मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ श्रावण २७ बुधबार १०:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालगन्जबाट डेढ अर्बको गेडागुडी र ८९ करोडको चामल आयात

Read Time : > 1 मिनेट
२०७८ श्रावण २७ बुधबार १०:००:००

 नेपालगन्ज नाकाबाट चामल तथा चामलजन्य वस्तुको आयात हरेक वर्ष बढ्दो छ । गत वर्ष ०७७/७८ मा नेपालगन्ज नाकाबाट ८९ करोड रुपैयाँको चामल आयात भएको छ । यो अघिल्लो आवको भन्दा झन्डै २९ करोड बढी हो । आर्थिक वर्ष ०७६/७७ मा ६० करोडको चामल आयात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए ।त्यसैगरी, आव ०७५/०७६ मा ४९ करोड ७१ लाखको चामल आयात भएको थियो । ‘नेपालगन्ज नाकाबाट हरेक वर्ष चामल आयात बढ्दै गएको तथ्यांकले देखाएको छ,’ उनले भने । 

यस नाकाबाट गेडागुडीजन्य वस्तु आयात पनि वृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आवमा १ अर्ब ५२ करोडको गेडागुडी आयात भएको तथ्यांक छ । आव ०७६/७७ मा १ अर्ब १० करोडको गेडागुडी आयात भएको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिए । 

नेपालगन्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २ अर्ब ४६ करोड ७० लाखको पेट्रोल आयात भएको भन्सार अधिकृत भण्डारीले बताए । आव ०७६÷७७ मा १ अर्ब ९५ करोड ३९ लाखको पेट्रोल आयात भएको थियो । ‘पेट्रोल र खाद्यान्न आयातमा वृद्धि हुनुले नेपालीहरूको भारतमा परनिर्भरता बढ्दै गएको छ भन्ने स्पष्ट भएको छ,’ भण्डारीले भने । 

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आवमा ४ अर्ब ८८ करोड ३९ लाख ८८ हजार मूल्यबराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको थियो । यो पनि आव ०७६/०७७ को तुलनामा धेरै हो । उक्त आवमा १ अर्ब ४४ करोड ६२ लाख रुपैयाँको चिनी तथा चिनीजन्य वस्तु आयात भएको थियो ।  सिमेन्टको क्लिंकर आयातमा भने गिरावट आएको छ । गत आवमा ३९ करोड १२ लाख रुपैयाँको क्लिंकर आयात हुँदा आव ०७६/०७७ मा ४१ करोड ९३ लाख रुपैयाँको सिमेन्ट क्लिंकर आयात भएको थियो । ‘लकडाउनका कारण सिमेन्ट कारखाना बन्द भएका कारण यस वर्ष भारतबाट क्लिंकर आयातमा कमी भएको हुन सक्छ,’ उनले भने ।