मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १५ मंगलबार १५:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दिगो विकास लक्ष्य हासिल गर्न छुट्टै कानुन ल्याउनुपर्नेमा सांसदहरूले जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १५ मंगलबार १५:४८:००

दिगो विकास लक्ष्य हासिल गर्नका लगि छुट्टै विशेष कानुन ल्याउनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सदस्यहरूले विद्यमान कानुन दिगो विकास लक्ष्यअनुकूल नभएकाले विकासको लक्ष्य हासिल गर्नका लागि छुट्टै कानुन बनाउनका लागि आवश्यक पहल गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका हुन्।

मंगलबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरूले विद्यमान कानुनलाई दिगो विकासको लक्ष्यबाट अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। उनीहरूले दिगो विकास लक्ष्य हासिलका लागि छुट्टै र विशेष कानुन ल्याउनुपर्ने भन्दै त्यसतर्फ पहल गर्न ध्यानाकर्षण गराएका छन्। बैठकमा सदस्यहरू महेशकुमार महरा, गंगा बेल्बासे, बिमला घिमिरे, देवी भट्टलगायतले आफ्नो धारणा राखेका थिए।

छलफलपछि समितिले विद्यमान कानुनहरूलाई दिगो विकास लक्ष्यअनुरूप संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। अधिकांश कानुनहरू नयाँ संविधान जारी हुनु पहिला, दिगो विकास लक्ष्य अनुमोदन गर्नुपूर्व बनेकाले ती कानुनहरूले दिगो विकासका लक्ष्यहरूलाई सम्बोधन गर्न नसक्ने ठहर समितिले गरेको छ।

दिगो लक्ष्य कार्यान्वयन गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता पूरा गर्न बाधक बनेका कानुनको पहिचान गरी संशोधन र परिमार्जन गरी कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो ।