मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपक भट्ट रामेछाप
२०७८ भदौ १६ बुधबार १७:१३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले मन्थलीमा एक घर पुरियो, १४ घर उच्च जोखिममा

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७८ भदौ १६ बुधबार १७:१३:००

केही दिनदेखिको लगातारको वर्षाका कारण मन्थली नगरपालिका– १३ फुुलासी चन्दनेटोलमा एक घर पहिरोले पुरिएको छ भने १४ घर उच्च जोखिममा रहेका छन् । पहिरोका कारण गोपाल भुुजेलको घर पुरिएको छ भने अन्य १४ वटा घर जोखिममा रहेका छन् । स्थानीय सरकार गाउँमा आएपछि विकास निर्माणको क्रममा गाउँटोलमा सडक विस्तार गर्ने क्रममा खनिएको सडककै कारण बस्तीमा पहिरो गएको हो । 

फुलासीको चन्दनेटोलको बस्ती हुँदै मन्थली नगरपालिका– १२ गेलुुतर्फ लैजाने गरी खनिएको कच्ची सडकले उक्त क्षेत्रमा पहिरो गएको हो । पहिरोबाट अहिले चार घर–परिवार विस्थापित हुन पुुगेका छन् ।

पहिरोले गोपालको घर भत्किँदा घरमा रहेको अन्नपात, लत्ता–कपडा र भुुइँ तलामा बाँधिएका आठवटा पशुचौपायासहित करिब ६ लाखबराबरको धनमाल नष्ट भएको छ ।
‘पहिला गाउँमा यसरी कहिल्यै पहिरो जाँदैनथ्यो । अहिले गाउँमा स्थानीय सरकार आएपछि जताततै सडक निर्माण गर्ने र टोलटोलमा सडक खन्ने काम गरेकाले पहिरोको घर पुरियोे,’ गोपाल भुुजेलले भने । पहिरोसँगै आएको लेदो घरभित्र पसेपछि उनीहरूले आफ्नो घर छाडेर छिमेकीको घरमा शरण लिन जानुपरेको स्थानीय उर्मिला घर्तीले जानकारी दिइन् ।

उनले भनिन्, ‘मेरो जमिनबाट सडक खन्न दिन्नँ भन्दा वडाध्यक्ष मानेनन् । गाउँको बीचभागबाट सडक लैजानुपर्छ भने । अहिले वर्षा लाग्नासाथ जमिन चिराचिरा भएर पहिरो जान थाल्यो । घरको भुुइँतलामा पानीको आहाल छ । घरपछाडि आएको पहिरोले घर थिचेको छ । घरमा बस्ने अवस्था नभएकाले छिमेकीको घरमा वास मागेर बस्नुपरेको छ ।’

पुस्तौँदेखि भुजेल बस्तीमा बस्दै आएका उनीहरूको यसपटक भने पहिरोले उठीबास लगायो । पहिरो गएर विस्थापित भएका परिवारले तत्काल पहिरो नियन्त्रण गरिदिन स्थानीय सरकारसँग माग गरेका छन् । पहिरो गएसँगै चन्दनेटोलका भुजेल परिवारले वडा कार्यालय, मन्थली नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएका छन् ।