Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ भदौ ७ सोमबार ०७:१९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उत्तरका दुई नाकाबाट तत्काल आयात नबढ्ने

Read Time : > 1 मिनेट
२०७८ भदौ ७ सोमबार ०७:१९:००

चीनसँगको दुई व्यापारिक नाकाबाट तत्काल सामग्रीको आयात नबढ्ने भएको छ । उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाकाबाट आयात नबढ्ने जानकारी चिनियाँ पक्षले गराएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार ल्हासाको वाणिज्य दूतावासले नेपालको वाणिज्य मन्त्रालयमा पत्र पठाएर आयात नबढ्ने जानकारी गराएको हो । चीनका विभिन्न स्थानमा अहिले कोरोना संक्रमण दर बढेका कारण उत्तरका दुई नाकामा उच्च सतर्कता अपनाउन पनि पत्रमा आग्रह गरिएको छ । कोरोना संक्रमण कम नभएसम्म तातोपानीबाट १० र रसुवागढीबाट ९ वटाभन्दा बढी गाडीमा आयात नहुने जानकारी गराइएको रेग्मीले बताए ।  

नाकामा उच्च सतर्कतासहित स्वास्थ्य प्रोटोकल अपनाउन वाणिज्य मन्त्रालयमार्फत निर्देशन आएको उनले बताए । ‘स्वास्थ्य मापदण्ड पालना गर्न ल्हासास्थित वाणिज्य दूतावासबाट पनि अनौपचारिक जानकारी आएको छ, औपचारिक रूपमा वाणिज्य मन्त्रालयबाट पनि आएको छ,’ उनले भने ।चीनले एकतर्फी नाका सञ्चालनको सुरुका दिनमा रसुवागढी नाका हुँदै दैनिक आफ्नै तीन गाडीमा सामान दुई देशको मितेरीपुलमा ल्याइदिने गरेको थियो । बढाएर अहिले दैनिक ५ देखि ७ कन्टेनर चिनियाँ गाडीमा नेपाली भूमिमा सामान ल्याइरहेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड–अनलोड गर्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् । 

सीमास्तरका दुई देशका अधिकारीबीच सामान आयातमा बढाउने सहमति भए पनि सुरुदेखिको कोटा प्रणाली नै कायम रहेको छ । गत वर्ष ०७७ भदौ २४ मा दुई देशका सीमाका अधिकारीबीच रसुवागढी नाकाको मितेरीपुलमा भएको बैठकमा चिनियाँ पक्षले दुई सिफ्टमा १६ घन्टा काम गर्ने भनेको थियो । एक सिफ्टमा ८ वटा आफ्ना गाडीमा नेपालतर्फ सामान ल्याइदिने र नेपालतर्फ व्यवस्थापन गर्ने सहमति गरेको थियो । सोहीअनुसार व्यवस्थापन नेपालले गरेको थियो । तर, चिनियाँ पक्षले कोरोनाको कारण देखाउँदै सहमतिअनुसार कार्यान्वयन गरेको थिएन । 

चीनले एकतर्फी सञ्चालनमा ल्याएको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि आयात न्यून रहेको छ भने निर्यात ठप्प रहेको छ । चीनबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक सामान, जलविद्युत्का सामग्री भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्रीहरू जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।