१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २० आइतबार ०९:२१:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘मिस क्याटवाक’को २५ वर्ष : उस्तै प्रिय, उत्तिकै प्यारो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २० आइतबार ०९:२१:००

सन् १९९६ को सुरुवाती महिनामा गायक निमा रुम्बाको सोलो एल्बम बजारमा आयो । त्यो एल्बम फोटोग्राफर अनिल स्थापितको हारुती क्यासेट सेन्टरमार्फत सार्वजनिक भएको थियो । निर्माता उनै स्थापित थिए । एल्बम बजारमा आएपछि स्थापितले रुम्बालाई भने, ‘भूषण दाहाल दाइले तिमीलाई खेज्नुभएको छ, टिक एन्ड टकमा तुरुन्त जानू ।’

त्यसवेला अहिलेजस्तो टेलिभिजनहरू थिएनन् । त्यसकारण पनि रुम्बाका लागि सरप्राइज थियो, दाहाललाई भेट्नु । तर, के उद्देश्यका लागि भेट्न खोजेका होलान् भन्नेमा उनी पक्का थिएनन् । तैपनि, टिक एन्ड टकको अफिस गए । दाहाललाई दरबारमार्गको अफिसमा भेटे । उनले भने, ‘म त भूषण दाइलाई भेट्न जाँदै गर्दा नर्भस थिएँ । दाइको सन्डे पप प्रोगाम हेर्थें । दाइ पपुलर बनिसक्नुभएको थियो ।’ 

स्थापितले दाहाललाई भेट्न जाँदा नयाँ गीत लिएर जानु भनेका थिए । रुम्बाले पनि ‘जुनेली रातमा’ र ‘मिस क्याटवाक’ गीत लिएर गएका थिए । दाहाललाई भेटेपछि झनै सरप्राइज भए, रुम्बा । दाहालले उनको एउटा गीतको म्युजिक भिडियो निर्देशन गरिदिन लागेका रहेछन् । र, दाहालले ‘मिस क्याटवाक’ छनोट पनि गरे । 

सन् १९९१ बाटै गायनमा सक्रिय रहे पनि रुम्बाको गीतको भिडियोचाहिँ बनेको थिएन । तर, दाहालसँगको त्यही भेटले पक्का गर्‍यो, उनको गीतको म्युजिक भिडियो बन्ने भयो । त्यसवेला टिभीमा नेपाल टेलिभिजन मात्रै थियो, रेडियोमा रेडियो नेपाल मात्रै । एक–दुई नयाँ रेडियोले अलिअलि काम थालेका थिए । पहिलो भिडियो बन्ने सम्झौताले रुम्बा उत्साहित त थिए नै, साथमा दाहालले पनि पहिलोपटक म्युजिक भिडियो निर्देशनमा डेब्यु गर्न लागेका थिए ।

साढे दुई दशकअघिको त्यो समय सम्झँदै रुम्बा भन्छन्, ‘म उत्साहित थिएँ, खुसी थिएँ र साथमा नर्भस पनि ।’ ५–६ वर्षको सांगीतिक यात्रापछि एल्बम निकालेका थिए । ५० को दशक, हिन्दी चलचित्रका गीतको ठूलो प्रभाव थियो । साथमा आधुनिक गीतहरूको बोलवाला थियो । त्यस्तो परिवेशमा केही समूह ब्यान्ड बनाउन लागिपरेका थिए । रुम्बा भने रक पप भनेर लागेका थिए । पाश्चात्य संगीत सुन्ने, ब्यान्डमार्फत प्रस्तुति दिने चलनको सुरुआत भएको थियो । 

हरेक स्टेजमा नगाइनहुने ‘मिस क्याटवाक’
अहिले त गीत आएको २५ वर्ष पुग्यो । त्यसवेला २२ वर्षका थिए, रुम्बा । उनी स्टेजमा चढ्नासाथ यो गीत नगाइनहुने गीतमा पर्छ । दर्शकले यही गीतको अनुरोध गरिहाल्छन् । उनले यस गीतमार्फत अनेक प्रकारका फ्यान पनि पाए । आफ्ना सयौँ गीतमध्ये अहिले पनि यो गीत उस्तै प्रिय र प्यारो छ, रुम्बाका लागि ।

उस्तै मेमोरीहरू पनि गाँसिएका छन् । तर, पछिल्लो समय भने उनी सांगीतिक क्षेत्रमा पहिलाजस्तो सक्रिय छैनन् । भन्छन्, ‘म कला क्षेत्रमा लागेको मान्छे, तर कहिलेकाहीँ जीवनको यात्रामा फरक फेज आउँदोरहेछ ।

प्राथमिकता परिवर्तन हुँदै जाने रहेछ । त्यो ऊर्जा, जाँगर अहिले पनि छ, तर पछिल्लो समय पारिवारिक माहोलमा रहनुपर्ने र त्यसैलाई महत्व दिनुपर्ने अवस्थामा छु । तर, नयाँ गीत लेख्ने, कम्पोज गर्ने प्रयास त गरिरहेकै छु ।’