मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ श्रावण ३२ सोमबार १२:५३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कसले गर्ला तालिवान सरकारको नेतृत्व ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ श्रावण ३२ सोमबार १२:५३:००

करिब २० वर्षको संघर्षपछि तालिवानले अफगानिस्तानलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ। अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडिसकेका छन्। तालिवानले अब आफ्नो सरकार बनाउने पक्का भएको छ। यसैबीच तालिवान सरकारको नेतृत्व कसले गर्छ भन्ने विषय चर्चामा रहेको छ। 

तालिवानका शीर्ष नेताहरूमध्ये सरकारको नेतृत्व गर्न सक्ने सम्भावित नामहरू हुन्, हैबातुल्लाह अखुन्जादा र मुल्ला अब्दुल घानी बरादर। 

हैबतुल्लाह अखुन्दाजा इस्लाम धर्मका ज्ञाता हुन्। उनी तालिवानको गढ रहेका क्षेत्र कान्दाहारमा जन्मिएका थिए। तालिवानलाई अहिलेको अवस्थामा पुर्‍याउन उनको निकै ठूलो योगदान रहेको विश्वास गरिन्छ। अखुन्दाजा सन् १९८० को दशकमा सोभियत संघविरुद्धको लडाइँमा कमान्डर थिए। तर, उनलाई सैन्य कमान्डरभन्दा पनि इस्लाम धर्मका विद्वानका रूपमा चिनिन्छ। 

तालिवान प्रमुख हुनुभन्दा अगाडि नै संगठनको प्रमुख नेताहरूमध्ये एक अखुन्दाजाले धर्मसँग सम्बन्धित आदेशहरू दिने गर्थे। कुनै घटनामा दोषी पाइएकाहरूलाई र अवैध यौन सम्बन्ध राख्नेहरूलाई मृत्युदण्ड दिन र चोरी गर्नेहरूको हात काटिदिन आदेशसमेत दिएका थिए। 

तालिवानका तत्कालीन प्रमुख अख्तर मोहम्मद मन्सुर सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा मारिएपछि अखुन्दाजाले संगठनको नेतृत्व सम्हाल्दै आएका छन्। करिब ६० वर्षका उनले अधिकांश समय अफगानिस्तानमा नै बिताएका छन्। ‘हैबतुल्लाह’ को अर्थ ‘अल्लाहको उपहार’ भन्ने हुन्छ। उनी नुरजाई जातिका हुन्। 

मुल्ला अब्दुल घानी बरादर सन् १९९४ मा तालिवानको स्थापना हुँदादेखिका नेता हुन्। उनी मुल्ला मोहम्मद ओमरका विश्वासपात्र भएको मानिन्छ। उनलाई सुरक्षा फौजले सन् २०१० मा पाकिस्तानको कराँचीबाट पक्राउ गरी सन् २०१८ मा रिहा गरेको थियो। उनी अहिले संगठनको राजनीतिक विभाग प्रमुख हुन्। उनी पछिल्लो समय कतारको दोहामा भएको शान्तिवार्ताका एक सदस्य थिए।  

सन् २००१ मा अमेरिकाले तालिवानलाई सत्ताच्युत गरेपछि बरादरले नेटो सेनाविरुद्धको विद्रोहको नेतृत्व गरेका थिए। सन् २०१० मा अमेरिका र पाकिस्तान सरकारले संयुक्त रूपमा उनलाई पक्राउ गरी सन् २०१८ मा रिहा गरेको थियो। अफगानिस्तान सरकारको प्रशासनले बरादरले तालिवानलाई शान्तिवार्ताका लागि मनाउन सक्छन् भन्ने विश्वास गर्दथे। उनी अमेरिकासँग वार्ता गर्नुपर्छ भन्ने पक्षमा थिए। अफगानिस्तानमा उनी हेरात र काबुल क्षेत्रमा सक्रिय थिए। इन्टरपोलका अनुसार बरादरकाे जन्म अफगानिस्तानको उरुजगान प्रान्तको देहराहुड जिल्लामा सन् १९६८ मा भएको थियो।