मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १४ सोमबार १७:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्वविद्यालयको लापरबाहीले अपूरो नतिजा आएपछि विद्यार्थी अनशनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १४ सोमबार १७:५४:००

पूर्वाञ्चल विश्वविद्यालयको लापरबाहीका कारण परीक्षाको नतिजा अपूरो आएको भन्दै विद्यार्थी अनशनमा बसेका छन्। कलंकीस्थित हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी (हिकाष्ट)मा स्नातक तह बिएस्सी एग्रिकल्चर विषय अध्ययनरत विद्यार्थीले अपूरो नतिजा आएको भन्दै अनशन सुरु गरेका हुन्।

कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै पूर्वाञ्चल विश्वविद्यालयले अनलाइनमार्फत  ‘टाइम बाउन्ड होम इक्जाम’ लिएको थियो। विश्वविद्यालयले बिहान ९ बजेदेखि लिएको परीक्षाको उत्तरपुस्तिका दिउँसो २ बजेभित्र पेस गरिसक्नुपर्ने व्यवस्था गरेको थियो। ‘१ बजेअगावै उत्तरपुस्तिका सबमिट गरेको थिएँ। तर, नतिजामा इनकम्प्लिट भनेर देखायो,’ नतिजाबारे अनशनरत एक विद्यार्थी नयाँ पत्रिकासँग भने।

०७७ असोज २० बाट सुरु भएको परीक्षाको भदौ १० मा नतिजा सार्वजनिक गरिएको थियो। तर, समयभित्रै उत्तरपुस्तिका सबमिट गरेका ४० जनाको नतिजामा परीक्षामा समावेश नै नभएको देखिएको विद्यार्थीले बताएका छन्।

हिकाष्टका प्रिन्सिपल कृष्णबहादुर श्रेष्ठ विश्वविद्यालयको कारण समस्या देखिएको बताउँछन्। विद्यार्थीको समस्याका सम्बन्धमा विश्वविद्यालयसँग छलफल भइरहेको उनले बताए। ‘समयभित्रै उत्तरपुस्तिका पठाएका विद्यार्थीको नतिजामा समस्या आएको हो। अन्य कलेजको पनि यस्तो समस्या आएको छ। समस्या समाधानका लागि मंगलबार विश्वविद्यालय जाँदै छौँ,’ श्रेष्ठले भने।