मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ १८ शुक्रबार १८:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चालकलाई परीक्षणकालीन लाइसेन्स दिने यातायात व्यवस्था विभागको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ १८ शुक्रबार १८:२३:००

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो ।

लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई क्युआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । उनले हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयहरूमार्फत वितरण गरिने पनि बताए ।

अहिले स्मार्ट लाइसेन्स लिनका लागि करिब सात लाख सेवाग्राही महिनौँ दिनदेखि लाइनमा छन् । विभागका प्रवक्ता डा. भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम सुरु हुने पनि बताए । उनले  कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकाले छ–सात महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने बताए । उनले अबको एक, डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिँदै कार्ड आए लगत्तै तीन सिफ्टमा काम गरेर भए पनि वितरण गरिने बताए ।

विभागका प्रवक्ता डा. भुसालले कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा आउँदो भदौ २० गतेबाट सञ्चालन हुने जानकारी दिए । उनले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरी सकेको उल्लेख गरे । उनले पहिलो चरणमा आवेदन दिएकाहरूको मात्र लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा र त्यसपछि मात्रै नयाँका लागि आवेदन खोल्ने पनि बताए । नयाँका लागि आवेदन खोल्न भने अझै केही महिना लाग्ने उनको भनाइ छ ।

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाका लागि ६ लाखजनाको आवेदन परेको छ । विभागले लाइसेन्सका लागि आवेदन अनलाइनबाटै लिने गरेको छ ।