१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ७ सोमबार ०७:३८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ महिनामा १२ लाख आन्तरिक हवाई यात्रु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ७ सोमबार ०७:३८:००

कोभिड महामारीबीच आन्तरिक हवाई यात्रुहरू उल्लेख्य बढेका छन् । सन् २०२१ को पहिलो ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १२ लाख १० हजार यात्रुले मुलुकका विभिन्न गन्तव्यमा यात्रा गरेका छन् । उक्त समयमा २४ हजार आन्तरिक हवाई उडानमार्फत ५ लाख ९५ हजार यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने ६ लाख १४ हजार काठमाडौंबाट बाहिरिएका छन् । 

त्रिभुवन विमानस्थलका अनुसार महामारी फैलिएपछि २०२० मा साढे १४ लाख यात्रुले आन्तरिक हवाई यात्रा गरेका थिए । यो संख्या महामारी फैलिनुभन्दा अघिल्लो वर्ष २०१९ मा करिब ३१ लाख ८० हजार थियो । महामारी फैलिनेबित्तिकै सरकारले हवाई उडानमा कडाइ गरेपछि यात्रुको संख्या पनि घटेको थियो । तर, यस वर्ष महामारीबीच उडान र यात्रु संख्या बढेको त्रिभुवन विमानस्थलका प्रमुख प्रताप तिवारीले बताए । जनवरीदेखि जुनसम्म त्रिभुवन विमानस्थलमा आन्तरिक विमान १५ हजारपटक अवतरण र १५ हजार फ्लाइट भएका छन् ।

अहिले मुलुकमा बुद्ध एयर, नेपाल एयरलाइन्स, यती एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, सीता एयर र तारा एयर गरी ८ विमान कम्पनीले आन्तरिक उडान सेवा सञ्चालन गरिरहेका छन् । सन् २०२१ को जनवरीदेखि जुनसम्म ६ महिनामा सबैभन्दा बढी यात्रु बोक्नेमा बुद्ध एयर पहिलो नम्बरमा छ । बुद्धले १२ हजार ४ उडानमार्फत ६ लाख ५८ हजार १ सय ५ यात्रु बोकेको छ । यो कुल आन्तरिक यात्रुको आधाभन्दा बढी हुन आउँछ ।

दोस्रो नम्बरमा रहेको यती एयरलाइन्सले ६ महिनामा ५ हजार ७ सय ९४ उडानमार्फत २ लाख ९४ हजार २ सय १८ यात्रुलाई सेवा दिएको छ । यस्तै, श्री एयरलाइन्सले २८ सय ८९ उडानमार्फत १ लाख ९८ हजार ५ सय ५० यात्रु बोकेको छ । सौर्य एयरलाइन्सले ७ सय ५२ उडानमार्फत ३२ हजार ७ सय ९६ यात्रु बोकेको छ । यतीको भगिनी कम्पनी तारा एयरले त्रिभुवन विमानस्थल भएर ८ सय ७० उडानमार्फत ९ हजार ९८ यात्रु बोकेको छ । ताराले नेपालगन्ज र सुर्खेतलाई बेस बनाएर मुगु, जुम्ला, डोल्पा, सिमिकोटलगायत हिमाली भेगमा र पोखरालाई बेस बनाएर मुस्ताङमा पनि उडान भर्ने गर्छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स छैटौँ नम्बरमा परेको छ । नेपाल एयरलाइन्सले ६ महिनामा ६ सय ७६ उडानमार्फत ८ हजार २ सय ९७ यात्रुलाई सेवा प्रदान गरेको छ । समिट एयरले ८ सय ८ उडानमार्फत ८ हजार ३३ र सीता एयरले १ सय ३० उडानमार्फत ९ सय ८४ यात्रु बोकेको छ । समिट र सीताले पनि उपत्यकाबाहिर बेस बनाएर दुर्गम भेगमा उडान गर्दै आइरहेका छन् । 

कोभिडको पहिलो लहर मत्थर भएपछि सुरु भएको हवाई सेवा दोस्रो लहरमा पुनः बन्द गरिएको थियो । अहिले दैनिक २ सय १० आन्तरिक उडान भइरहेको महाप्रबन्धक तिवारीले जानकारी दिए । उनका अनुसार सामान्य समयमा दैनिक ३ सयवटा उडान हुँदै आइरहेको थियो । ‘हामीले महामारीमा सुरक्षा मापदण्डलाई पूर्ण पालना गरी हरेक ५–५ मिनेटको अन्तरमा उडान गर्न दिइरहेका छौँ,’ उनले भने, ‘अहिले ७० देखि ८० प्रतिशतसम्म उडान भइरहेको छ ।’
महामारीमा बसभन्दा हवाई यात्रा तुलनात्मक रूपमा सुरक्षित हुनाले पनि धेरैको रोजाइ हवाई यात्रा बनिरहेको छ । बसमा १४–१५ घन्टासम्मको यात्रा जहाजबाट ४५ मिनेटदेखि एक घन्टामै गर्न सकिने हुँदा पनि हवाई यात्रामा कोभिड सर्ने सम्भावना कम भयो । जहाज चढेदेखि नझरेसम्म फेससिल्ड अनिवार्य लगाउनुपर्ने हुन्छ । मास्क र स्यानिटाइजरको प्रयोग पनि अनिवार्य गरिएको हुन्छ ।

पछिल्लो समय विमान कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा बढ्दै जाँदा टिकटको मूल्य पनि धेरै घटेको छ । अहिले पर्यटकीय बसकै सरह मूल्यमा जहाजको टिकट पाउन थालिसकेको छ । वायुसेवा कम्पनीहरूले टिकटको मूल्य घटाउँदै जानाले पनि हवाई यात्रु बढ्न थालेको महाप्रबन्धक तिवारी बताउँछन् । ‘जहाजको संख्या जति बढ्दै जान्छ, त्यति उडान पनि थपिँदै जाने हुन्,’ उनी भन्छन्, ‘उडानमा प्रतिस्पर्धा हुनेबित्तिकै टिकटको मूल्य घट्न थाल्छ, जसको लाभ यात्रुले पाइरहेका छन् ।’ सस्तो टिकटमा सुरक्षित र सजिलो यात्रा गर्न पाइने भएकाले पनि जहाजमा यात्रुको संख्या बढ्दै गइरहेको छ । नेपालको सडकको अवस्था पनि निकै दर्दनाक छ । त्यसमाथि ठाउँ–ठाउँमा पहिरो गएर समयमा गन्तव्यमा पुग्ने ठेगान हुँदैन । बसमा कठिन र सास्तीपूर्ण यात्रा गर्नुभन्दा जहाजमा यात्रा गर्न खोज्नेहरू बढिरहेको विमान कम्पनीको अनुभव छ । 

बुद्ध एयरले काठमाडौंकेन्द्रित उडानलाई बिस्तारै पोखरालाई हब बनाएर विभिन्न सहरमा प्रादेशिक उडान गरिरहेको छ । बुद्धले गत हप्ता मात्र भरतपुर–भैरहवा दैनिक तीनवटा उडान सुरु गरेको छ । साउनको मध्यदेखि हप्तामा तीन दिन पोखरा–नेपालगन्ज उडान सुरु गरेको बुद्धले यात्रुको संख्या बढेपछि हप्तामा ५ दिन उडान गरिरहेको छ । छिट्टै पोखरा–सिमरा उडान सुरु गर्न लागेको बुद्धले प्रादेशिक उडानमा पनि राम्रै यात्रु पाइरहेको कम्पनीका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले बताए । उनी भन्छन्, ‘१८ सिटको जहाज पोखराबाट भैरहवा, भरतपुर, नेपालगन्जलगायत गन्तव्यमा फुल अकुपेन्सीमा उडिरहेको छ ।’