१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
निना एल ख्रुस्चेभ
२०७८ भदौ ९ बुधबार ०९:५९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सोभियत ‘कु’ असफलताका तीस वर्ष : कहाँ चुक्यो लोकतन्त्र ?

आफ्नो दिमाग कैद गर्न चाहने मानिसबाट कुनै पनि समाज स्वतन्त्र हुन सक्दैन

Read Time : > 3 मिनेट
निना एल ख्रुस्चेभ
२०७८ भदौ ९ बुधबार ०९:५९:००

३० वर्षअघि यही महिना कट्टरपन्थी कम्युनिस्टहरूको एउटा समूहले मस्को नियन्त्रणमा लियो । क्रिमियामा बिदामा बसिरहेका सोभियत नेता मिखाइल गोर्वाचेभलाई उतै नरबन्दमा राखियो । कु गर्ने समूह गोर्वाचेभको आर्थिक तथा राजनीतिक सुधार (क्रमशः पेरेस्ट्रोइका तथा ग्लास्नोस्ट)बाट रुष्ट थिए, उनीहरूको उद्देश्य गोर्वाचेभलाई अपदस्थ गर्ने थियो । तर, तीन दिनमै कु असफल भयो र घटनाक्रम अगाडि बढ्दै जाँदा त्यही वर्षको अन्त्यसम्म सोभियत संघ नै विघटन भयो । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको २० वर्षे शासनमा सो कुको अर्थमै बदलिएको छ । गोर्वाचेभविरुद्ध कट्टरपन्थी कम्युनिस्ट गुटको ‘कु’लाई पुटिनले रुसको राज्य जोगाउने सैन्य प्रयासको रूपमा अथ्र्याइएका छन् । पछिल्लो एक सर्वेक्षणमा मस्कोका सडकमा तोप कुदेका ती असहज दिनबारे जम्मा ५० प्रतिशत रुसी मात्रै जानकार रहेको पाइयो । 

‘कु’ औपचारिक रूपमा पराजित भएपछि सोभियत लाल झन्डालाई रुसी महासंघको रातो, सेतो र नीलो मिश्रित झन्डाले विस्थापित गरेको दिनलाई प्रत्येक वर्ष ‘फ्ल्याग डे’को रूपमा मनाइन्छ । पछिल्लो समय यो दिवसलाई खुला रुसी समाजका लागि संघर्ष गरिरहेका उदारवादी दल, मानवअधिकार अभियन्ता र बाँकी रहेका सीमित विपक्षी दलले मात्र मनाउँछन् । पुटिनले कहिल्यै पनि यो समारोहमा भाग लिएका छैनन् । 

पुटिनको उदयपछि कट्टरपन्थी कम्युनिस्टले गरेको कुको पराजयसमेत असफलतामा टुंगियो । किनकि, आज रुसी समाजलाई खुला भन्न सकिने धेरै आधार छैनन् । पुटिनविरोधी, उनको सरकारविरोधी वा चर्चविरोधी हरेक व्यक्ति पक्राउ पर्ने जोखिममा हुन्छन् । पक्राउ गर्नका लागि त्यस्ता व्यक्तिलाई देशद्रोही, विदेशी एजेन्ट वा खतरनाक अतिवादीको बिल्ला लगाइन्छ । नागरिक समाजको स्वतन्त्रता लगभग सकिएको छ । धेरै स्वतन्त्र मानिने दोजएचडी टिभीलाई वैदेशिक एजेन्टको आरोप लगाइएको छ, जबकि यसले विदेशबाट एक पैसा लिएको प्रमाण छैन । 

निश्चित रूपमा पुटिन स्टालिन होइन, स्टालिनको पालामा जस्तो ठूलो संख्यामा मानिसले सजाय पाइरहेका छैनन् । तर, गोर्वाचेभको पालामा आजभन्दा धेरै आलोचनालाई स्विकारिन्थ्यो । यो कुरा पुटिनको प्रखर विरोध तथा भ्रष्टाचारविरोधी वकिल एलेक्सी नभाल्नीलाई सोध्दा थाहा हुन्छ, जो आज जेलमा छन् । अथवा, नभाल्नीको भ्रष्टाचारविरोधी फाउन्डेसनमा संलग्न जोकोहीलाई पनि यो प्रश्न गर्न सक्नुहुन्छ । जुन फाउन्डेसनलाई अतिवादी समूहको आरोप लगाएर भंग गरिएको छ । 

राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो २० वर्षे शासनमा सोभियत संघका कट्टरपन्थी समूहले गोर्वाचेभविरुद्ध गरेको कुको अर्थ नै बदलिदिएका छन् । आज रुसी सरकारले त्यस ‘कु’लाई राष्ट्र जोगाउने सैन्य प्रयासको रूपमा अथ्र्याउने गरेको छ ।

नभाल्नीविरुद्ध उठाइएका कदमको विरोधमा रुसमा बलियो प्रतिरोधको आवाज सुनिएन । सोभियतकालीन समय वा उत्तर सोभियतकालीन समयको अनिश्चितता र कठिनाइमाझ मानिसले स्थायित्वका लागि केही स्वतन्त्रता तिलाञ्जली दिन तयार थिए भनिन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ । आज, रुस तुलनात्मक समृद्धि र अमनचैनको वातावरणमा बाँचिरहेको छ । धेरैको जीवनस्तर विगतको कुनै समयभन्दा राम्रो बनेको छ । यस्तोमा पनि धेरै रुसी किन बलियो नेता चाहिरहेका छन् ? 

रुस हिजोजस्तो महाशक्ति राष्ट्र नभएको तथ्य सही हो, तर पनि यहाँका जनता बाह्य खतराको जोखिममा छैनन् । बरु रुसको शक्ति ‘पुनर्वहाली’ गर्ने पुटिनको प्रयासले आम रुसी नागरिकको सुरक्षाको भावना वृद्धि गर्न खासै भूमिका खेलेन । बरु उल्टो असुरक्षाको भावना बढायो । तर, अझै धेरै रुसी नागरिक पुटिनलाई रुचाउँछन् । अघिल्लो वर्ष नभाल्नी पक्राउ परेपछि मैले मेरी आमाको मस्कोस्थित अपार्टमेन्टको झ्यालमा ‘नभाल्नीलाई मुक्त गर’ लेखेको तुल झुन्ड्याएँ । केही समयपछि नै आमाका छिमेकीहरूले तुल निकाल्न आग्रह गरे ।

अधिकांश अधबैँसे उमेरका बौद्धिकहरू थिए । ‘तुलले बेकारमा झमेलामा पार्छ,’ धेरैको भनाइ थियो । त्यसपछि मध्यमार्गी उपाय अपनाउँदै मैले केही नरम शब्दमा ‘पुटिनविरोधीलाई मुक्त गर’ लेखेँ । तर, ती छिमेकीले यसको पनि विरोध गरेर प्रहरी बोलाउने धम्की दिए । जबकि, उनीहरूले मेरो विचारसँग समहति रहेको जनाइरहेका थिए । जवाफमा मैले उनीहरू मसँग सहमत भए अपार्टमेन्टभरि नभाल्नीको पक्षमा तुल टाँगौँ न भनेँ । तर, आमाका छिमेकी मेरो कुराले रुष्ट भए । 

साहित्यमा नोवेल पुरस्कार विजेता चेस्ल मिलोस्चको सन् १९५३ मा प्रकाशित पुस्तक ‘द क्याप्टिभ माइन्ड’मा यस परिघटनाबारे विश्लेषण पाइन्छ । पुस्तकको सुरुवात स्तानिस्ल इग्नासी विट्किएविचको उपन्यास ‘इनस्याटिएबिलिटी’को चर्चाबाट सुरु गरिएको छ । जुन पुस्तकमा भर्खरै कब्जा गरिएका पोलिस नागरिकको स्वतन्त्र मस्तिष्कको ‘उपचार’ गर्न एक औषधिको पिल्स दिइन्छ । पिल्स खाएपछि मानिसमा सन्तुष्टिको भाव तथा आज्ञाकारिताको भाव विकास हुन्छ भने व्यक्तित्वमा द्वैधता देखिन्छ ।

मेरी आमाका छिमेकीहरू पनि तीनै द्वैध व्यक्ति विकास भएका पात्रभन्दा फरक थिएनन् । उनीहरू नभाल्नीप्रति सहमति त जनाउँछन्, तर उनैलाई समर्थन गर्नेसँग रिसाउँछन् । मिलोस्चको अवलोकनमा निरंकुश शासनमा बस्ने मानिस पश्चिमी लोकतन्त्रलाई बढी खुला सम्झन्छन्, र शासकहरूविरुद्ध समेत विधिको शासन लागू हुँदा समाज नियन्त्रणबाहिर हुने तिनको विचार हुन्छ । आज तपाईंले रुसी टेलिभिजन खोल्नुभयो भने यही कुरा सुन्न पाउनुहुन्छ । 

मिलोस्चको ठम्याइमा मानिसहरू दमनकारी शासनअघि झुक्नुमा डर मात्र कारक हुँदैन । उनीहरूलाई ‘अमनचैन तथा खुसीको भित्री चाहना’ले पनि प्रेरित गर्ने गर्छ । अधिनायकवादीहरू यस्तो अवस्थाबाट फाइदा लिन जान्ने हुन्छन्, अझ पुटिन त झन् बढी यस कुरामा माहिर छन् । यदि रुसी जनता पुटिनको बन्धनबाट मुक्त हुन चाहन्छन् भने त्यसका लागि तिनले आफूलाई दिइएको ‘पिल्स’ अस्वीकार गर्नुपर्छ । एकपटक होइन, पटक–पटक । यो काम कुनै अर्को गोर्वाचेभ वा नभाल्नीले आएर गर्ला भनेर पर्खेर हुँदैन । किनकि, माथिबाट आएको परिवर्तन पुनः पछाडि फर्किने देखियो । 

तीस वर्षअघि गोर्वाचेभले रुसलाई कम्युनिजमको बन्धनबाट मुक्त गरे । पछिल्लो समय एलेक्सी नभाल्नीले पुटिनवादमाथि प्रकाश हाल्ने कोसिस मात्र गरेका छन् । तर, मानिस उनले देखाएको प्रकाशलाई आँखा बन्द गरेर हेर्न अस्वीकार गरिरहेका छन् । सोभियत जनताको साहसको ३०औँ वार्षिकोत्सवको सन्देश स्पष्ट छ ः आफ्नो दिमाग कैद गर्न चाहने मानिसबाट कुनै पनि समाज स्वतन्त्र हुन सक्दैन । 

निना एल ख्रुस्चेभ ‘द न्यु स्कुल’का अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हुन् । 

© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य