मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिपेश शाही काठमाडाैं
२०७८ भदौ ३ बिहीबार ०७:११:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

संकोच मान्नुपर्ने वा पश्चात्ताप मान्नुपर्ने केही छैन : बेदुराम भुसाल

अन्तर्वार्ता

Read Time : > 3 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ भदौ ३ बिहीबार ०७:११:००

आफैँले मिहिनेत गरेर बनाएको दल विभाजनको अप्रिय निर्णय लिँदा कुनै संकोच लागेन ?
हामीले नेकपा एमालेलाई नै पुनर्गठन गर्ने अभियान पहिलेदेखि नै सुरु गरेका थियौँ । नेकपा एमालेले नवौँ महाधिवेशनमा गरेका निर्णयभन्दा विपरीत गतिविधि गर्दा विवादहरू भइरहेको सन्दर्भमा यसको रूपान्तरण जरुरी छ भनेर नै ४ र ५ चैतमा भेला गरेर अभियानलाई अघि बढाएका थियौँ । त्यसवेला हामीले कसरी मौलिक, विविधता अंगीकार गर्ने, विधि–पद्धतिमा चल्ने, जनपक्षीय चरित्र भएको एमाले निर्माण गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका थियौँ । अहिलेको एमालेमा त्यो विशेषता रहेन । त्यसैले हामीले त्यो विशेषतासहितको एमाले बनाउन अगाडि बढ्नुपर्छ भनेका पनि थियौँ । त्यही क्रममा नै आजको बिन्दुमा आइपुगेका हौँ ।

हामीले सकेसम्म विभाजन नगरीकनै त्यो अभियानलाई अघि बढाएर सिंगो एमाले ती विषय स्थापित गर्नका लागि कोसिस गरेका थियौँ । त्यो सम्भव भएन । अर्को पक्षले हामीलाई कारबाही गरेर हटाउन थालिसकेपछि कदम चाल्नुपर्ने बाध्यता भयो, हामीले चाल्यौँ । त्यसो गर्दा हामीले एमाले छाडेका होइनौँ, समाजवादी चरित्रको, बहुविचारलाई स्वीकार गर्ने, पार्टी होस् वा राज्य सञ्चालन गर्दा विधि–पद्धति मान्ने एमाले हुनुपर्छ भन्ने मान्यताका साथ यो निर्णयमा पुग्यौँ । त्यसैले संकोच मान्नुपर्ने वा पश्चात्ताप मान्नुपर्ने केही छैन ।

एमाले विभाजनको जिम्मेवारी लिनुहुन्छ नि ?
यसको जिम्मेवारी केपी ओलीले लिनुपर्छ । किनभने अध्यक्ष भएर यो पार्टीलाई सम्हाल्न नसक्ने, एकीकृत ढंगले राख्न नसक्ने केपी ओली हुन् । यति मात्र होइन, हामीले योभन्दा ठूलो नेकपा बनाएका थियौँ । त्यो पनि केपी ओलीकै कारणले विभाजन हुन पुग्यो । त्यसपछि अदालतले भनेअनुसार एकतापूर्वको एमालेमा नगएर आफ्नो एउटा गुटलाई लिएर २८ फागुनमा नवौँ महाधिवेशनले अंगीकार गरेका विचार, विधि, पद्धति, विधान र नेतृत्वलाई भंग गर्ने काम उहाँले गर्नुभएको हो । त्यही दिन एमाले विभाजन भएको हो । आज त हामीले कानुनी रूपमा मात्रै एउटा बाटो रोज्नुपरेको हो । राजनीतिक रूपमा एमाले त्यही दिन नै विभाजन भएको हो । त्यसैले यसको जिम्मा त्यसको नेतृत्वकर्ताका हिसाबले ओलीजीले नै लिनुपर्छ ।

तैपनि एमाले विभाजन गरेको आरोप अब जिन्दगीभर बोक्नु त पर्ने भयो नि ?
हामीमाथि पनि आलोचना होला, तर हाम्रा पनि कारणहरू छन् । विनाकारण कुनै कार्य हुँदैन । नेकपा एमालेको विचार, सिद्धान्त र विधान परित्याग गर्नु नै यसको कारण हो । एकलौटी चल्ने, संस्थागत हिसाबमा नचल्ने त ओलीजी हो । त्यसैले फेरि पनि यस कारणको नेतृत्व पनि ओली नै हुन् भन्ने कुरा त लुकाएर लुक्दैन ।

एमाले नै नाम राखेर समाजवादी फुर्को जोड्नुभएको छ, एमालेको नामस“ग सम्बन्ध–विच्छेद गर्न मनले मानेन कि ?
हामी एमाले नै हौँ । एमाले हामीले बनाएको हो । हामीले नवौँ महाधिवेशनबाट एमालेको अबको कार्यदिशा समाजवाद हो, त्यसका आधारहरू निर्माण गर्दै त्यस दिशातर्फ अघि बढ्नु मुख्य कार्यभार हो भनेर तय गरेका थियौँ । त्यही कार्यभारलाई केपी ओली नेतृत्वको गुटले परित्याग गरेको हुनाले नवौँ महाधिवेशनले पारित गरेको कार्यदिशाअनुसार नै अघि बढ्नुपर्छ भनेर आज यो निर्णय गर्नुपर्‍यो । त्यसैले हामीले नाममा नै हामी समाजवादतर्फ अघि बढ्न चाहेका एमाले हौँ भनेर देखाउन खोजेका हौँ ।

नयाँ दल कस्तो बनाउनुहुन्छ ? यसको राजनीतिक लाइन के हुन्छ, अनि संगठनात्मक संरचना कस्तो हुन्छ ?
संगठनात्मक संरचना हामीले विधानको प्रस्तावनामा नै मुलुकको संघीय संरचनाअनुसारको हुनेछ भनेर लेखेका छौँ । यो पार्टी जनतामा आधारित कार्यकर्ता भएको पार्टी हुनेछ । यसको मागर्दशन सिद्धान्त माक्र्सवाद–लेनिनवाद नै हो । यसको अबको लक्ष्य भनेको वैज्ञानिक समाजवाद हो, त्यो लोकतान्त्रिक मूल्य–मान्यतासहितको हुनेछ । एकदलीय तानाशाही प्रवृत्तिको हुनेछैन । पार्टीको सम्पूर्ण सार्वभौमसत्ता संगठित सदस्यहरूमा रहनेछ । कमिटी प्रणालीबाट चल्नेछ । व्यक्ति कमिटीको मातहत, अल्पमत बहुमतको मातहत, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत हुने लेनिनवादी संगठनात्मक सिद्धान्त अवलम्बन गरिनेछ । 

यति ठूलो निर्णय लिनुभएको छ, तर आफ्नै समूह एकढिक्का देखिएन, दोस्रो पुस्ताका नेताहरू किन आउनुभएन ? 
अहिले नै उहाँहरू आउनुभएन भन्ने निष्कर्ष हामीले निकालेका छैनौँ । अहिले पनि हामी संवाद र छलफलमा नै छौँ । यसपछि पनि त्यो जारी नै रहन्छ । उहाँहरू यहाँ नआउनुका विभिन्न कारणहरू छन् । जसका कारण दर्ता प्रक्रियामा हिजो सँगै रहेका साथीहरू आज आउनुभएन, तर कतिपय हिजो सँगै नभएका साथीहरू पनि आउनुभएको छ । पार्टी दर्ताको प्रक्रिया टुंगिने वेलासम्म अरू साथीहरू जोडिन सक्ने सम्भावना पनि छ । यति मात्रै हुन्छौँ भन्ने छैन ।

तर, त्यसो गर्दा दर्ता प्रक्रियामा नै सहभागी नभएका सांसदहरूको पद नरहने अवस्था आउला नि ?
दर्ता प्रक्रिया सकिने ३५ दिनभित्र कुनै पनि दिन संघीय सांसद भएका साथीहरूले जानकारी दिन सकिन्छ । प्रदेश र स्थानीय तहका साथीहरूले प्रक्रिया सकिएको २१ दिनसम्म उक्त जानकारी दिन सक्नुहुन्छ । यसबाहेक अरू साथीहरू त जहिले पनि जोडिन सक्नुहुन्छ । 

नयाँ पार्टीको चुनौती के देख्नुहुन्छ ?
चुनौती थुप्रै छन् । हामीले जुन संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यौँ, त्यो जसरी चल्छ होला भन्ने अपेक्षा गरेका थियौँ त्यसरी चल्न सकेन । त्यसलाई हाम्रो संविधानको लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप कसरी चलाउने, समाजवादउन्मुख समाज स्थापना गर्ने दिशातर्फ कसरी लैजाने भन्ने नै एउटा चुनौती हो । पछिल्लो चुनावमा दुईवटा दल संयुक्त भएर जाँदा जुन जनमत पाएका थियौँ, तर न त्यो पार्टी एकतालाई जोगाउन सक्यौँ, न त मुलुकलाई संविधानले निर्दिष्ट गरेको दिशातर्फ नै अगाडि बढाउन सक्यौँ । यो पार्टी मात्रै होइन, आमजनतासँग जोडिएको विषय हो । हाम्रो मुलुकमाथि बाह्य हस्तक्षेप भएको विषय पनि छ । यस्तै मुलुक विकासमा पछाडि पर्दै जाने, तर ऋणको भार थपिँदै जाने अवस्था छ । यसबारे पनि सोच्नुपर्नेछ । साथै, कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको अवस्था छ । यस आन्दोलनलाई कसरी जोगाउने भन्ने पनि छ ।

सरकारमा जाने विषयमा कहिले हुन्छ निर्णय ?
सरकारमा जाने हाम्रो मुख्य विषय होइन । पहिलो भनेको अहिलेलाई दर्ता प्रक्रिया सकाएर संगठनलाई व्यवस्थित गर्ने कुरा नै हो । त्यसो गर्दै जाँदा सरकारमा जाने कुरामा पनि सोच्छौँ । तर, प्राथमिकतामा अहिले त्यसलाई राखेका छैनौँ । दर्ता प्रक्रिया सकिएपछि त्यस विषयमा छलफल गर्छौँ ।