मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ १७ बिहीबार ०९:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिडिओ रुद्रादेवी शर्मा जो नागरिकता र राहत बोकेर घरमै पुग्छिन्

Read Time : > 1 मिनेट
२०७८ भदौ १७ बिहीबार ०९:०७:००

गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नागरिकता र राहत बोकेर नागरिकको घरमै पुग्न थालेकी छिन् । शर्माले विपतबाट मृत्यु भएका र विभिन्न कारणले प्रशासनमै आएर नागरिकता बनाउन नपाएका व्यक्तिको परिवारमै पुगेर नागरिकता र राहत दिने गरेकी छिन् । यो विरलै प्रशासकले गर्ने गरेका छन् । 

गोमाले ५० वर्षमा नागरिकता पाइन्
मुसिकोट नगरपालिका– ३ ठूलापोखराकी ५० वर्षीया गोमा थापाले ५० वर्षमा नागरिकता पाएकी छिन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गोमाको  घरमै पुगेर नागरिकता दिएकी हुन् । उनले मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, वडाध्यक्ष र स्थानीयहरूको उपस्थितिमा थापालाई नागरिकता प्रदान गरेकी हुन् । गोमा दिदी टीकाकुमारी घिमिरेसँग बस्दै आएकी छिन् । उनी मानसिक रोगले वर्षौँदेखि पीडित छिन् । त्यसमाथि ढाडको समस्या थपियो । 

१० वर्षदेखि उभिन सक्दिनन् । पशुचौपायाजस्तै हातखुट्टाले टेकेर हिँडडुल गर्छिन् । थापाले घरपरिवारको आर्थिक अवस्था, मानसिक तथा शारीरिक समस्याका कारण नागरिकता बनाइनन् । नागरिकता पाएपछि गोमाकी दिदी टीकाले आँखाबाट आँसु खसालिन् । प्रमुख जिल्ला अधिकारी घरमै आएर नागरिकता दिएपछि परिवारसँगै छिमेकीहरू पनि खुसी भएका छन् । ‘धेरैपटक प्रशासन पुग्न खोजे पनि सकिएको थिएन । बहिनीको समस्या थपिँदै गएकाले नागरिकता पाउने आस पनि मरेको थियो,’ टीका कुमारीले नयाँ पत्रिकासँग भनिन्, ‘आखिर सिडिओ साब घरमा आएर नागरिकता दिन लेखेको रैछ ।’ 

गोमाले नागरिकता नहुँदा १० वर्षदेखि सरकारले प्रदान गर्ने अपांगबापतको सामाजिक सुरक्षा भत्ता पनि पाएकी थिइनन् । आफूहरूले सरकारको सेवासुविधाबाट वञ्चित भएको महसुस गरे पनि नागरिकता बनाउन नपाएकोमा दुःख लागेको भतिज कमल घिमिरेले बताए । नागरिकता दिएपछि प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी पाएसम्म अपांग र अशक्तको घरमै पुगेर नागरिकता दिने बताइन् । उनले नागरिकता पाउने प्रशस्तै आधार र प्रमाण हुँदाहुँदै नागरिकता नबनाएकालाई स्थानीय तह र सरोकारवालाले प्रशासनसम्म पुर्‍याउने वा सहजीकरण गरेर बोलाउन आग्रह गरिन् ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटले प्रमुख जिल्ला अधिकारी शर्माको रचनात्मक एवं नागरिकमैत्री कामको प्रशंसा गरे । घरमै पुगेर नागरिकता दिएको मुसिकोटको पहिलो उदाहरण भएको सापकोटले बताए । उनले आर्थिक अवस्थाका कारण प्रशासन पुग्न नसक्ने, प्रक्रिया पूरा गर्न नसक्ने, अपांग र अशक्त भएका कारण घरमै अनागरिकसरह बसेकाहरूलाई शर्माको कामले निकै फाइदा पुगेको बताए । 

राहत बोकेर पीडितको घरमै पुगिन् शर्मा
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा आगलागी, बाढी, पहिरो र चट्याङलगायतका विपतका  घटनामा ज्यान गुमाएकाहरूलाई राहत प्रदान गर्न पनि घरघरमै पुग्ने गरेकी छिन् । शर्माको रचनात्मक भूमिकाले विपतकाे चोटमा पीडित झन्झटिलो प्रक्रिया पूरा गरेर राहतका लागि प्रशासन धाउनुपर्ने बाध्यता हटेको छ । भर्खरै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुसिकोट नगरपालिका– ४ दजाकोटमा र इस्मा गाउँपालिका– ४ दोहलीमा पुगेर चट्याङ लागेर मृत्यु भएका पीडित परिवारलाई राहत प्रदान गरेकी छिन् । गत वैशाख २४ मुसिकोट– ४ बडागाउँ दजाकोटकी करिश्मा गाहामगर र साउन २७ गते इस्मा– ४ दोहलीका ११ वर्षीया राहुल गन्धर्वको चट्याङ लागेर ज्यान गएको थियो । शर्माले करिश्माका ससुरा तुलबहादुर गाहा र राहुल गन्दर्भका बुबा रामबहादुरलाई भेटेर  नगद दुई लाख रुपैयाँ राहत प्रदान गरेकी छिन् ।