विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसियाको ७४औँ सत्र तथा क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक सोमबारदेखि सुरु हुँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैठक आयोजना गरेको हो । पाँच दिनसम्म चल्ने बैठकमा दक्षिण–पूर्वी एसियाका ११ देशले सहभागिता जनाउने भएका छन् । कोभिड महामारीका कारण सबै प्रतिनिधि जुम मिटिङमा मात्रै सामेल हुनेछन् । नेपालका डब्लुएचओ प्रतिनिधि भने भौतिक रूपमा सहभागी हुँदै छन् ।
आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालले गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको बताए । ‘हामीले ११ वर्षपछि पुनः आयोजक राष्ट्रको रूपमा बैठक गर्ने अवसर पाएका छौँ । कोभिड महामारीको वेला आयोजना हुने बैठक दक्षिण–पूर्वी एसिया क्षेत्रकै लागि महत्वपूर्ण हुनेछ । महामारी मात्रै होइन, नसर्ने रोग, स्वास्थ्यको सर्वव्यापी पहुँचलगायतका विषयवस्तुमा पनि विशेष छलफल हुनेछन्,’ उनले भने ।
डब्लुएचओलाई भने सम्मेलनमा सहभागी हुने भिआइपीलाई राख्ने र खाजा खुवाउने ठाउँको व्यवस्थापन गर्न समस्या भएको छ । उसले र्याडिसन होटेललाई खाजाको जिम्मा दिएको छ । तर, खाजा खाने कोठा नपाएपछि स्टोर खाली गराउन लगाएको छ । स्टोरमा पनि कोरोनाको समयमा मन्त्रालयका ड्राइभर सुतेका कारण सहज नभएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयमा आवश्यकभन्दा बढी कोठा छन् । तर, मन्त्रालयका अधिकांश कोठा एनजिओ/आइएनजीओले कब्जा गरेका छन् । गैरकानुनी रूपमा आइएनजीओले कब्जा गर्दा आवश्यक पर्दा उपयोग गर्न सकिएको छैन । स्वास्थ्य मन्त्रालयमा विनासम्झौता एनएचएसएसपी बसिरहेको छ । उसले पूरै एउटा महाशाखा अट्ने हल कब्जा गरेको छ । आइएनजिओमा डा.सुरेश तिवारी र डा. सुशील बराल आबद्ध छन् ।