Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७८ भदौ ११ शुक्रबार १९:१८:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

कहाँ पुग्यो तालिवानको सरकार गठन प्रक्रिया ? 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ भदौ ११ शुक्रबार १९:१८:००

अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही संगठन तालिवानले सरकार गठनको प्रक्रिया अगाडि बढेको बताएको छ।  समावेशी सिद्धान्तका आधारमा सरकार गठन गर्न लागेको तालिवानले जनाएको छ। 

तालिवानका अनुसार नयाँ गठन हुने कामचलाउ सरकारमा सबै जाति र जनजाति पृष्ठभूमिका नेताहरू सहभागी हुनेछन्। सरकार गठनका लागि आवश्यक केही कदमहरू चालिइसकेको तालिवानले बताएको छ। कामचलाउ सरकारको अवधि कति समयको हुनेछ भन्नेबारे भने स्पष्ट भइसकेको छैन । अफगानिस्तानको जातीय विविधता देशको राजनीति र द्वन्द्वको केन्द्रमा छ। करिब चार करोड जनसंख्या भएको अफगानिस्तानमा कुनै पनि जातीय समूहको बहुमत छैन। 

४२ प्रतिशत जनसंख्या भएको पास्तुन अफगानिस्तानको सबैभन्दा ठूलो जाति हो। मुख्यतः सुन्नी मुस्लिम समुदाय पास्ताे भाषा बोल्छन् र उनीहरूले १८औँ शताब्दीदेखि अफगानिस्तानमा प्रभुत्व जमाउँदै आएका छन्। कामचलाउ सरकारमा एक ‘अमिर–अल मोमिनिन्’ अर्थात् ‘कमान्डर अफ द फेइथफुल’को व्यवस्था गरिनेछ र यसैले इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको नेतृत्व गर्ने तालिवानले जनाएको छ। भावी सरकारको स्वरूप निर्माण र मन्त्रीहरू छान्नका लागि एक सर्वोच्च नेतृत्व परिषद् बोलाइएको छ। हाल न्याय, आन्तरिक सुरक्षा, रक्षा, विदेश, अर्थ र काबुल मामिला विशेष मन्त्रालयहरूको नेतृत्व क–कसले गर्ने भन्नेबारे छलफल भइरहेको छ। 

तालिवानका सहसंस्थापक मुल्ला बरादर राजधानी काबुलमा छन्। तालिवानका संस्थापक मुल्ला ओमरका छोरा मुल्ला मोहम्मद याकुब सरकार निर्माणबारे प्राथमिक छलफलमा सहभागी हुन कान्दाहरबाट राजधानी आएका छन्। तालिवानका अनुसार अमेरिकाले अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कर्जाई र राष्ट्रिय पुनर्मिलन उच्च परिषद्का प्रमुख अब्दुल्लाह अब्दुल्लाहलगायतका पूर्वसरकारका केही मानिसलाई नयाँ बन्ने सरकारमा समावेश गर्न दबाब दिइरहेको छ। 

बिहीबार काबुल विमानस्थलनजिक बम विस्फोट भएपछि सरकार गठनबारे भइरहेको प्रगति बाहिर ल्याइएको हो। 

बिहीबार बेलुका भएको सो विस्फोटमा परी ज्यान गुमाउनेको संख्या हालसम्म ११० पुगेको छ। ज्यान गुमाउनेहरूमा २८ जना तालिवानी, १३ जना अमेरिकी सेनाले सो हमलामा परी मारिएका छन्। आफूहरू अमेरिकासँग सन् २०२० मा गरेको सम्झौताअनुसार आतंकवादी क्रियाकलापका लागि अफगानी भूमि प्रयोग गर्न नदिने सर्तमा अडिग रहेको पनि तालिवानले प्रस्ट पारेको छ। 

तालिवानले अफगानिस्तानमा सुरक्षित महसुस गरिरहेका लाखौँ जनतालाई बेवास्ता गर्दै काबुल विमानस्थलमा भएका केही हजार मानिसहरूलाई मात्रै केन्द्रमा राखिनु अन्यायपूर्ण भएको पनि बताएको छ। 

महिलाहरूलाई पहिलेको सरकारमा जस्तै सरकारका विभिन्न अंगहरूमा, विशेषगरी स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्न अनुमति दिने पनि बताएको छ। तालिवानले भ्रष्टाचारविरुद्ध लड्न स्थानीय तहमा विशेष अदालतको पनि व्यवस्था गर्ने बताएको छ। अहिले सहरका सडकहरूमा भएका अनावश्यक अवरोधहरूलाई हटाउने कामहरू भइरहेको र चेकपोस्टमा भएका तालिवानका सदस्यहरूलाई ‘सभ्य र विनम्र’ हुन भनिएको छ। तालिवान स्रोतका अनुसार कामचलाउ सरकारले अफगानिस्तान बाहिरबाट आयात गरिएका वस्तुहरूमा एकोहोरो रूपमा मात्रै कर लिने व्यवस्था गर्न लागेको बताएको छ। 
अलजजिराबाट