मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दुबई
२०७८ भदौ ४ शुक्रबार ०६:१८:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अफगानी राष्ट्रपति घानी युएईको शरणमा

Read Time : > 1 मिनेट
दुबई
२०७८ भदौ ४ शुक्रबार ०६:१८:००

अफगानिस्तानका राष्ट्रपति असरफ घानी युनाइटेड अरब इमिरेट्स (युएई)को शरणमा पुगेका छन् । विद्रोही लडाकू समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति घानी बुधबार युएई पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

यसअघि घानी छिमेकी उज्वेकिस्तान गएको अनुमान गरिएको थियो । युएईले घानीलाई शरण दिने भएको छ । बुधबार युएईमा पुग्दा घानीलाई विदेश मन्त्रालयले स्वागत गरेको थियो । युएईको विदेश मन्त्रालयले मानवीयताका आधारमा अफगानी राष्ट्रपति घानी र उनको परिवारलाई शरण दिएको जनाएको छ । घानीले अफगानिस्तानमा थप रक्तपात नहोस भनी आफूले देश छाडेको बताएका छन् । ‘तालिबान समूह राजधानी काबुल पसेपछि रक्तपात नहोस् भनी बाहिरिएको हुँ,’ सामाजिक सञ्जालमा घानीले भनेका छन् । 

विभिन्न मिडियाले घानीले अफगानिस्तान छाड्दा गाडी तथा थुप्रै रकम सँगै लगेको आरोप लगाएका थिए । तर, राष्ट्रपति घानीले देश छाड्दा केवल वेस्टकोट र केही कपडा मात्र लिएको जानकारी दिएका छन् । ‘काबुल छाड्दा मसँग एउटा वेस्टकोट र कपडा मात्रै थियो,’ घानीले भने, ‘यसबाहेक मैले केही लगेको छैन ।’ मिडियाले आफ्नो चरित्र हत्या गरिरहेको उनले दुखेसो छ । ‘मैले सुटकेसभरि रकम राखेर काबुल छाडेको समाचार सुनिरहेको छु, त्यो सत्य होइन, मेरो चरित्रहत्या भइरहेको छ,’ घानीले भने, ‘माथि लगाइएको सबै आरोप झुटा हुन् ।’ 

‘अझै पनि तालिबानसँग वार्ता गर्न तयार छु’
घानीले तालिबानले अफगानिस्तानमाथि कब्जा गर्नुलाई ठूलो क्षति भएको प्रतिक्रिया दिएका छन् । ‘अफगानिस्तानको इतिहासमा यो निकै ठूलो दुर्घटना हो,’ उनले भने, ‘अहिले पनि विद्रोही तालिबानसँग शान्तिका लागि वार्ता गर्न तयार छु ।’ तर, अफगानिस्तानका राजनीतिज्ञहरूले देश संकटमा रहेको वेला घानी भागेको आरोप लगाएका छन् । 

‘घानीकै कारण काबुल तालिबानको कब्जामा’
यसैबीच अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तान सरकारको असफलताकै कारण काबुलमा तालिबानले कब्जा जमाएको प्रतिक्रिया दिएका छन् । ‘अफगानिस्तान सरकार भनौँ वा राष्ट्रपति घानीकै कमजोरी र गल्तीका कारण तालिबानले कब्जा जमाएको हो,’ राष्ट्रपति बाइडेनले भने, ‘निकै सहज रूपमा घानीले सत्ता हस्तान्तरण गरी देशबाट बाहिरिए ।’ 

युएईले विश्वका ठूला नेता संकटमा परेको वेला शरण दिने गरेको छ । सन् १९९० ताका पाकिस्तानकी नेतृ बेनेजर भुट्टोलाई पनि युएईले शरण दिएको थियो । शक्तिमा आएपछि मात्र भुट्टो पाकिस्तान फर्किएकी थिइन् । युएईमा असंख्या पाकिस्तानी र अफगानिस्तानी नागरिक कार्यरत छन् ।