१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
निषेधाज्ञाकै बीचमा सदाका लागि बन्द भएको हात्तीसारस्थित जय नेपाल हल । फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १८ शुक्रबार ०८:०४:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

फिल्म हल खुले, तर जोखिम मोल्न तयार छैनन् निर्माता 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १८ शुक्रबार ०८:०४:००

उपत्यकामा बिहीबारबाट हलहरू सञ्चालन गर्न सक्ने गरी सरकारले अनुमति दिएको छ । तर, सरकारले अनुमति दिए पनि हल सञ्चालकहरूले हलको मेन गेटसमेत खोलेका छैनन् । बरु हल सञ्चालकहरू हल मर्मतमा लागेका छन् । महिनौँदेखि थन्किएको प्रोजेक्टर बनाउनेदेखि कुर्सी सफा गर्न हलका कर्मचारीहरू व्यस्त थिए । हल पूर्ण रूपमा खुलेर फिल्म चल्ने अझै टुंगो छैन ।

काठमाडौं, ललितपुर र भक्तपुरका तीन प्रमुख जिल्ला अधिकारीको गत बुधबार बसेको संयुक्त बैठकले उपत्यकाका फिल्म हलहरू बिहीबारबाट सञ्चालन गर्न दिने निर्णय गरेको थियो । वैशाख पहिलो साताबाट बन्द भएका हलहरू साढे चार महिनापछि पुनः सञ्चालनमा आउन लागे पनि फिल्म प्रदर्शन हुन भने समय लाग्ने भएको छ ।

प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर उपत्यकाका हल सञ्चालन गर्ने अनुमति दिए पनि निर्माताहरू भने अझै अन्योलमा देखिन्छन् । निर्माता संघका अध्यक्ष आकाश अधिकारी भन्छन्, ‘यसअघि हल सञ्चालन गर्दाको परिणाम देखिएकै हो । हल खोलेर मात्रै भएन । पुरानो फिल्मले दर्शक आउनेवाला छैन । हामीले नयाँ फिल्म चलाउँदाकोे जोखिममा राज्यले भूमिका खेलिदिनुपर्छ ।’ राज्यले साथ र सहयोग नदिएमा नयाँ फिल्म प्रदर्शन गर्न नसकिने अधिकारीको भनाइ छ । 

उपत्यकामा मात्रै हल खोल्दा र उपत्यकाबाहिर अवस्था यथावत् रहँदा फिल्म प्रदर्शन गर्न कोही पनि निर्माता तयार नहुने फिल्मकर्मी बताउँछन् । यति मात्रै होइन, देशभरका एक सय ९५ फिल्म हलमध्ये २० वटा त बन्द भइसकेका छन् । बन्द भएका हल पुनःसञ्चालन हुने सम्भावना शून्यप्रायः छ । मल्टिप्लेक्स र सिंगल थिएटर गरी एक सय ७५ हल मात्रै अहिले अस्तित्वमा छन् । यो संख्या अझै घट्ने अनुमान छ । राम्रो बक्स अफिस कलेक्सन हुने काठमाडौंको हात्तीसारस्थित जयनेपाल हल र कमलपोखरीको कुमारी हल सदाका लागि बन्द भइसकेका छन् । ३७ वर्षको इतिहास बोकेको कुमारी र सबैभन्दा पुरानोमध्येको एक जयनेपाल बन्द हुनुले बक्स अफिसमा ठूलो असर गर्नेछ । यसले पनि निर्माताहरू हच्किएको अधिकारीको विश्लेषण छ ।

निर्माताहरूको मात्रै नभएर हल सञ्चालकहरूको पनि उस्तै पीडा छ । करिब दुई वर्षदेखि हल बन्द भएपछि हल भाडा, कर्मचारीलाई दिनुपर्ने तलबलगायत अनेक कारणले हल सञ्चालन गर्न सञ्चालक पनि सशंकित छन् । प्रशासनले हल खोल्ने निर्णय त गर्‍यो, तर कसरी सञ्चालन गर्ने ? विलखबन्दमा छन् सञ्चालकहरू । चलचित्र संघका महासचिव अशोक शर्मा भन्छन्, ‘हल सञ्चालन गर्ने निर्णय त भयो ।

तर, हल खुलिहाल्ने सम्भावना छैन ।’ प्रोजेक्टरहरू बनाउनुपर्ने, हल सफा गर्नुपर्नेलगायत अनेक काम बाँकी रहेकाले तत्कालै सञ्चालनमा आउन नसक्ने बताउँछन् शर्मा । ‘नयाँ फिल्म खोज्न समय लाग्छ । उपत्यकामा मात्रै खोलेर पनि हुँदैन । नयाँ फिल्म चलाउन प्रमोसनको कुरा छ,’ शर्माले नयाँ पत्रिकालाई भने, ‘दसैँ नजिकिँदै छ । त्यसवेला राम्रो माहोल सिर्जना होस् भनेर तयारी गर्ने हो । दसैँबाट राम्रै सुरुवात होला भनेर सकारात्मक हुन बाहेक विकल्प छैन ।’ 

८० फिल्म रोकिएका छन्
कोभिड महामारीका कारण ७० देखि ८० फिल्म रोकिएर बसेका छन् । हिसाब गर्दा मात्रै डेढ सय करोडमाथि फ्रिज भएर बसेको छ । जसको मासिक ब्याजले निर्माताको ढाड सेकिरहेको बताउँछन् अधिकारी । चलचित्र प्राविधिक संघमा अध्यक्ष पुष्कर लामाका अनुसार संघमा आबद्ध प्राविधिकहरूमध्ये कतिले त पेसा नै परिर्वतन गरिसकेका छन् भने कतिपय प्राविधिकले काम खोजिदिन आग्रह गर्छन् ।  

हल त खुल्यो देखाउनेचाहिँ के ?
हल सञ्चालन गर्ने प्रशासनको अनुमति भए पनि हलमा देखाउनेचाहिँ के त ? यो प्रश्न हो निर्देशक दीपेन्द्र के खनालको । अघिल्लो वर्षको लकडाउनपछि पनि हल खुलेको स्मरण गर्दै उनले भने, ‘हल चलायमान गराउन सबैले सेक्रिफाइस गरिदिनुपर्‍यो । अनि मात्रै केही शुभ संकेतहरू देखिन थाल्छन् ।’ तर, पुरानो फिल्म प्रदर्शन गरेर दर्शकलाई हलमा ल्याउन गाह्रो हुने खनाल बताउँछन् । भन्छन्, ‘यो क्षेत्र चलायमान बनाउन नयाँ फिल्म प्रदर्शन गर्नुपर्छ । हलमा दर्शक तान्न सक्ने फिल्म पनि छन्, तर त्यसका लागि विकास बोर्डले सहयोग गर्नुपर्‍यो । सबै क्षेत्रले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गरे मात्रै यो क्षेत्रलाई लयमा फर्काउन सकिन्छ ।’

यदि सबै क्षेत्रबाट सहयोग पाउने हो भने आफ्नो फिल्म ‘चिसो मान्छे’ प्रदर्शन गर्न तयार रहेको जिकिर छ खनालको । आफू जोखिम लिन तयार रहेको उनी बताउँछन् । खनाल मात्रै होइन, नायिका तथा निर्मात्री पूजा शर्मा पनि जोखिम मोल्न तयार छिन् ।