Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ १९ शनिबार ०७:०७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गोल र कीर्तिमानले भोकाएका रोनाल्डो 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ १९ शनिबार ०७:०७:००

यसै साता पोर्चुगलका कप्तान तथा स्ट्राइकर क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडसँग आबद्ध भए । ३६ वर्ष उमेर भए पनि रोनाल्डो अझै विपक्षी पोस्टमा गोल गर्न उत्तिकै मिहिनेत गरिरहेका छन् । फरक–फरक क्लबमा आबद्ध भएर फुटबल खेल्नु नै रोनाल्डोको खुबी हो । युरोपियन क्लब स्तरीय मात्र नभएर रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा उत्तिकै गोल गर्न खप्पिस छन् । उनले २०२२ को विश्वकप छनोटमा रिपब्लिकन आयरल्यान्डविरुद्ध दुई गोल गर्दै राष्ट्रिय टोलीबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको रेकर्ड स्थापित गर्न सफल भए । 

अहिलो रोनाल्डोको नाममा एक सय ११ अन्तर्राष्ट्रिय गोल संख्या पुगेको छ । उनले इरानका अली दाईसँगै एक सय नौ गोलको कीर्तिमान बराबरी गरेका थिए । डेढ महिनाअघि सम्पन्न युरोकपमा पाँच गोल गर्दै रोनाल्डोले अलीले स्थापित विश्व फुटबलमा राखेको कीर्तिमान बराबरी गरेका हुन् । आयरल्यान्डविरुद्ध दुई गोल गरेसँगै उनले अर्को विश्वकीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए । 

यो उपलब्धि हात पार्न उनले २१ वर्ष प्रतीक्षा गरेका छन् । सन् २००० मा रोनाल्डोले फ्रान्सविरुद्ध डेब्यु गरेका हुन् । रोनाल्डोले सन् २००४ को युरोकपमा ग्रिसविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । निरन्तर दुई दशक फुटबल मैदानमा व्यस्त देखिएका रोनाल्डोले आयरल्यान्डविरुद्धको खेलमा अर्को रेकर्ड बराबरी गरेका छन् । युरोपियन फुटबलमा स्पेनका सर्जियो रामोसले सर्वाधिक एक सय ८० अन्तर्राष्ट्रिय खेल खेलेको रेकर्ड पनि रोनाल्डोले बराबरी गरेका छन् । 

फिफाको रेकर्डअनुसार मलेसियाका सोच चिन आनले सर्वाधिक एक सय ९५ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आनको विश्वकीर्तिमान तोड्न रोनाल्डोलाई थप १६ खेल आवश्यक छ । आनले सन् १९६९ देखि १९८४ सम्म यो रेकर्ड बनाएका थिए । रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय गोल संख्या बनाउन पाउँदा ज्यादै खुसी लागेको बताएका छन् । ‘म यसकारण खुसी भएको होइन, यो अवसर हात पार्न मैले वर्षौं प्रतीक्षा गरेको थिएँ,’ रोनाल्डोले भने, ‘दुई गोलले एक फरक परिचय दिएको छ ।’ 

युरोपियन फुटबल प्रतियोगितामा उनले गोलका थुप्रै कीर्तिमान राखेका छन् । युरोपियन च्याम्पियन्स लिग तथा युरोकपमा उनले यस्तो उपलब्धि हात पारेका हुन् । रियल म्याड्रिड तथा युभेन्ट्सका पूर्वखेलाडी रोनाल्डोले युरोकप र विश्वकपमा गरी समग्रमा २१ गोल गरेका छन् । वर्तमान समयकै उत्कृष्ट खेलाडी मानिने अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या राख्ने क्रमम निकै पछि पारेका छन् । मेसीले अर्जेन्टिनी जर्सीबाट एक सय ५१ खेलमा ७६ गोल गरेका छन् । विश्व फुटबलमा मेसी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने सूचीको आठौँ स्थानमा छन् । 

युनाइेटडमा सातै नम्बर जर्सी
रोनाल्डोले इंग्लिस प्रिमियर लिग सिजन २०२१–२२ मा ७ नम्बरको जर्सी लगाउने भएका छन् । यसअघि युनाइटेडबाट उरुग्वेन खेलाडी इडिन्सन काभानीले सात नम्बरको जर्सी लगाउँथे । रोनाल्डोलाई सात नम्बरको जर्सी हस्तान्तर गरेका काभानीले २१ नम्बरको जर्सी लगाउने युनाइटेडले जनाएको छ । रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । उनी सन् २००९ मा युनाइटेडबाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका थिए । 

डाटामा रोनाल्डो
उमेरका हिसाबले रोनाल्डोले सन्न्यास लिइसक्नुपर्ने थियो । यो उमेरसम्म धेरैजसो चर्चित खेलाडीले सन्न्यास लिइसकेका हुन्थे । तर, रोनाल्डो अझै पनि युवा अवस्थाकै जोसमा मैदानमा दौडिरहेका छन् । उनी दौडेका मात्र छैनन्, विपक्षी पोस्टमा दनादन गोल गरिरहेका छन् । रोनाल्डोले प्रत्येक मिनेटदेखि खेलको अन्तिम इन्जुरी समयसम्म गोल गरेका देखिन्छन् । 

रोनाल्डोले गरेका एक सय ११ गोलमध्ये आधाजसो पहिलो ३० मिनेटभित्रै निस्किएका छन् । उनले पहिलो १५ मिनेटमा ३३ पटक गोल गरेका छन् । यसैगरी १६–३० मिनेट अवधिमा रोनाल्डोले १७ गोल ठोकेका छन् । यसैगरी ३१–४५ मिनेटसम्म १६ गोल गरेका रोनाल्डोले ६१ देखि ७५ मिनेटभित्र २२ गोल गरेका छन् । रोनाल्डोले ९१ गोल डिबक्सभित्रबाट सम्भव पारेका छन् । यसैगरी उनले २० गोल पोस्टभन्दा बाहिरबाट गरे । उनले खेलजीवनमा १४ अन्तर्राष्ट्रिय पेनाल्टी तथा नौपटक फ्रिकिक गोल गर्न सफल भए ।

विपक्षी टोलीविरुद्ध गोल

  • सात गोल : लिथुआनिया र स्विडेन
  • ६ गोल : एन्डोरा
  • पाँच गोल  : अर्मेनिया, लात्भिया, लक्जमवर्ग
  • चार गोल : इस्टोनिया, आइल्यान्ड, हंगेरी, नेदरल्यान्ड्स
  • तीन गोल : बेल्जियम, डेनमार्क, नर्दन आयरल्यान्ड, रसिया, स्पेन, स्विट्जरल्यान्ड
  • दुई गोल : अजरबैजान, बोस्निया एन्ड हर्जगोभिना, क्यामरुन, साइप्रस, चेक रिपब्लिक, इजिप्ट, काजकस्तान, साउदी अरेबिया, फ्रान्स, उत्तरी आयरल्यान्ड
  • एक गोल : अर्जेन्टिना, क्रोएसिया, इक्वेडर, फिनल्यान्ड, घाना, ग्रिस, आइसल्यान्ड, इरान, मोरोक्को, जर्मनी, वेल्स, युक्रेन, स्लोभाकिया, सर्विया, पोल्यान्ड, पानामा, उत्तर कोरिया, न्युजिल्यान्ड

कुन प्रतियोगितामा कति गोल

  • विश्वकप छनोट -   ३३
  • युरोकप छनोट -   ३१
  • अ.मैत्रीपूर्ण -   १९
  • युरोकप  -  १४
  • विश्वकप  -  ७
  • युइएफए नेसन्स लिग  -  ५
  • कन्फेडेरेसन कप -   २