मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
खगेन्द्र भट्टराई
२०७५ फाल्गुण १३ सोमबार ०६:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

अंग्रेजी सिक्दै राउटे बालबालिका

Read Time : > 1 मिनेट
खगेन्द्र भट्टराई
२०७५ फाल्गुण १३ सोमबार ०६:२०:००

लेकबेसी नगरपालिका–१ रातेखोलामा बस्दै आएका राउटेबस्तीका बालबालिका नेपाली र अंगे्रजी पढ्न थालेका छन् । बालबालिकाले पढ्नु–लेख्नु हुन्न भन्ने अन्धविश्वास बोकेको राउटे समुदाय आधुनिकतासँगै परिवर्तन हुन थालेको हो । कापी–किताब बोक्दा र पढ्दा आफ्ना देउता रिसाउँछन् भन्ने अन्धविश्वास यो समुदायमा छ । 

दैलेखको सामाजिक विकास केन्द्रले राउटेबस्तीमा बालबालिकालाई अक्षर सिकाउन शिक्षक–शिक्षिका नियुक्त गरेपछि बालबालिका पढाइप्रति आकर्षित भएका हुन् । पढ्ने रहर भए पनि राउटे समुदायमा पढ्नु हुन्न भन्ने मान्यताले आफ्ना रहर पूरा नभएको बिर्खबहादुर शाहीले बताए । ‘मुखियाले पढ्नु हुँदैन भन्छ,’ उनले भने, ‘पढ्न पाए त हामी पनि ड्राइभर हुन्या हो, डाक्टर हुन्या हो ।’ उनले किताब कापी समातेर पढ्न पाउँदा खुसी लागेको बताए । ‘हाम्रो बस्तीमा मास्टर्नी (शिक्षिका) आएपछि धेरै कुरा सिकेका छौँ,’ उनले भने । 

राउटे समुदायका बालबालिका पढ्न थालेपछि सोसेकले राउटेबस्तीमा खटाएका शिक्षक–शिक्षिका पनि उत्साहित देखिएका छन् । राउटे बालबालिका पढ्न सहमत भएपछि उनीहरूको स्वभावमा केही परिवर्तन देखिएको शिक्षिका दुर्गा खत्रीले बताइन् । ‘नौ महिनादेखि थालिएको राउटेबस्तीमा बालबालिकालाई नुहाउन सिकाएका छौँ,’ उनले भनिन्, ‘राउटे बालबालिकालाई अक्षर भन्न र लेख्न सिकाउनु नै हाम्रो उपलब्धि हो ।’ राउटेबस्ती सरेसँगै यहाँका शिक्षक र शिक्षिका पनि सोही बस्तीमा पुग्ने गरेका छन् ।

राउटे मुखिया बस्तीका सामाजिक कार्यकर्ता 
बस्तीमा मुखियाको शासनमा रहने राउटे समुदायका बालबालिकाको संरक्षणका लागि राउटे मुखियासहितका पाँचजना युवालाई सामाजिक सेवा केन्द्रले सामाजिक कार्यकर्ताका रूपमा नियुक्त गरेको छ । राउटे समुदायका बालबालिकामा कुपोषण देखापरेको र उनीहरूले पौष्टिक आहार खान नमानेपछि राउटे मुखियामार्फत बालबालिकालाई पौष्टिक आहार र औषधि खुखाउन राउटे युवालाई नै नियुक्त गरिएको संस्थाका अध्यक्ष हीरासिंह थापाले बताए । ‘राउटे समुदायका बालबालिकामा कुपोषण बढेको छ,’ उनले भने, ‘बालबालिकालाई औषधि, पौष्टिक आहार खुवाउन र सरसफाइका लागि सचेतना बढाउने काममा यी कार्यकर्ताको प्रमुख काम हुनेछ ।’ 

राउटेबस्तीका पाँच वर्षमुनिका २१ जना बालबालिकामा कुपोषण देखिएको थापाले जानकारी दिए । राउटे मुखिया सूर्यनारायण शाही, वीरबहादुर शाही, दिलबहादुर शाही, महामुखिया मैनबहादुर शाही र प्रकाशबहादुर शाहीलाई सोसेकले सामाजिक कार्यकर्ताको नियुक्तिपत्र दिएको छ । मुखियाले मासिक दुई हजार र अन्यले मासिक १५ सय रुपैयाँका दरले पारिश्रमिक पाउनेछन् ।