मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कृष्ण रिजाल काठमाडौं
२०७८ भदौ १ मंगलबार ०७:०१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सरकारले कोभिड खर्च अझै सार्वजनिक गरेन

देउवा सरकारको पहिलो निर्णय नै कार्यान्वयन भएन

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७८ भदौ १ मंगलबार ०७:०१:००

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक महिना पुगेको छ । तर, देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो दिन गरेको निर्णय हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । २९ असारमा गठन भएको देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कोभिडसँग सम्बन्धित खर्च विवरण सार्वजनिक गर्ने, कोभिडका लागि विशेष सल्लाहकार नियुक्त गर्नेलगायत निर्णय गरेका थिए । तर, हालसम्म पनि सरकारले कोभिडसँग सम्बन्धित खर्च सार्वजनिक गरेको छैन । देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा हालसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका थिए ।  

 संघीय सरकारको खर्च साढे १ अर्ब मात्रै ?
कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट गत आव ०७७/७८ मा १ अर्ब ४८ करोड ८८ लाख खर्च भएको महालेखा नियन्त्रणको कार्यालयले उल्लेख गरेको छ । यद्यपि, यो खर्च कोभिडसँग सम्बन्धित सम्पूर्ण खर्च भने होइन । कोषमा भएको रकमको खर्च मात्रै कार्यालयले सार्वजनिक गरेको छ । ‘गत वर्षको आम्दानीबाट जोगिएको १ अर्ब ३५ करोड र यस वर्षको आम्दानी ५८ करोड ५५ लाख गरी कोषमा १ अर्ब ९४ करोड १४ लाख जम्मा भएको हो,’ कार्यालयले उल्लेख गरेको छ, ‘यस अवधिमा १ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ खर्च भएको छ र अब कोषमा ४५ करोड २५ लाख रुपैयाँ बाँकी छ ।’ 

 श्वेतपत्रमा पनि आएन खर्च विवरण
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अवस्थाको जानकारी दिने उद्देश्यले श्वेतपत्र सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी, २०७८’मा अर्थतन्त्रका परिसूचक, तथ्यांकहरूलगायत उल्लेख गरेका छन्, तर कोभिडसँग सम्बन्धित खर्च भने राखिएको छैन । 

वैशाखसम्मको खर्च २३ अर्ब १६ करोड 
कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित कार्यमा प्रयोग गरिने औषधि, उपकरण, उपचार सामग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवस्थापन एवं पूर्वाधार निर्माणका लागि गत वैशाखसम्ममा २३ अर्ब १६ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयको तथ्यांक छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले गत वैशाख ०७८ सम्ममा संघीय सरकारबाट ८ अर्ब ५४ करोड, संघीय कोरोना कोषबाट २ अर्ब ५२ करोड र प्रदेश र स्थानीय तहबाट १२ अर्ब ९ करोड खर्च भएको हो । तर, वैशाखपछिको खर्च भने सार्वजनिक गरिएको छैन ।