मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नियुक्तिपत्र पाएपछि दमक नगरपालिकाअगाडि सफाइ मजदुर । फाइल तस्बिर : नयाँ पत्रिका
२०७८ भदौ १५ मंगलबार ०८:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सफाइ मजदुरमाथि दमक नगरपालिकाको झेल

Read Time : > 1 मिनेट
२०७८ भदौ १५ मंगलबार ०८:३२:००

पूर्वप्रतिबद्धताविपरीत नियुक्तिपत्रको नवीकरण नै भएन, महिला मजदुरलाई पूरा काम लगाएर आधा ज्याला

तीन दशक दमक नगरपालिकामा फोहोर सफाइ गर्दै आएका ३० मजदुरलाई कामबाट निकालेपछि गत चैतमा मजदुरहरू आन्दोलित बने । एक सातासम्म नगरपालिकामा दैनिक धर्ना दिए । निजी कम्पनीले दमक नगरपालिकाभित्रको फोहोरमैला व्यवस्थापनको जिम्मा लिएपछि सामाजिक संरचनाको पिँधमा रहेका तराईको दलित समुदायका मजदुरलाई निकालिएको थियो । 

तीन दशकसम्म नियुक्तिपत्रविनै काममा लगाइएका मजदुरको आन्दोलन र नयाँ पत्रिकाले बारम्बार समाचार लेखेपछि उनीहरूलाई नगरपालिकाले बाध्य भएर पुनर्वहाली गर्‍यो । नगरपालिकाले दैनिक ज्यालादारीमा करार सम्झौता गर्दै नियुक्तपत्र उपलब्ध गरायो । 

नियुक्तिपत्रको करार सम्झौता ०७८ असार मसान्तसम्म थियो । नगर प्रमुख रोमनाथ ओलीले असारपछि नयाँ करार सम्झौता गरेर नियुक्तिपत्र नवीकरण गर्ने प्रतिबद्धता जनाएका थिए । तर, अहिले आएर नगरपालिकाले दलित मजदुरमाथि झेल गरेको छ । नियुक्तिपत्रको म्याद सकिएको दुई महिना हुनैलाग्दासमेत करार सम्झौताको नवीकरण नगरिदिएको सफाइ मजदुर सिकेन्द्र मल्लिकले बताए ।

‘नगरपालिकाले हामी मजदुरमाथि झेल गर्‍यो । हामीले ३० वर्षसम्म त थाहा नपाएर विनानियुक्तिपत्र काम गर्‍यौँ । बल्ल नियुक्तिपत्र पाएका थियौँ,’ उनले भने, ‘तर, फेरि नियुक्तिपत्रविना काम गर भन्दै छन् । हाकिमलाई भन्दा कहिले यतिकै हाजिरमा काम गर भन्छन्, त कहिले एक दुई दिनमा नियुक्तिपत्र बनाइदिन्छौँ भन्छन् ।’

ज्यालामा महिला र पुरुष मजदुरबीच विभेद गरेको छ । नियुक्तिपत्रमा चलाखीपूर्ण ढंगले महिलाको काम गर्ने समय थोरै राखिएको छ । तर, काम भने पुरुष समान सात घन्टा गर्नुपर्छ । नियुक्तिपत्रमा पुरुष सफाइ मजदुरलाई सात घन्टा काम गरेबापत १३ हजार ७७१ रुपैयाँ दिइने उल्लेख छ । महिला सफाइ मजदुरलाई भने तीन घन्टाको ६ हजार पाँच सय । तर, काम भने सात घन्टा नै गर्नुपर्ने सफाइ मजदुर बविन मल्लिक बताउँछिन् । ‘म भृकुटी माविमा काम गर्छु । बिहान १० बजेदेखि स्कुल बन्द नभएसम्म म काममै हुन्छु । तर, छोरा मान्छेलाई दिनेजति पैसा दिँदैनन्,’ उनी भन्छिन्, ‘तीन घन्टा मात्र काम गर्न खोज्यो भने सरहरूले तिमी पनि कर्मचारी म पनि कर्मचारी भनेर सात घन्टा नै काम लगाउँछन् ।’

अब विद्यालयहरूले नै नियुक्तिपत्र दिन्छन् : मेयर ओली
मजदुर आन्दोलित बन्दा असारपछि पनि करार सम्झौता थप्ने आश्वासन दिएका दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले भने बोली फेरेका छन् । ३० जना सफाइ मजदुरलाई दमकका विभिन्न विद्यालयमा काम लगाइएकाले अब नियुक्तिपत्र उनीहरूले काम गर्दै गरेको विद्यालयले दिने बताए । ‘उहाँहरू विद्यालयहरूमा दैनिक ज्यालादारीमा काम गर्दै हुनुहुन्छ । विद्यालयले नै नियुक्तिपत्र दिने हो,’ मेयर ओलीले भने, ‘विद्यालयले आवश्यकअनुसार फुलटाइम राख्छ कि पार्टटाइम, अब उसैले गर्ने हो ।’