौधरीको हत्या गरेका थिए । आपूmलाई पशुसँग जोडेर बारम्बार जिस्क्याउने गरेको र चरित्रहत्या गरेकाले त्यसकै आवेगमा आएर हत्या गरेको बयान उनले दिएका थिए । उनमा मानसिक समस्या पनि देखिएको थियो । 

सामूहिक हत्याको अर्काे बहुचर्चित घटना बडिखेल हत्या प्रकरण हो । १८ असोज ०६० मा ललितपुरको बडिखेलमा भानु नगरकोटी, उनकी श्रीमती, दुई छोरी र एक छोराको धारिलो हतियार प्रयोग गरी हत्या भयो । घटनाको १२ वर्षपछि प्रहरीले हत्याका अभियुक्त चन्द्रबहादुर प्रहरीलाई पक्राउ गरेको थियो । उनी भानुका जेठान हुन् । ज्वाइँको आफ्नो श्रीमतीसँग सम्बन्ध रहेको आशंकाका आधारमा उनले यस्तो हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । मदिराको नशामा उनले त्यसरी हत्या गरेका थिए । 

०७३ को वैशाखमा सल्यानको रानागाउँमा एक युवकले चारजनाको हत्या गरेका थिए । स्थानीय सञ्जय भारतीले सीता खाण, उनकी बहिनी गीता र सीताका दुई बच्चाको हत्या गरेका थिए । यो घटनाको कारण यौनइच्छा देखिएको थियो । ती महिलासँग उनले यौन सम्बन्ध राख्न खोजेको र नमानेपछि यसरी सामूहिक हत्या गरेका थिए । अतृप्त यौन चाहना घटनाको प्रमुख कारण देखिएको थियो । 

लमजुङको भोटेओडारमा सात वर्षअघि एकै परिवारका चारजनाको हत्या भएको थियो । १५ असोज ०७१ मा ६० वर्षका अर्जुनप्रसाद रेग्मी, ३५ वर्षकी रिना घिमिरे, १४ वर्षकी ज्योति रेग्मी र १२ वर्षका विकास घिमिरेको हत्या भएको थियो । घटनामा अर्जुनका जेठा छोरा राममणि रेग्मीको संलग्नता देखिएको थियो । पारिवारिक विवादमा उनले नै त्यसरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 

१६ कात्तिक ०७६ मा गुल्मीको चन्द्रकोटमा तीनजनाको हत्या भएको थियो । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भई हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षीया सरिता भन्ने शिवमाया लिम्बू र उनका सात वर्षीयन जुम्ल्याहा छोरी गंंगा र जमुनाको हत्या भएको थियो । हत्या आरोपमा प्रहरीले बाग्लुङको गलकोटका पूर्णबहादुर सुनार र माधव सुनारलाई पक्राउ गरेको थियो । 

मनोचिकित्सक डा. कपिलदेव उपाध्याय यस्ता घटना सामाजिक तथा मानसिक परिस्थितिको उपज भएको बताउँछन् । ‘कुनै पनि मान्छे कस्तो समाजमा हुर्किएको छ भन्ने कुराले उसको रिस, प्रतिशोधजस्ता कुरा निर्भर हुन्छ,’ उनी भन्छन्, ‘हाम्रो समाजमा मान्छेहरूमा रिस, आवेग र प्रतिशोध धेरै हुन्छ, यस्ता घटनामा मान्छेको हुर्काइको प्रभाव हुन्छ ।’ 
 
सामूहिक हत्याका घटनाको ठ्याक्कै प्रवृत्ति नै विश्लेषण गर्न गाह्रो हुने प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बताउँछन् । ‘हरेक घटनाको फरक–फरक कारण हुन्छन्,’ उनी भन्छन्, ‘सामूहिक हत्याका घटना किन बढ्दै छन् भनेर थप अध्ययन हुनुपर्छ ।’ 

अधिवक्ता सुवास आचार्य देश र समाजका समस्याले नागरिकमा फ्रस्टेसन बढेको र त्यसले यस्ता अपराध जन्माएको बताउँछन् । समाजमा सुधार नआए आगामी दिनमा यस्ता घटना झन् बढ्ने उनको विश्लेषण छ ।