मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामचन्द्र न्यौपाने 
२०७५ फाल्गुण १२ आइतबार १०:२६:००
Read Time : < 1 मिनेट
प्रदेश

सुक्खा पहिरोले नहर भत्काउँदा विद्युत् आपूर्ति बन्द

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने 
२०७५ फाल्गुण १२ आइतबार १०:२६:००

सुक्खा पहिरोले जलविद्युत् आयोजनाको नहर भत्काउँदा एक सातादेखि डोल्पा सदरमुकाम दुनैमा विद्युत् आपूर्ति बन्द भएको छ । दुनै र आसपासको क्षेत्रमा बिजुली आपूर्ति हुने जैरीगाड जलविद्युत् आयोजनाको नहर सुक्खा पहिरोले बगाएको हो । ७० मिटर माथिबाट खसेको पहिरोले ६० मिटर लामो नहर भत्किएको आयोजनाले जनाएको छ । नहर भत्किएपछि एकसातादेखि विद्युत् आपूर्ति बन्द भएको स्थानीय बासिन्दाले बताए । ‘फेरि टुकी जलाउनुपरेको छ,’ स्थानीय ओमेन्द्र केसीले भने । 

जैरीगाड जलविद्युत् आयोजना अवरुद्ध हुँदा एक हजार दुई सयभन्दा बढी परिवार प्रभावित भएका छन् । दुई सय किलोवाट क्षमताको आयोजना पटक–पटक अवरुद्ध हुने गरेको छ । आयोजनाको मर्मतसम्भारमा ध्यान नदिँदा सधैँ समस्या हुने गरेको उपभोक्ताको गुनासो छ । 

विद्युत् आपूर्ति बन्द हुँदा स्थानीय बासिन्दासँगै सरकारी तथा गैरसरकारी कार्र्यालयको कामकाज पनि प्रभावित भएको छ । व्यवसायीहरूले जनेरेटर र सोलारको प्रयोग गर्न थालेका छन् । जसको प्रत्यक्ष मार भने उपभोक्तामै परेको छ । एउटा फोटोकपीको २० र एउटा इमेल गरेको ५० रुपैयाँ तिर्नुपरिरहेको छ । 

विद्युत् आपूर्ति बन्द हुँदा समस्या भएको ठूलीभेरी नगरपालिका–३ का वडाध्यक्ष अरुणबहादुर न्यौपानेले बताए । तत्काल सबै निकायको बैठक बसी नहर मर्मतका लागि पहल गरिने वडाध्यक्ष न्यौपानेले बताए । ‘अनुदान र जनश्रमदानबाट विद्युत् सेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने ।