१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नारायण रिजाल बागलुङ
२०७८ भदौ ११ शुक्रबार १७:१९:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

कालीगण्डकी करिडोर अवरुद्ध, बाग्लुङ–कुश्मिशेरा सडक पनि डेढ महिनादेखि बन्द

Read Time : > 2 मिनेट
नारायण रिजाल बागलुङ
२०७८ भदौ ११ शुक्रबार १७:१९:००

शुक्रबार बिहान बाग्लुङको जैमिनीबाट बिरामी बोकेरे धौलागिरि अस्पताल हिँडेका चालक सिमान थापा बीचबाटोमै रोकिनुपर्‍याे। अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बाग्लुङ–बलेवाखण्ड अवरुद्ध हुँदा बिरामी बोकेर आएका उनको जिप बीचबाटोमै रोकियो।

बाग्लुङ नगरपालिका– १३ फुर्सेखोलामा माथिबाट आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पानी रोकिएर र सडक खुलेपछि सदरमुकाम जाउँला भनेर झन्डै दुई घन्टा त उनले पर्खिए पनि। तर, सडक खुल्ने सम्भावना नभएपछि उनले बिरामीसहित गाडी फर्काए। बिरामी र उनका आफन्तलाई कुश्मा–बलेवाको यान्त्रिक पुलमा लगेर पर्वतको कुश्मा हुँदै बाग्लुङ जान आग्रह गरे।

सिमान मात्र हाेइन उनीसँगै आएका अन्य दजैनौँ जिपचालक र त्यसमा रहेका यात्रुहरूले सास्ती खेप्नुपरेको थियो। यो समस्या शुक्रबारको मात्र हाेइन झन्डै दुई महिनादेखि दक्षिण बाग्लुङका जनताले यस्तै सास्ती खेप्नुपरेको छ। फुर्सेखोलाको पहिरो पन्छाउने प्रयास निरन्तर भए पनि पहिरो खस्ने क्रम नरोकिएकाले सवारी आवतजावत गर्न निकै कठिन छ।

बाग्लुङ–कुश्मिशेरा सडकखण्ड डेढ महिनादेखि अवरुद्ध
दक्षिण जोड्ने वैकल्पिक सडक बाग्लुङ–कुश्मिशेरा सडकखण्ड पनि डेढ महिनादेखि अवरुद्ध  भएको छ। गत असारको दोस्रो सातादेखि नै अवरुद्ध हुँदा जैमिनी, बरेङ र बलेवा क्षेत्रका सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको स्थानीय बताउँछन्।

‘बर्खा लागेसँगै दक्षिणका सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ,’ बाग्लुङ नगरपालिका– १३ का वडाध्यक्ष नारायण शर्मा पौडेल भन्छन्, ‘करिडोर सडकखण्डमा अवरुद्ध भएको छ। माथिल्लो खण्डको सडक सुचारु गर्नेतर्फ सम्बन्धित निकायको ध्यान गएको छैन। करिडोरमा तल गाडी गुडिरेहेको वेला माथिबाट ढुंगा खस्दा कति वेला के हुने हो थाहा छैन। जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।’ कालीगण्डकी करिडोरको ट्रयाक खोल्ने क्रममा फुर्सेखोलाछेउको पहाड फोड्नका लागि पड्काइएका बमका कारण जमिन कमजोर भएर निरन्तर पहिरो आएको हुन सक्ने अनुमान गरिएको छ।

एउटा पहिरोले तीन ठाउँमा सडक अवरुद्ध 
यो वर्षको मनसुन सुरु भएसँगै दक्षिणका गाउँहरू कैयौँपटक सडक सम्पर्कविहीन भएका छन्। थोरै वर्षा हुँदासमेत फुर्सेखोलाको पहिरोले कालीगण्डकी करिडोर अवरोध भएको छ भने बाग्लुङ नगरपालिका– १० दब्ल्याङको पहिराले करिडोरसँगै बाग्लुङ–कुश्मिशेरा जोड्ने सडक पनि अवरुद्ध भएको छ। दब्ल्याङको पहिरोले तीन ठाउँमा असर गरेको छ । सडक पूर्ण रूपमा बगाएको छ।

करिडोरमा दैनिक पहिरो आएसँगै पुरानै सडक सञ्चालनका लागि बाग्लुङ नगरपालिकाका प्राविधिकसहितको टोलीले अध्ययन गर्न लागेको वडाध्यक्ष पौडेलले बताए। बाग्लुङ–कुश्मिसेरा सडकखण्ड सुचारु गर्नका लागि शुक्रबार स्थलगत अध्ययन गरेर काम अगाडि बढाउने भनिए पनि वर्षाका कारण रोकिएको अध्यक्ष उनको भनाइ छ। करिडोरमा दैनिक समस्या आउने हुँदा वैकल्पिक सडकको रूपमा रहेको बाग्लुङ–कुश्मिसेरा सडकखण्ड सञ्चालनका लागि सरोकारवालासँग छलफल चलाइएको छ। दब्ल्याङको पहिरो मात्र व्यवस्थापन गर्न सकेमा अन्य सडक कालोपत्रे रहेका कारण कुश्मिसेरा सहज आवागमन गर्न सकिने सवारीचालक दीपक कुँवर बताउँछन्।

करिडोर सञ्चालनका लागि निरन्तर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए। ‘दक्षिण जोड्ने सडक दैनिकजसो अवरुद्ध हुन्छ,’ गौतमले भने, ‘बाग्लुङ नगरपालिका र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाउने काम भएको छ। पहिरो निरन्तर खस्ने समस्या रहेका कारण बिहीबार रातिदेखि करिडोर अवरुद्ध रहेको छ। मौसम सफा भयो भने पुनः सञ्चालनका लागि पहल थाल्छौँ।’ जिल्लाका अन्य ग्रामीण क्षेत्रका सडकहरू अवरुद्ध भए पनि लोकमार्ग र कालीगण्डकी करिडोर सञ्चालनका लागि प्रशासनले विशेष पहल थालेको गौतमले बताए।

शुक्रबार बिहान खुल्यो मध्यपहाडी लोकमार्ग
बिहीबार रातिदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग शुक्रबार बिहानदेखि सञ्चालनमा आएको छ। बाग्लुङ–घोडाबाधे खण्डको बाग्लुङ नगरपालिका–३ बोक्सेमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो। बोक्सेगहिराको पहिराले सधैँ जिल्लाको पश्चिम क्षेत्रका जनताले सास्ती खेप्नुपरेको छ। जिल्लामा वर्षाका कारण अन्य क्षति भने नभएको जिल्ला प्रशासन कार्यालय बाग्लुङले जनाएको छ।