१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १३ सोमबार ०७:११:००
Read Time : < 1 मिनेट
समाचार

रानीपोखरीको पानी अड्याउन कालीमाटी र बालुवा प्रयोग गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १३ सोमबार ०७:११:००

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माणको काम थाल्ने भएको छ । १४ माघको मन्त्रिपरिषद् बैठकले रानीपोखरी पुनर्निर्माणको जिम्मा प्राधिकरणलाई दिएको थियो । ८ फागुनमा प्राधिकरणले पोखरीमा पानी अड्याउन कालीमाटी र बालुवाको प्रयोग गर्ने निर्णय गरेको थियो । ‘पोखरीको कालीमाटी रहेको तहमा थप एक फिट कालीमाटी राख्ने र माटोको तह तयार भएपछि करिब दुई फिट बालुवा राख्ने,’ प्राधिकरणको निर्णयमा भनिएको छ, ‘पोखरीको डिलको सम्बन्धमा पुरानै माटोको आधार तयार गर्ने र तत्पश्चात् वाल लगाउने ।’

काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको क्रममा बनाएको आरसिसी वाल लगाउँदा बिग्रेको पोखरीको सतहलाई पुरानै तहअनुसार बनाउने निर्णयसमेत प्राधिकरणले गरेको छ । पोखरीको डिलको माथिल्लो भागमा पेटी लगाइने र पोखरीमा पानी सञ्चितीकरणका लागि मेलम्ची पाइपलाइनसँग जोड्न मिल्ने गरी संरचना बनाउने निर्णय प्राधिकरणको छ । 

प्राधिकरणले आवश्यक पर्ने माटो र बालुवाका विषयमा अध्ययन भइरहेको जनाएको छ । यसअघि पूरातत्व विभागले मन्दिर र काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको जिम्मा लिएका थिए । तर, ऐतिहासिक महत्व समाप्त गरी आधुनिक शैलीमा निर्माण गर्न लागेको भन्दै आलोचना भएपछि महानगर कसरी पुनर्निर्माण गर्ने भन्नेबारेमा अन्योल देखिएको थियो । महानगर अनिर्णीत बनेपछि मन्त्रिपरिषद्ले रानीपोखरी पुनर्निर्माणको जिम्मा प्राधिकरणलाई लगाएको थियो ।